मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format १२:o७:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

ब्राजिलमा सर्वोच्चको ऐतिहासिक फैसलाले पूर्वराष्ट्रपति बोल्सोनारोलाई झट्का 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

जिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाएको छ । सन् २०२२ को राष्ट्रपतीय चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुलासँग हारेपछि सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका पाँचमध्ये चार न्यायाधीश निर्णयको पक्षमा उभिएका थिए ।

बोल्सोनारोका सात सहयोगीलाई पनि विद्रोह प्रयाससँग सम्बन्धित आरोपमा दोषी ठहर्‍याइएको छ । दोषी ठहर गरिएका सातमध्ये पाँचजना वाल्टर ब्रागा नेट्टो, माउरो सिड, पाउलो सर्जियो नोगुइरा दे ओलिभेरा, अगस्टो हेलेनो रिबेरो र अल्मिर गार्नियर सान्तोस सैन्य वा नौसेना पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । दोषी ठहरिएका बाँकी दुईजनामा बोल्सोनारोका पूर्वन्यायमन्त्री एन्डरसन टोरेस र ब्राजिलको गुप्तचर एजेन्सीका पूर्वनिर्देशक अलेक्जान्ड्रे रामागेम छन् । बोल्सोनारोका वकिलले निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् ।

राजनीतिक अस्थिरताको लामो इतिहास भएको ब्राजिलमा पहिलोपटक सैन्य विद्रोहको प्रयास गर्नेलाई दोषी ठहर्‍याइएको छ । बोल्सोनारोको मुद्दाको नेतृत्व गर्ने सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे दे मोरेसले अगस्टमै पूर्वराष्ट्रपति दोषी ठहरिने संकेत गरेका थिए । सन् १९८८ को संविधानले ‘ब्राजिलको राजनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष सशस्त्र बलको हस्तक्षेप’लाई प्रतिबन्धित गरेर न्यायपालिकाको स्वतन्त्रता स्थापित गरेको उनले बताएका थिए । यस संवैधानिक ग्यारेन्टीले बोल्सोनारोजस्ता राजनीतिज्ञलाई तिनका हर्कतका लागि उन्मुक्ति नदिने उनको सन्देश थियो ।

‘कु’ प्रयास जनवरी ८, २०२३ मा भएको थियो । त्यति वेलासम्म बोल्सोनारोका उत्तराधिकारीको रूपमा लुलाले शपथ लिइसकेको एक हप्ता मात्रै भएको थियो । दुई वर्षअघि अमेरिकाको ‘क्यापिटल भवन (संसद् भवन)’मा भएको आक्रमणको सिको गर्दै बोल्सोनारोका सयौँ समर्थकले राजधानी ब्राजिलियाको राष्ट्रिय कंग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका थिए । अनुसन्धानका क्रममा बोल्सोनारो र उनका सहयोगीको योजनामा कुको प्रयास भएको पाइयो । 

ब्राजिलको इतिहासमा तानाशाही र लोकतन्त्रविरुद्धको धम्कीको लामो छाया परेको थियो । सन् १९६४ र १९८५ को बिचमा देशमा दक्षिणपन्थी सैन्य तानाशाही शासन थियो । आर्थिक संकटलाई देखाएर सेनाले लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति जोआओ गौलार्टलाई अपदस्थ गरेपछि सो अवधि सुरु भएको थियो । त्यतिवेलाको अमेरिकी सरकारले विद्रोहलाई समर्थन गर्‍यो । सैनिक शासनको अवधिमा भएका घटनाको अध्ययन गर्न सन् २०१२ मा राष्ट्रिय सत्य निरूपण आयोग स्थापना गरिएको थियो । दुई वर्ष लगाएर आयोगले हजारौँ यातना, गैरन्यायिक हत्या र जबर्जस्ती बेपत्ताका घटनाको अनुसन्धान गर्‍यो । यद्यपि, ती घटनामा कोही पनि दोषी ठहरिएका छैनन् ।

ठुल्ठुला प्रदर्शन र नयाँ आर्थिक संकटबिच सेनाले सन् १९८० को दशकमा दमनलाई बिस्तारै खुकुलो बनाउन थालेको थियो । राजनीतिक दल गठन गर्ने स्वतन्त्रतासमेत दिइयो । त्यसवेलादेखि ब्राजिलमा नागरिक सरकार गठन छ । तर, बोल्सोनारोको शासनकालमा सेनाले फेरि महत्वपूर्ण राजनीतिक भूमिका खेल्न थाल्यो । बोल्सोनारोले चुनेका उपराष्ट्रपति जनरल ह्यामिल्टन मोराओले सैन्य तानाशाहीको समयमा सेनामा थिए । त्यति मात्र होइन, सरकारभित्रका शक्तिशाली पदमा सैन्य व्यक्तित्वलाई नियुक्त गरिएको थियो । बोल्सोनारो नियमित रूपमा तानाशाही कालको महिमागान गाउँथे र त्यस अवधिमा भएको मानव अधिकार उल्लंघनका घटनालाई कम महत्व दिन्थे । बोल्सोनारोको नेतृत्वमा लोकतान्त्रिक क्षयका कैयौँ घटना देखिन थालेका थिए ।

