मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
गोपीनाथ मैनाली
२o८२ भदौ २२ आइतबार o९:o५:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निजामती प्रशासनमा रूपान्तरण कसरी ?

Read Time : > 4 मिनेट
गोपीनाथ मैनाली
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार o९:o५:oo
  • मनमा राष्ट्र र मस्तिष्कमा जनता राखेर सेवामा समर्पित भएपछि मात्र निजामती प्रशासनको रूपान्तरण सहज हुन्छ

निजामती सेवा सरकार र शासनको संस्थागत मियो हो । यसको क्षमता र अभिप्रेरणामा नै सरकारको साख, राज्यको वैधता र नागरिक विश्वास सिर्जना हुन्छ । जापान, सिंगापुरजस्ता मुलुक दह्रिलो प्रशासनिक संयन्त्रका कारण आजको अवस्थामा पुगेका हुन् भने अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, फ्रान्सलगायत राष्ट्रको राज्य–प्रणालीलाई संस्थागत गराउन त्यहाँको निजामती प्रशासनले खेलेको भूमिकाको सधैँ प्रशंसा हुन्छ । नेपाललगायत केही मुलुकमा भने निजामती प्रशासन संस्थागत हुनै सकेन । नेपालमा प्रशासन अकर्मण्य भएको, क्षमता गुमाउँदै गएको, आर्जित क्षमताको उपयोग नगरेको र सेवाग्राहीसँग असल व्यवहार नगरेको आरोप लाग्दै आएको छ । अहिले प्रशासन अस्तित्वको संकटमा छ । सदनदेखि सर्वसाधारणसम्मले कर्मचारीतन्त्रको आलोचना गरिरहेका छन्, कर्मचारीको मनोबल निकै गिरेको छ, सार्वजनिक प्रशासन जीवन्त संस्था बन्न सकेको छैन । परिणमत: निजामती सेवा आर्थिक सामाजिक रूपान्तरणको संस्था बन्नै सकेन । मौजुदा अवस्था नै कायम राखेर यो समृद्धि र रूपान्तरणको संस्था बन्न सक्दैन, न यसलाई उपेक्षा गरेर समृद्धि र रूपान्तरणमा पुग्ने कल्पना नै गर्न सकिन्छ । 

नेपालमा निजामती सेवा आर्थिक सामाजिक रूपान्तरणको बाहक बन्न नसक्नुका केही आभ्यान्तरिक र कतिपय प्रवृत्तिगत कारण जिम्मेवार छन् । पहिला आभ्यान्तरिक कारणको विवेचना गरौँ । कर्मचारीतन्त्र यसको ‘रेसिपी’का कारण पनि आफैँ आलोचित छ । कर्मचारीतन्त्र सामान्य विधिबाट संरचित हुन्छ । यसको रणनीति माथिबाट निर्धारित हुन्छ, अधिकार र जिम्मेवारी माथिबाट तल झर्छ, जवाफदेहिता तलबाट माथि उक्लन्छ । ठुलाले कजाउँछ, साना कजिन्छन् । यसको आविष्कार गर्दा नै कार्यप्रक्रियाको जन्जिर निर्माण गरिएको छ । नीति, विधि पुर्‍याउँदा काम छिटो हुन्न । कार्य स्वायत्तता होइन, नियन्त्रणलाई केन्द्रविन्दुमा राखिएको छ । यसले ‘लालफितासाही’ जन्माउन पुग्यो । निश्चित विधिमा काम गर्दा यान्त्रिक बन्यो, मानवीय संवेदनालाई वास्ता गरेन । नजाने पनि गर्न खोज्यो, समय र सेवा मूल्यलाई विस्थापन गर्न पुग्यो । अत्यधिक वृत्ति सुरक्षा भयो, संगठनको अभिष्ट र समर्पणलाई पाखा लगायो । 

