
प्रतिष्ठित फिल्म महोत्सव टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ५०औँ संस्करण क्यानडाको टोरन्टोमा सुरु भएको छ।
कोलिन ह्यान्क्स निर्देशित क्यानाडाली हास्य अभिनेता जोहन क्यान्डीको जीवनीमा आधारित वृत्तचित्र ‘जोहन क्यान्डी : आई लाइक मी’को प्रदर्शनबाट महोत्सवको उद्घाटन गरिएको हो। दिवंगत अभिनेता क्यान्डीको जीवनमा आधारित यस वृत्तचित्रमा उनको व्यक्तिगत संघर्ष र सफलतालाई मार्मिक रूपमा चित्रण गरिएको छ।
उद्घाटन समारोहमा हलिउड तथा क्यानाडाली कलाकारहरू रेड कार्पेटमा देखिए। स्कारलेट जोहान्सन, डेनियल क्रेग, रामी मालेक, रायन रेनोल्ड्स, युजिन लेभीलगायतका चर्चित हस्तीहरूको उपस्थितिले कार्यक्रमको रौनक बढायो।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले महोत्सवलाई विशेष सम्बोधन गरेका थिए। उनले महोत्सले क्यानडा र विश्वलाई एउटै बनाएको बताए। सम्बोधन गर्दै उनले भने, ‘यो महोत्सव एउटा अद्वितीय सफलताको कथा हो, जुन क्यानडालाई विशेष बनाउने तत्त्वमध्ये एक हो। यहाँ क्यानडा र विश्व एउटै बनेका छन्।’
महोत्सवकी कार्यक्रम निर्देशक रोबिन सिटिजनले ५० वर्षपछि यो महोत्सवले फिल्म उद्योग र विश्व समुदायबिचमा सेतुको भूमिका खेल्ने लक्ष्य लिएको बताइन्। रोबिन सिटिजनले महोत्सवको ५० वर्षे यात्राप्रति गर्व व्यक्त गर्दै भनिन्, ‘फिल्म उद्योग र विश्वव्यापी समुदायबिच सेतु निर्माण गर्नु अहिलेको महत्त्वपूर्ण उद्देश्य हो। कथा र चलचित्रहरूमार्फत हामी संसार बुझ्ने प्रयास गर्छौँ। टोरन्टो फिल्म फेस्टिभलजस्ता मञ्चहरू कलाकार र दर्शकबिच सहानुभूति निर्माण गर्ने माध्यम हुन्।’