मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
२o८२ भदौ २२ आइतबार o९:५९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आज चेपाङ समुदायले न्वाँगी पर्व मनाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार o९:५९:oo

चेपाङ समुदायले आज आफ्नो मौलिक पर्व न्वाँगी (छोनाम) धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाइने यो पर्व यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका– ६ कालीखोलामा विशेष सांस्कृतिक कार्यक्रमसहित आयोजना गरी मनाइँदै छ ।

चेपाङ समुदायमा पितृलाई पूजा नगरी र अर्पण नगरी नयाँ फलफूल वा अन्नपात खान नहुने धार्मिक मान्यता रहेको छ । त्यसैले न्वाँगीको दिन घैया धान, काउनो, पिँडालुलगायतका अन्नपात र फलफूल भूमि तथा पितृलाई चढाउने गरिन्छ । यस अवसरमा झाँक्री (पान्दे)हरूले ढ्याङ्ग्रो बजाउँदै कुखुराको बलि दिने, नातागोता भेला भई भोज खाने, नाचगान गर्ने र आपसी सुखदु:ख साट्ने परम्परा छ ।

न्वाँगी पर्वलाई चेपाङ समुदायको जीवनशैली, संस्कृति र धार्मिक आस्थासँग गाँसिएको राष्ट्रिय पर्वका रूपमा लिइन्छ । जनगणना २०७८ अनुसार नेपालभर ८४ हजार ३६४ जना चेपाङ समुदायकाे  बसोबास छ । जसमा चितवनमा मात्रै ३५ हजार ६३७ जना छन् ।

बागमती प्रदेश सरकारले २०७९ सालदेखि मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको छ । आज बागमती प्रदेश सरकारले यी तीनवटै जिल्लामा सार्वजनिक बिदा दिएको छ । 

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते न्वाँगीलाई उत्सवका रूपमा मनाउने परम्परा रहेको जानकारी दिए ।