मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:५३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कहाँ चुक्यो सुरक्षा संयन्त्र ? 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५३:oo

जेन–जीले सोमबारको आन्दोलन गर्ने भनेर तीन दिन अघिबाटै सामाजिक सञ्जालबाट क्याम्पेन थालेका थिए । विशेषगरी उनीहरूले टिकटक, रेडिट र निम्बजमार्फत अभियान चलाएका थिए । आन्दोलनका लागि जेन–जीका दुई प्रतिनिधि पुरुषोत्तम यादव र सवल गौतमले सिडिओ कार्यालय काठमाडौंबाट अनुमति नै मागेका थिए । आन्दोलनका लागि सिडिओ छवि रिजालले सहजै अनुमति पनि दिएका थिए । तर, सुरक्षा संयन्त्रले उनीहरूको प्रदर्शनलाई कम आकलन गर्‍यो । थप सूचना संकलनमा न प्रहरीमातहतको संयन्त्रले अग्रसरता लियो, न त राष्ट्रिय अनुसन्धान विभागले नै । जबकि नेपाल प्रहरीमा सूचना संकलनका लागि विशेष ब्युरो नै स्थापना गरिएको छ । अनुसन्धान ब्युरो त झन् सोही उद्देश्यले स्थापना गरिएको हो । 

यसबाहेक सूचना संकलनमा नेपाली सेनाको आफ्नै डिएमआई (डाइरेक्टोरियट अफ मिलिट्री इन्टेलिजेन्स) छ । सशस्त्र प्रहरी बलले पनि सूचना संकलनका लागि विशेष संयन्त्र गठन गरेको छ, जसको नेतृत्व एसएसपीले गर्छ । तर, उनीहरूले पनि प्रदर्शन सम्बन्धमा कुनै सूचना संकलन गरेनन् । 

सुरक्षा संयन्त्र सूचना संकलनमा चुकेकै कारण यत्रो घटना भएको नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी बताउँछन् । ‘सुरक्षा रणनीति तयार गर्नुमा सूचनाको महत्वपूर्ण भूमिका हुन्छ । प्राप्त सूचनाको विश्लेषण हुन्छ र सोहीअनुसार सुरक्षाका लागि आवश्यक रणानीति तयार हुन्छ । तर, यसपटकको प्रदर्शनमा त्यस्ता सूचना संकलन भएको देखिएन,’ उनले भने ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि सूचना संकलनमा चुक्दा अप्रिय घटना हुन पुगेको बताउँछन् । उनले भने, ‘सुरक्षा रणनीति प्राप्त सूचनाका आधारमा तयार हुन्छन् । तर, सोमबारको प्रदर्शनका क्रममा सुरक्षा संयन्त्रले सूचना संकलन गरेको देखिएन । सोही कारण अप्रिय घटना हुन पुग्यो ।’

श्रीलंका होस् या बंगलादेश, दुवै मुलुकमा भएका प्रदर्शन स्वस्फूर्त उठेका युवाबाट भएका थिए । सोमबार नेपालमा पनि जेन–जी आन्दोलनमा उत्रिँदै थिए । काठमाडौंमा त जेन–जीका प्रतिनिधिले सिडिओ रिजालसँग आन्दोलनका निम्ति अनुमति नै मागेका थिए । तर, उनीहरूको आन्दोलनलाई सिडिओ रिजालले गम्भीर रूपमा लिएनन् । 

आइतबार उनकै नेतृत्वमा जिल्ला सुरक्षा समितिको बैठक बस्यो । बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी पनि सहभागी थिए । त्यसबाहेक नेपाली सेना, सशस्त्र प्रहरी र अनुसन्धान विभागका अधिकारी पनि बैठकमा सहभागी थिए । उनीहरूले पनि जेन–जीको आन्दोलनलाई कम आँके । आवश्यक सुरक्षा रणनीति निर्माणमा चुके । 