आभ्यान्तरिक कमजोरीका कारण मात्र कर्मचारीतन्त्रमाथि आलोचना गरिएको होइन, मूलत: प्रवृत्तिगत प्रश्न गाँसिएका छन् । पहिलो त यो सेवकीयभन्दा शासकीय सोचमा देखियो, समाजको बेग्लै वर्ग बन्न खोज्यो । जसका कारण राज्य र जनताको सम्बन्ध सूत्र बन्नुपर्नेमा विच्छेदकजस्तो देखियो । प्रशासनिक व्यावसायिकता पनि गिरेर गएको छ । कर्मचारीले हिजोभन्दा धेरै ‘एक्सपोजर’ पाएका छन्, चेतना र प्रविधिले पनि सिक्न सकिने स्थिति छ । तर, संस्था र जिम्मेवारीको सापेक्षमा यसलाई उपयोग गरिएको छैन । क्षमता विकासका प्रक्रिया कमजोर छन्, अभिमुखीकरणको अवस्था छैन । समय, स्रोत, सेवा र जिम्मेवारी निर्वाहका आधारमा व्यावसायिक सदाचारिता पातलिएको छ । उदाहरणीय बन्नुपर्ने प्रशासनिक नेतृत्व क्षमता र सदाचार दुवै आयाममा कमजोर देखिँदै आयो । नीति, निर्णय, बजेट, कार्यक्रम, सेवा र संवादमा देखिएको स्तरले त्यही पुष्टि गरिरहेको छ । पछिल्लो समय हुर्किएको स्वार्थको सौदाबाजीले प्रणालीभित्र रहेका असल कर्मचारी पनि हीन मनोभावमा छन् । राजनीतिले कर्मचारीलाई जतिखेर पनि चलाए हुन्छ भन्ने ठानेको छ, कर्मचारीले त्यो वातावरण निर्माण गरिदिएका छन् । आस्थामा विभाजित प्रशासनले सामूहिक भावनालाई छिन्नभिन्न बनाएको छ । संस्थागत सम्झना र ज्ञान हस्तान्तरण छैन, आवश्यकता महसुस पनि गरिएको छैन । राजनीतिक कार्यकारीले अभिभावकत्व दिएको छैन, मात्र उपयोग गरेको छ । गिर्दो सामाजिक छविका कारण उम्दा प्रतिभा किनारा लाग्दै छन् । अर्काे प्रवृत्तिगत समस्या सरकारले लगानी गरेर, हैसियत बनाइदिएर, क्षमता विकास गरिदिएर बनाएका बनिबनाउ व्यक्ति राष्ट्र र सर्वसाधारणप्रतिको दायित्व भुलेर विदेशमा बस्ने, उतै जागिर खाने, उतैको नागरिक बन्नेसम्मका काम भएका छन् । राष्ट्र र जनताका नाममा शपथ खाएका व्यक्ति कुनै पनि तर्क र प्रभावका आधारमा राष्ट्रलाई धोका दिने अवस्थामा पुग्नु उचित होइन । यसले नकारात्मक संस्कृति विकास गरेको छ । संगठनभित्र भएका सीमित अवसर वितरणमा न्याय पुगेको छैन । संगठनभित्र विश्वास र सहभागिताको अवस्था कमजोर छ । कर्मचारी अन्तरमुखी र वृत्तिवादी देखिएका छन् । यसको समग्र उपचार कसरी भन्नेमा समाधान खोज्न प्रशासनिक नेतृत्वको स्वार्थले सहयोग गरेको छैन । भएका प्रयास वास्तविक नभई संरचनावादी र सजिला छन् । नीति बनाउने, मापदण्ड निर्धारण गर्ने, कार्यालय स्थापना गर्ने, कार्यदल आयोग बनाएर सुझाव लिने काम यस अवस्थामा हुने नै भए । कार्यसंस्कृति पक्षमा ध्यान गएन । परिणामत: अजस्र शक्तिको स्रोत, अनुभव र योग्यताको खानी निजामती प्रशासन समृद्धि र रूपान्तरणको वास्तविक सहयात्री बन्ने अवसरबाट बाहिरियो । 

