मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
‘ब्रेन डेथ’ भएकाको मिर्गौला ३० साउनमा अर्को बिरामीमा प्रत्यारोपण गर्दै चिकित्सक
मुख्य समाचार प्रिन्ट संस्करण

‘ब्रेन डेथ’पछि हुने प्रत्यारोपणले पनि गति लिँदै

तीन महिनामा तीन महिलामा मिर्गौला र दुई पुरुषमा कलेजो प्रत्यारोपण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १२:o८:oo

कुनै समय असम्भवजस्तै मानिने मस्तिष्क मृत्यु (ब्रेन डेथ)पछि हुने अंग प्रत्यारोपणले पनि नेपालमा गति लिन थालेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो तीन महिनामा तीनजना महिलामा मिर्गौला र दुई पुरुषमा कलेजो प्रत्यारोपण गरेको छ । 

नेपालमा दैनिक ६–८ जनासम्मले सडक दुर्घटनामा परी ज्यान गुमाउँछन् । यदि यो संख्यालाई अंग प्रत्यारोपणसँग जोड्ने हो भने मृत्युको मुखमा पुगेका कैयौँ मानिसले नयाँ जीवन पाउने चिकित्सकहरूको भनाइ छ । दुर्घटनाका कारण कसैको जीवन समाप्त भए पनि समयमै ध्यान दिएर ती व्यक्तिका अंग अर्को व्यक्तिमा राख्न सकेमा त्यसबाट पनि नयाँ जीवनको सुरुवात हुन सक्ने केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनका अनुसार गत ३० साउनमा ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुईवटा मिर्र्गाैला र एउटा कलेजो प्राप्त भएको थियो । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मिर्गौला र एक कलेजो एकैसाथ तीनजनामा सफल प्रत्यारोपण गर्न सकिएको उनले बताए ।

श्रेष्ठका अनुसार कलेजो प्रत्यारोपित काठमाडौंका ३८ वर्षीय पुरुष सोमबार डिस्चार्ज भएका छन् । र, मिर्गौला प्रत्यारोपितहरू पनि डिस्चार्ज हुने तयारीमा छन् । केन्द्रले तीन महिनाअघि पनि एक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मिर्गौला एक पुरुष र एक महिलामा प्रत्यारोपण गरेको थियो । 

‘यो ऐतिहासिक सफलता हो, हामीले ब्रेन डेथबाट हुने अंग लिएर अर्को व्यक्तिमा राख्न निकै कसरत गरिरहनुपरेको छ । अनाहकमा दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मृत्युको मुखमै पुग्न लागेका कसैको जीवन बचाउन सम्भव छ,’ डा. श्रेष्ठले भने, ‘तर, यो प्रक्रिया सहज भयो वा सरकारले एउटा संयन्त्र नै बनायो भने सहज हुने थियो, अहिले हामीले हारगुहार र बिन्ती गरेर मस्तिष्क मृत्युुपछि अंग प्रत्यारोपण गर्न सकेका छौँ ।’ 

केन्द्रले २८ वैशाख ०७४ मा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट प्रत्यारोपण गरिएको थियो । केन्द्रले हालसम्म सातजना व्यक्तिबाट अंग प्राप्त गरी १३ जनामा मिर्गौला र पाँचजनामा कलेजो गरी कुल १८ जनामा प्रत्यारोपण गरेको छ । मस्तिष्क मृत्युपछि हुने अंग प्रत्यारोपणले थप गति लिँदै गएको मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सकसमेत रहेका श्रेष्ठले बताए । 

सरकारले मस्तिष्क मृत्युपछि अंगदान तथा त्यसरी प्राप्त हुने अंग ग्रहण गर्न चाहने व्यक्तिको प्राथमिकताको सूची बनाउने जिम्मा केन्द्रलाई तोकेको छ । साथै, अंग झिकेपछि अंग तोकिएबमोजिमको प्राथमिकताक्रमअनुसार वितरण गर्ने जिम्मा पनि केन्द्रलाई नै दिइएको छ । हाल उक्त इकाइको संयोजक डा. कल्पनाकुमारी श्रेष्ठलाई तोकिएको छ ।

केन्द्रको तथ्यांकअनुसार हालसम्म मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण गर्ने १३ मध्ये १० जना पुरुष र तीनजना महिला छन् । पाँचजना पुरुषमा कलेजो प्रत्यारोपण गरिएको छ । देशमा अंगदानसम्बन्धी कानुन निकै उदार भए पनि कार्यान्वयन कमजोर भएको श्रेष्ठले बताए । उनका अनुसार यसको मुख्य कारण जनचेतनाको कमी नै हो । गाडेर खेर जाने वा जलेर खरानी हुने अंग दान दिन सके एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अंगहरू दुईवटा मिर्गौला, दुईवटा फोक्सो, मुुटु, कलेजो, प्यांक्रियाज र सानो आन्द्रा प्राप्त गरी आठजनाको ज्यान बचाउन सकिन्छ । मुख्यत: मिर्गौला र कलेजो प्रत्यारोपण सेवा दिँदै आएको केन्द्रले देशकोे चारवटा प्रदेशमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । जसमा बागमती, गण्डकी, कर्णाली र लुम्बिनी छन् । बाँकी तीनवटा प्रदेशमा पनि सेवा विस्तार गर्ने तयारी गरिएको छ । हाल सरकारले घोषणा गरे पनि केन्द्रलाई पाँच सय बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको छ ।