
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि विधेयक मधेशलाई मरुभूमि बनाउने योजनाका साथ ल्याइएको टिप्पणी गरेका छन्। संघीय लोकतान्त्रिक मोर्चाले सप्तरीको राजविराजबाट सुरु गरेको ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’लाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।
चुरे क्षेत्रको विनाशका कारण मधेशमा भूमिगत पानीको सतह घट्दै गएको अवस्थामा सरकारले ल्याएको भूमि विधेयकले चुरे थप विनाश भई मधेश मरुभूमिमा परिणत हुने निश्चित रहेको उनले बताए।
कुनै समय एउटै पार्टीमा रहेका नेताहरू अहिले अलग-अलग भए पनि फेरि उत्पीडित समुदायको हक अधिकारका लागि मोर्चा बनाउनुपरेको यादवको भनाइ थियो। उनले देशलाई वनजंगलमुक्त बनाउने गरी ल्याइएको विधेयक राष्ट्रविरोधी भएको दाबी गर्दै भने, ‘जससँग लडेर अधिकार लिनुपर्ने उसकै पछि लागेपछि अधिकार पाउने सम्भावना हुँदैन।’
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेसी, थारू, आदिवासी जनजाति, दलित र पिछडा वर्गले छुट्टाछुट्टै संघर्ष गरेकाले आन्दोलन सफल हुन नसकेको धारणा राखे।
जनताको सपना पूरा गर्न मधेशी पार्टीले ६ महिनासम्म गरेको आन्दोलन असफल भएको उल्लेख गर्दै महतोले अधिकार, पहिचान, स्वायत्तता र स्वशासन प्राप्त गर्न उत्पीडित समुदायहरू एक हुनुको विकल्प नरहेको प्रस्ट्याए।