
व्यवस्था नै परिवर्तनका लागि भएका देशका ठुल्ठुला आन्दोलनमा भन्दा पनि बर्बर दमन राज्यबाट सोमबारको जेन–जी प्रदर्शनमा भएको छ । राजाको निरंकुश व्यवस्थामा पनि सुरक्षाकर्मीबाट यो हदको बल प्रयोग भएको थिएन, जुन केपी ओलीको सरकारले गरेको छ ।
०४५ मा बहुदलीय लोकतन्त्रको माग गर्दै नारायणहिटी दरबार घेर्न गएका जनतामाथि पनि सुरक्षाकर्मीले गोली चलाएका थिए । तर, यो किसिमको दमन त्यतिवेला नभएको सो घटनाबारे छानबिन गर्न गठित मल्लिक आयोगमा विषयविज्ञ भएर काम गरेका पूर्वसचिव काशीराज दाहाल बताउँछन् । ‘२४ भदौ ०४५ मा पनि सुरक्षा निकायबाट काठमाडौंको दरबारमार्गमा दमन भएको थियो, तर यस्तो खालको थिएन,’ उनी भन्छन्, ‘०४५/४६ को आन्दोलनमा देशभर गरेर ४२ जनाको मृत्यु भएको थियो, एकै ठाउँमा यसरी ठुलो क्षति भएको थिएन।’
०६२/६३ मा राजा ज्ञानेन्द्रको शासनविरुद्ध पनि नागरिकहरू १९ दिनसम्म सडकमा आएका थिए । जुन आन्दोलनमा २१ जनाले ज्यान गुमाएका थिए, तर अहिलेजस्तो भिडमाथि अन्धाधुन्ध गोली नचलेको त्यतिवेलाका प्रहरी अधिकारी बताउँछन् । ‘त्यतिवेला पूरै काठमाडौं आन्दोलनकारीको नियन्त्रणमा थियो,’ तत्कालीन एक प्रहरी अधिकारी भन्छन्, ‘त्यति हुँदा पनि भिड तितरबितर बनाउन मात्र गोली चलाउने गरिन्थ्यो, यसरी भिडमा पहिले गोली चलेको थाहा थिएन।’
सोमबार बानेश्वर क्षेत्रमा मात्र प्रहरीको गोली लागेर १७ जनाले ज्यान गुमाएका छन् । काठमाडौंभित्र ४०६ घाइते भएका छन् । सुरक्षा निकाय पूर्वतयारीमा चुकेपछि आन्दोलनकारीले संसद् भवन घेरेका थिए । त्यसपछि प्रहरीले दिउँसो १ बजेदेखि गोली चलाउन थालेको थियो । साँझसम्म नै भिड हटाउन प्रहरीले गोली चलाएको थियो । घातक हतियारसमेत प्रयोग गरी बल प्रयोग गरिएको थियो । बानेश्वरमा मात्र होइन, उपत्यकाबाहिरसमेत प्रहरीले बल प्रयोग गरेको थियो।