अहिले विश्वव्यापी रूपमा कर्मचारीतन्त्रमाथि आलोचनाको वातावरण छ । अमेरिकी राष्ट्रपति चुनावको एउटा एजेन्डा कर्मचारीको आकार घटाउने थियो । जसलाई कार्यान्वयन गर्न इलन मस्क र विवेक रामास्वामीलाई कर्मचारीतन्त्र सुधार (डिस्मेन्टल ?) जिम्मेवारी दिइयो । कर्मचारीतन्त्र र खर्च घटाउने कामलाई ‘मेक अमेरिका ग्रेट अगेन (मागा)’को रणनीति बनाइयो । कर्मचारीतन्त्रमाथिको आक्रमण लोकतन्त्रको खतरा होइन, भ्रष्ट कर्मचारीतन्त्रका लागि खतरा हो’ (थ्रेट टु डेमोक्रेसी, नोप, थ्रेट टु ब्युरोक्रेसी) भन्ने भाष्य बनाइयो । मोदीले ‘ननपर्फमर क्लिन अप’ अभियान चाले । नीति निर्णयमा प्रशासनिक वर्चस्व रहेको ‘कानरो सिहाइ–रोन’लाई परिवर्तन गरी पावर सिफ्टको अभियानमा जापानी राजनीतिज्ञ छन् । साम्यवादी नेतृत्व त कहिले पनि निजामती प्रशासनको अस्तित्वप्रति सकारात्मक थिएन नै । उनीहरूको अर्थमा कर्मचारीतन्त्र बुर्जुवा वर्गको अनुचर (नोकारशाह ?) बुर्जुवाको समूल नष्टसँगै कर्मचारीतन्त्रका पनि समूल नष्ट हुन्छ । फ्रान्समा कर्मचारीतन्त्रप्रति जापानमा जस्तै सम्मान भए पनि यसको आकार विस्तार भएकामा नियन्त्रणका उपायमा छ । अन्य मुलुकको प्रवृत्तिबाट नेपाल अपवाद छैन । न्युजिल्यान्ड मात्र यस्तो मुलुक हो, जसले कर्मचारीतन्त्र किन वास्तविक रूपमा कार्यप्रेरित छैन भनी मनोबल उठाउन संरचनात्मक अभ्यासको विकल्पमा नयाँ सार्वजनिक जागरण (न्यू पब्लिक प्यासन) को अवधारणा अघि सारेको छ । 

विश्वव्यापी रूपमा कर्मचारीतन्त्रप्रति बनेको नकारात्मक अवधाणाका कारण यसको मनोबल घटे पनि आफ्नो छवि सुधार्ने अवसर पनि साथै ल्याएको छ । निजामती प्रशासनविनाको राजकीय व्यवस्थाको कल्पना गर्न सकिँदैन । यस अवस्थामा आलोचना र आक्रमणबाट डराएर भाग्नुभन्दा प्रशासनले आफ्नो आन्तरिक सुधार र संस्थागत प्रबलीकरणमा एक कदम अघि बढेर सेवाग्राही र राजनीतिक प्रणालीको विश्वास जित्नुुपर्छ । कर्मचारीले आफूमाथि लागेको आरोप वा गरिएका गुनासाको रक्षात्मक पंक्तिमा रहेर वा शब्दबाट उत्तर दिने होइन । कर्मको आचरणबाट जवाफ दिने दायित्व उसको हो । उसमाथि गरिने प्रशंसा वा आलोचनाका आधार उसले गरेको काम र देखाएको व्यावसायिकताबाट हो । भनिन्छ, कर्मचारीको मन ठुलो हुन्छ, मुखचाहिँ सानो । भन्ने होइन, गरेर उसले आफूलाई उम्दा साबित गर्नुपर्छ । नागरिक चेतनाले नयाँ सेवा र सन्तुष्टि खोजिरहेको छ । राजनीतिक कार्यकारीले व्यावसायिक सदाचारिता भएका व्यक्तिसँग काम गर्नभन्दा अनुचरसँग काम गर्न सजिलो महसुस गरे पनि उनीहरूकै छविमा आँच आउने घटना घटेपछि योग्य व्यक्ति खोज्न थाल्नेछन् । असल राजनीतिज्ञले व्यावसायिक इमानदारी खोजिरहेका छन् । राष्ट्रसेवामा सधैँ उम्दा व्यक्ति चाहिन्छ भन्ने सिद्ध गर्ने दायित्व स्वयं कर्मचारीको हो । यस्तो अवस्थामा जागिरे वृत्तिभन्दा माथि सधँै जागरुक संस्थाको उदाहरणमा प्रशासन रहनुपर्छ । सधैँ सिकिरहने, सधैँ गरिरहने, सधैँ सुधारमा रहने, ‘एक्स्ट्रा माइलेज’ खोजिरहने र आफूप्रति औँलो नठडिने स्थितिमा रहने प्रवृत्तिमा कर्मचारी रहनुपर्छ । 

