
मोरोक्को सन् २०२६ को फिफा पुरुष विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अफ्रिकी महादेशको छनोट प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा मोरक्कोले नाइजरलाई ५–० गोलको फराकिलोअन्तरले हराएको हो । जितसँगै मोरोक्को आगामी फिफा विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बन्न पुगेको हो ।
मोरोक्कोको जितमा इस्माइल साइबारीले दुई गोल गरेका थिए । उनले खेलको २९औँ र ३८औँ मिनेटमा गोल गरेका थिए । मोरोक्कोका लागि अयुब अल काबी, हमजा इगामाने र अजेदिनले समान एक गोल गरे ।
मोरोक्कोको रावतमा भएको खेलको पहिलो हाफमा नाइजर १० खेलाडीमा समेटिएको थियो । खेलको २६औँ मिनेटमा नाइजरका अब्दुल लतिफ डियोरी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
सन् २०२२ मा कतार विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरोक्को लगातार विश्वकपमा छनोट भएको हो । तीन वर्षअघि सनसनी नतिजा निकाली विश्वकपको अन्तिम चार स्थान बनाउने क्रममा मोरक्कोले स्पेन र पोर्चुगलजस्ता बलिया राष्ट्रलाई हराएको थियो ।
मोरोक्को सेमिफाइनलमा फ्रान्ससँग २–० ले पराजत भएको थियो । योपटक अफ्रिकी महादेशको छनोट प्रतियोगितामा मोरोक्को समूह ‘ई’मा थियो । मोरोक्कोले लगातार ६ खेल जित्दै १८ अंक जोडेको छ ।
६ खेल खेलेको तान्जानिया १० अंकसहित दोस्रो स्थानमा छ । सन् २०२६ को विश्वकप ११ जुन देखि १९ जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन् । अफ्रिकी छनोटअन्तर्गत आठ समूह विजेता सीधै विश्वकपमा छनोट हुनेछन् ।
विश्वकपमा पुगेका १७ राष्ट्र
एसिया : अस्ट्रेलिया, इरान, जापान, जोर्डन (पहिलोपटक), दक्षिण कोरिया, उज्वेकिस्तान (पहिलोपटक)
उत्तर अमेरिका : क्यानडा, मेक्सिको, संयुक्तराज्य अमेरिका
दक्षिण अमेरिका : अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे
ओसिएना : न्युजिल्यान्ड
अफ्रिकी महादेश : मोरोक्को