
नेपाली राजनीतिलाई जेन–जी पुस्ताको दुईदिने आन्दोलनको सन्देश के हो ?
दक्षिण एसियाली क्षेत्रको राजनीति, सामाजिक व्यवस्था तथा आर्थिक अवस्था नाजुक स्थितिमै हुन्छ । भ्रष्टाचार चरम अवस्थामै हुन्छ । झन् नेपालमा त दलहरू लोकतान्त्रिक बन्नसमेत सकेकै छैनन् । यहाँ चरम बेरोजगारीका कारण युवा पलायन बढ्दो छ । युवा जनशक्तिमा चरम निराशा छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय त एउटा निमित्त कारण मात्र हो, यसको पछाडि देशमा मौलाइरहेको भ्रष्टाचारका कारण लामो समयदेखि गुम्सेर बसेको असन्तुष्टि र चरम निराशा मुख्य कारण रहेको छ । सोमबार सुरु भएको जेन जी पुस्ताको विद्रोहको नेतृत्व अस्पष्ट भए पनि यो विद्रोह सत्तामा रहेर नातावाद, कृपावाद र भ्रष्टाचारमा रमाउने नेतृत्वविरुद्धको समष्टिगत अभिव्यक्ति हो । जनताको विद्रोहसामु दुईतिहाइकै भए पनि सरकार तासको घरझैँ ढल्दो रहेछ भन्ने सन्देश यो दुईदिने आन्दोलनले दिएको छ ।
असन्तुष्टि सम्बोधनमा हाम्रो राजनीतिक नेतृत्व कहाँनेर चुक्यो ?
लोकतन्त्रमा नैतिक मूल्य र मान्यताको ठुलो अर्थ हुन्छ । तर, हाम्रो राजनीतिक नेतृत्वमा सत्ताका लागि मात्र इमानदारी देखियो । जनसरोकारका विषयमा ऊ कहिल्यै इमानदार देखिएन । उनीहरूकै अकर्मण्यताका कारण नागरिकको ठुलो तप्का राज्य संयन्त्रबाहिरै रह्यो । समय–समयमा भइरहनुपर्ने प्रशासनिक तथा राजनीतिक सुधार भएन । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय त ‘ट्रिगरिङ प्वाइन्ट’ मात्र हो । मुख्य समस्या लामो समयदेखि थिग्रिएको असन्तुष्टि नै हो । यसलाई समयमै सम्बोधन गर्न नसक्नु नेतृत्वको कमजोरी हो ।
प्रधानमन्त्रीको राजीनामासँगै अबको निकास के हुन सक्ला त ?
देशलाई लोकतन्त्रबाट दायाँबायाँ जान दिनु हुँदैन । यस्तो अराजकताको अवस्थामा नवफासिस्ट या पुनरुत्थानवादीको उदयको पनि खतरा रहन्छ । यस्तोमा नागरिक समाज या आन्दोलनकै माझबाट कोही अगाडि आउन पनि सक्छ । यसका लागि संसद् विघटन गरेर जानुपर्छ । प्रक्रियाबाहिरबाट सरकार बन्ने अवस्था आएमा देश अनन्त प्रतिशोधको चक्रमा फस्न सक्छ ।