व्यावसायिकताले विश्वास जितेपछि आलोचना र आरोप स्वत: पाखा लाग्छन् । सफल प्रशासनका उदाहरणमा प्रशासनिक क्षमताको मापनमा सदाचार, शीघ्र निर्णय, व्यावसायिक सुझाव, निष्पक्षता, इमानदारी, प्रतिस्पर्धात्मकता र स्वयं जागरुकताजस्ता सूचकबाट प्रशासनको स्तर मापन गरिन्छ । यी कुरा नौला नभएर सार्वजनिक सेवाका मूल्य, सिद्धान्त नै हुन् । कर्मचारीलाई नियुक्ति गर्दा यिनै कुराको अपेक्षा गरिएको हुन्छ, शपथमार्फत प्रतिबद्धता गरिन्छ । यी अपेक्षा पूरा गर्नु भनेको निजामती सेवा रूपान्तरणकारी संस्था बन्नु हो । जापानका मेजी, सिंगापुरका यू, दक्षिण कोरियाका पार्कहरूले कर्मचारीतन्त्रलाई राम्ररी सदुपयोग गरे, यो समृद्धि र रूपान्तरणको संस्था बन्योे र कजाउनेहरू राजनेता कहलिए । राजापाक्षे, हसिना, एर्सादहरूले दुुरुपयोग गरे, जसको परिणाम अहिलेको श्रीलंका, बंगलादेश र पाकिस्तान हुन् ।

निष्कर्षमा के भन्न सकिन्छ भने समृद्धि र रूपान्तरणका लागि धेरै पात्रको स्वचालित निष्ठा चाहिन्छ, औपचारिक प्रक्रियाले पुग्दैन । मनमा राष्ट्र र मस्तिष्कमा जनता राखेर सेवामा समर्पित भएपछि मात्र रूपान्तरण सहज हुन्छ । दक्षिण कोरिया र सिंगापुरले के बताएका छन् भने जनताको दु:खमा मन दुख्ने नेता र काममा समर्पित कर्मचारी भएपछि मात्र रूपान्तरणको अभिष्ट पूरा हुन्छ । निजामती सेवा दिवस मनाउन चयन गरिएको आदर्श वाक्य ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन’ले निजामती सेवालाई रूपान्तरणकारी संंस्था बनाउने आशय बोकेको छ । केही वर्षदेखि यही आदर्श वाक्यलाई निरन्तरता दिनुको कारण पनि निजामती सेवाको रूपान्तरणमार्फत आर्थिक सामाजिक रूपान्तरणको खोजी हो भन्न सकिन्छ । 

(मैनाली नेपाल सरकारका पूर्वसचिव हुन्)