
कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरव साह ‘उत्कृष्ट चिकित्सक अवार्ड’बाट सम्मानित भएका छन्। स्वास्थ्य खबर फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा आयोजना गरेको ‘हेल्थ अवार्ड–२०८२’ मा डा. साह सम्मानित भएका हुन्।
काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पूर्वमन्त्रीहरू गगन थापा र पदम गिरीलगायतका विशिष्ट अतिथिले डा. साहलाई अवार्ड प्रदान गरेका थिए। स्वास्थ्य खबर पत्रिकाको स्थापना दिवसको अवसरमा हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरिएको छ।
लोकसेवा आयोगमार्फत आठौँ तहमा नाम निकालेर स्वास्थ्य सेवामा प्रवेश गरेका डा. साहले पहिलोपटक ०७३ फागुन ११ गते आफ्नो जन्मदिनकै दिन कटारी अस्पतालमा पदबहाल गरेका थिए। उनले सो दिनलाई आफ्नो पेसागत यात्राको विशेष सुरुवातको रूपमा लिएका छन्।
स्नातकोत्तर अध्ययन सकेर पुनः कटारी फर्किएका डा. साहको नेतृत्वमा १५ शय्याको नगर अस्पताल स्तरोन्नति भई अहिले ५० शय्याको प्रदेश अस्पतालका रूपमा परिणत भएको छ।