मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ भदौ २२ आइतबार o८:३९:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अंग प्रत्यारोपणमा नेपालमा ऐतिहासिक उपलब्धि : एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

‘ब्रेन डेथ’पछि हुने प्रत्यारोपणले पनि गति लिँदै

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार o८:३९:oo
  • साँघुरो भवनबाटै धर्मभक्तले गर्‍यो १५ सयजनामा मिर्गौला प्रत्यारोपण
  • नेपालमा अंग प्रत्यारोपणका लागि विशिष्टीकृत अस्पताल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नै हो । तर, केन्द्रको आफ्नै भवन छैन । साँघुरो भवनबाट सेवा दिइरहेको छ । हालसम्म केन्द्रले स्थापनाको १३ वर्षमा १५०२ सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपणसमेत सम्पन्न गरिसकेको छ । केन्द्रले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष कार्यक्रमसमेत आयोजना गरेको छ ।

नेपालमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । सामान्यत: एउटा व्यक्तिमा तीनपटकसम्म मिर्गौला प्रत्यारोपण गर्नु जटिल र चुनौतीपूर्ण मानिए पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुर्लभ मानिने प्रत्यारोपण सफलतापूर्वक गरेको छ ।

गत ९ भदौमा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् । ‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट नेफ्रोप्याथीलगायतका समस्याले पहिले प्रत्यारोपण गरिएको मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ मानिन्छ । प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउनसमेत कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ ।’

डा. श्रेष्ठले बेलायतमा हुँदा भने यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव बटुलेका थिए । उनले नेपालमा पनि जटिल प्रत्यारोपण सम्भव भएको र कमजोर पूर्वाधार र जनशक्तिका बिच पनि प्रत्यारोपणमा केन्द्रले फड्को मारेको दाबी गरे । चौधरी मिर्गौला प्रत्यारोपणकै लागि आफ्नो मन्त्री पद त्यागेर केन्द्रमा भर्ना भएका थिए । उनको सबै प्रकारका परीक्षण गरी डोनर तयार पार्न करिब एक महिनाजति समय लागेको केन्द्रले जनाएको छ ।

चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण ०७२ मा भारतमा भएको थियो । दोस्रो र हालको तेस्रो प्रत्यारोपण भने केन्द्रमा डा. श्रेष्ठकै नेतृत्वमा भएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबिच अंग साटासाट गरी गरिएको केन्द्रले जनाएको छ । यसलाई मिर्गौला साटासाट पनि भनिन्छ । आफ्नो प्रत्यक्ष आफन्तबिच प्रत्यारोपण गर्न रक्त समूह नमिलेपछि चौधरी तनाबमा थिए । अस्पतालले उनीजस्तै भौतारिएका अर्का मिर्गौलापीडितलाई भेट गराएको थियो । रक्त समूह मिलेपछि दुई मिर्गौला एक–अर्कामा साटासाट भएको थियो । 

डा. श्रेष्ठका अनुसार नेपालमा एकै व्यक्तिमा दोस्रोपटकको मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा सन् २०१० मै सुरु भएको थियो । तर, तेस्रो प्रत्यारोपण हुन सकेको थिएन । यो अत्यन्तै दुर्लभ उपलब्धि हो । केन्द्रले त्यही इतिहास रचेको कार्यकारी निर्देशक श्रेष्ठले बताए । यसरी सम्पन्न भएको प्रत्यारोपणले नेपालमा अंग प्रत्यारोपण सेवाको स्तर विश्वस्तरीय क्षमता र दक्षतासँग मेल खाने स्तरमा पुगेको प्रमाणित गरेको उनको भनाइ छ । 

तेस्रोपटक मृर्गौला प्रत्यारोपण गरेर नयाँ जीवन पाएका चौधरीले केन्द्रले दिने सेवा गुणस्तर रहेको र भौतिक पूर्वाधार भने निकै दयनीय र साँघुरो रहेको बताए । स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँगको भेटमा उनले आफूले केन्द्रकै कारणले नयाँ जीवन पाएको अनुभव साट्दै केन्द्रलाई जग्गा र भवन उपलब्ध गराउन पहल गर्न अनुरोध गरे । ‘अघिल्लोपटक पनि यहीँ प्रत्यारोपण गरेको थिएँ, सेवा विश्वासयोग्य छ, तर ठाउँ साँघुरो रहेछ, अब यो अस्पताललाई ठाउँ दिनुपर्‍यो मन्त्रीज्यू,’ उनले भने, ‘मजस्ता थुप्रैले यहाँ नयाँ जीवन पाएका छन् । मैले आफूलाई बढी भाग्यमानी भएको ठानेको छु, किनकि मेरो जटिल अवस्थामा पनि प्रत्यारोपण भयो ।’

तेस्रोपटकको मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै स्वास्थ्यमन्त्री पौडेलले अस्पतालका कार्यकारी निर्देशक तथा प्रत्यारोपण विशेषज्ञ डा. श्रेष्ठलाई भेटेर बधाई दिएका छन् । शनिबार साँझ अस्पताल पुगेका उनले बिरामी चौधरीको स्वास्थ्यलाभको कामनासमेत गरे ।