बोल्सोनारोले सन् २०२२ मा लोकतान्त्रिक रूपमा सम्पन्न चुनावको परिणामको वैधतामाथि प्रश्न उठाए । त्यसका लागि उनलाई सात वर्षसम्म चुनावमा भाग लिनबाट रोक लागेको छ । यस सन्दर्भमा ‘कु’ प्रयासका लागि बोल्सोनारोलाई दोषी ठहर्‍याउने निर्णयले ब्राजिलका लोकतान्त्रिक संस्था आफूविरुद्धको खतरा सामना गर्न सक्षम भएको बलियो सन्देश दिएको छ । त्यसअतिरिक्त देशको लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने प्रयासले उन्मुक्ति पाउनेछैन भन्ने संकेत गरिएको छ । 

ब्राजिलबाहिर तरंग
बोल्सोनारोलाई दोषी ठहर गर्ने फैसला ब्राजिलभन्दा बाहिर पनि प्रतिध्वनित हुन्छ । बोल्सोनारोले आफूलाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको नजिकको वैचारिक सहयोगीको रूपमा प्रस्तुत गर्थे । यता बोल्सोनारोविरुद्ध अदालतमा मुद्दा अगाडि बढ्दै जाँदा ट्रम्पले मुद्दालाई ‘राजनीतिक प्रतिशोधपूर्ण’ भएको आरोप लगाए । यसैलाई देखाएर उनले अमेरिका आयात हुने ब्राजिलियन सामानमा ५० प्रतिशत भन्सार शुल्क लाग्ने घोषणा गरे । दोषी ठहर गर्ने फैसलाबारे प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई ‘अत्यन्त आश्चर्यजनक’ फैसला बताएका छन् । उनले यसलाई आफ्नै न्यायिक संघर्षसँग समेत तुलना गरेका छन् । लुलाले ब्राजिलको राजनीतिमा अमेरिकी हस्तक्षेपको विरोध गरे । ‘ट्रम्पले ब्राजिलजस्तो एक सार्वभौम देशको कानुन निर्देशित गर्न सकिने’ जुन सोच राखेका छन्, त्यो अस्वीकार्य भएको उनले बताए । 

उता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा पोस्ट गर्दै बोल्सोनारोविरुद्धको सजायलाई ‘अन्यायपूर्ण’ बताए । अमेरिकाले ‘यस राजनीतिक प्रतिशोधपूर्ण निर्णयविरुद्ध उचित प्रतिक्रिया दिने’ उनले चेतावनी दिएका छन् । ब्राजिलको विदेश मन्त्रालयले भने अमेरिकी विदेशमन्त्रीको यस टिप्पणीलाई आफ्नो सार्वभौमिकता र लोकतन्त्रमाथिको हस्तक्षेप भन्दै आलोचना गरेको छ । ब्राजिलमा अर्को वर्ष राष्ट्रपति चुनाव हुँदै छ । बोल्सोनारोले आफ्नो सजाय र चुनावी प्रतिबन्धविरुद्ध कुनै निर्णय नपाएसम्म उनी उम्मेदवार हुन सक्नेछैनन् । लुलाले हालसम्म औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका त छैनन्, तर मतसर्वेक्षणमा उनी सबैभन्दा अगाडि देखिन्छन् । 

तर, कुनै उम्मेद्वारले खसेको मतको आधा मत नपाएर चुनाव दोस्रो चरणमा गयो भने कडा टक्कर हुने ठानिएको छ । बोल्सोनारोको स्थानमा सम्भवत: दक्षिणपन्थी राजनीतिज्ञ तथा पूर्वसेना कप्तान टार्सिसियो दे फ्रेटास उठ्ने सम्भावना छ । बोल्सोनारोविरुद्ध भएको फैसलालाई उनका समर्थकले चुनावी मत बढाउन प्रयोग गर्ने डर पनि छ । यस्तो भएमा बोल्सोनारोसँग नजिक देखाउने दे फ्रेटासजस्ता राजनीतिज्ञ थप बलियो बन्नेछन् । फैसलाअघि करिब ४० हजार बोल्सोनारोका समर्थक रियो दि जेनेरियो र साओ पाउलो सहरमा प्रदर्शनमा उत्रिएका थिए । यी ठुला प्रदर्शनले बोल्सोनारोप्रति निरन्तर समर्थनलाई संकेत गर्छ । तथापि, भविष्यमा के हुन्छ भन्ने कुरामा ध्यान नदिई सर्वोच्च अदालतले भने ब्राजिलमा लोकतन्त्रमाथिको आक्रमण सफल हुने सम्भावना न्यून रहेको सन्देश दिएको छ ।

– एजेन्सी