जेन–जी आन्दोलनलाई लक्षित गरी सोमबार सडकमा आवश्यक सुरक्षाकर्मी परिचालन नै गरिएको थिएन । प्रदर्शन नियन्त्रणका लागि आवश्यक ‘ब्लकेड’ पनि सडकमा खडा गरिएन । जबकि नयाँ बानेश्वरकेन्द्रित यसअघिका सबै खालका आन्दोलनमा प्रहरीले संसद् भवनआसपासलाई निषेधित क्षेत्र भनेर सूचना प्रवाह गर्थ्यो । सकडमा ‘ब्लकेड’ खडा गर्थ्यो । तर, सोमबारको प्रदर्शनमा नयाँ बानेश्वरआसपासका सबै सडक खाली थिए । 

सुरक्षा कमजोरीकै कारण युवाहरू माइतीघरबाट सजिलै नयाँ बानेश्वर पुगेका थिए । दक्षिण गेटबाट संसद् भवन परिसरमा प्रवेश गरेपछि भने सुरक्षा संयत्रले एकाएक बल प्रयोग गर्‍यो । संसद् भवनमा युवाहरू प्रवेश गरेको सूचना पाएपछि काठमाडौंका सिडिओ छवि रिजालले गोली हान्न आदेश दिएका थिए । प्रहरीले अश्रुग्यास र गोली चलायो । 

तितरबितर भएका युवा अझै उत्तेजित भए । उनीहरू नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागभित्र छिरे । पार्क गरेर राखिएका गाडीमा आगो लगाए । सडकमा पार्किङ गरिएको मोटरसाइकल जलाए । प्रहरीले गोली चलाइरह्यो, युवाहरू भिडिरहे, ढलिरहे । पूर्वएआइजी भण्डारीले भने, ‘सुरुमा मान्छेलाई इन्गेजमेन्ट चाहिन्छ, त्यस्तै मनका तिक्तता पोख्न भेन्टिलेसन चाहिन्छ । हामीसँग यी दुवै भएन । युवाहरू भित्रभित्रै आक्रोशित थिए । सोमबार सडकमा प्रकट भएको त्यही हो । यसलाई सरकार र मातहतका सुरक्षा संयन्त्रको नेतृत्वमा बस्नेहरूले विश्लेषण नै गर्न सकेनन् । जसले आन्दोलनको आह्वान गरे, यो आक्रोश यसरी पोखिन सक्छ भनेर उनीहरूले पनि आकलन गर्न सकेनन् । युवाको यो फ्रस्टेसनलाई विश्लेषण गरिनुपथ्र्यो । यसमा सरकार चुक्यो । सोही कारण ठुलो मानवीय क्षति निम्तियो ।’

भिआइपीहरूको सुरक्षा बढाइयो 
सरकारविरुद्ध आक्रोश र आन्दोलन बढेपछि भिभिआइपी र भिआइपीहरूको सुरक्षा बढाइएको छ । स्थिति बुझेर मात्र उनीहरूलाई बाहिर निस्कन सुरक्षा निकायले सुझाव दिएका छन् । साथै ठुला नेताका निवास र पार्टी कार्यालयहरूमा समेत सुरक्षा तैनाथी बढाइएको छ । ‘सार्वजनिक कार्यक्रममा सहभागी हुने विषयमा मन्त्री तथा ठुला नेताहरूलाई सचेत गराएका छौँ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘केही नेताहरूको सुरक्षा पनि थपिएको छ ।’ सोमबारको घटनापछि असुरक्षा महसुस गरी मन्त्रीहरूले कतिपय सार्वजनिक कार्यक्रम रद्द गरेको स्रोत बताउँछ । सोमबार सडकमा निस्कँदा मन्त्रीहरूको गाडीलाई प्रहरीले स्कर्टिङ गरेको थियो । आन्दोलनकारीले आक्रमण गर्न सक्ने भयले सोमबार पार्टी कार्यालयहरूमा ठुलो संख्यामा सुरक्षाकर्मी थपिएको थियो ।