‘ब्रेन डेथ’पछि हुने प्रत्यारोपणले पनि गति लिँदै
तीन महिनामा तीन महिलामा मिर्गौला र दुई पुरुषमा कलेजो प्रत्यारोपण 

‘ब्रेन डेथ’ भएकाको मिर्गौला ३० साउनमा अर्को बिरामीमा प्रत्यारोपण गर्दै चिकित्सक

कुनै समय असम्भवजस्तै मानिने मस्तिष्क मृत्यु (ब्रेन डेथ)पछि हुने अंग प्रत्यारोपणले पनि नेपालमा गति लिन थालेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो तीन महिनामा तीनजना महिलामा मिर्गौला र दुई पुरुषमा कलेजो प्रत्यारोपण गरेको छ ।

नेपालमा दैनिक ६–८ जनासम्मले सडक दुर्घटनामा परी ज्यान गुमाउँछन् । यदि यो संख्यालाई अंग प्रत्यारोपणसँग जोड्ने हो भने मृत्युको मुखमा पुगेका कैयौँ मानिसले नयाँ जीवन पाउने चिकित्सकहरूको भनाइ छ । दुर्घटनाका कारण कसैको जीवन समाप्त भए पनि समयमै ध्यान दिएर ती व्यक्तिका अंग अर्को व्यक्तिमा राख्न सकेमा त्यसबाट पनि नयाँ जीवनको सुरुवात हुन सक्ने केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनका अनुसार गत ३० साउनमा ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुईवटा मिर्र्गाैला र एउटा कलेजो प्राप्त भएको थियो । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मिर्गौला र एक कलेजो एकैसाथ तीनजनामा सफल प्रत्यारोपण गर्न सकिएको उनले बताए ।

श्रेष्ठका अनुसार कलेजो प्रत्यारोपित काठमाडौंका ३८ वर्षीय पुरुष सोमबार डिस्चार्ज भएका छन् । र, मिर्गौला प्रत्यारोपितहरू पनि डिस्चार्ज हुने तयारीमा छन् । केन्द्रले तीन महिनाअघि पनि एक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मिर्गौला एक पुरुष र एक महिलामा प्रत्यारोपण गरेको थियो । 

‘यो ऐतिहासिक सफलता हो, हामीले ब्रेन डेथबाट हुने अंग लिएर अर्को व्यक्तिमा राख्न निकै कसरत गरिरहनुपरेको छ । अनाहकमा दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मृत्युको मुखमै पुग्न लागेका कसैको जीवन बचाउन सम्भव छ,’ डा. श्रेष्ठले भने, ‘तर, यो प्रक्रिया सहज भयो वा सरकारले एउटा संयन्त्र नै बनायो भने सहज हुने थियो, अहिले हामीले हारगुहार र बिन्ती गरेर मस्तिष्क मृत्युुपछि अंग प्रत्यारोपण गर्न सकेका छौँ ।’ 

केन्द्रले २८ वैशाख ०७४ मा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट प्रत्यारोपण गरिएको थियो । केन्द्रले हालसम्म सातजना व्यक्तिबाट अंग प्राप्त गरी १३ जनामा मिर्गौला र पाँचजनामा कलेजो गरी कुल १८ जनामा प्रत्यारोपण गरेको छ । मस्तिष्क मृत्युपछि हुने अंग प्रत्यारोपणले थप गति लिँदै गएको मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सकसमेत रहेका श्रेष्ठले बताए । 

सरकारले मस्तिष्क मृत्युपछि अंगदान तथा त्यसरी प्राप्त हुने अंग ग्रहण गर्न चाहने व्यक्तिको प्राथमिकताको सूची बनाउने जिम्मा केन्द्रलाई तोकेको छ । साथै, अंग झिकेपछि अंग तोकिएबमोजिमको प्राथमिकताक्रमअनुसार वितरण गर्ने जिम्मा पनि केन्द्रलाई नै दिइएको छ । हाल उक्त इकाइको संयोजक डा. कल्पनाकुमारी श्रेष्ठलाई तोकिएको छ ।

केन्द्रको तथ्यांकअनुसार हालसम्म मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण गर्ने १३ मध्ये १० जना पुरुष र तीनजना महिला छन् । पाँचजना पुरुषमा कलेजो प्रत्यारोपण गरिएको छ । देशमा अंगदानसम्बन्धी कानुन निकै उदार भए पनि कार्यान्वयन कमजोर भएको श्रेष्ठले बताए । उनका अनुसार यसको मुख्य कारण जनचेतनाको कमी नै हो । गाडेर खेर जाने वा जलेर खरानी हुने अंग दान दिन सके एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट अंगहरू दुईवटा मिर्गौला, दुईवटा फोक्सो, मुुटु, कलेजो, प्यांक्रियाज र सानो आन्द्रा प्राप्त गरी आठजनाको ज्यान बचाउन सकिन्छ । मुख्यत: मिर्गौला र कलेजो प्रत्यारोपण सेवा दिँदै आएको केन्द्रले देशकोे चारवटा प्रदेशमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । जसमा बागमती, गण्डकी, कर्णाली र लुम्बिनी छन् । बाँकी तीनवटा प्रदेशमा पनि सेवा विस्तार गर्ने तयारी गरिएको छ । हाल सरकारले घोषणा गरे पनि केन्द्रलाई पाँच सय बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको छ ।