
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ मा थामेखोलाको बाढीले पाँच घर बगाएको छ । गत वर्षको बाढीले क्षतविक्षत बनेका थामेका पाँच घर आइतबार राति थामेखोलामा आएको सामान्य बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईले बताए ।
उनका अनुसार मानवीय क्षति भने छैन । ‘गत वर्ष नै क्षति भएका कारण मानिस अन्तै बस्दै आएका थिए । गत वर्ष नै क्षतविक्षत भएका कारण आइतबार राति घरको जग बगाउँदा पाँच घर बगेका हुन्,’ उनले भने, ‘तर, खोलामा ठुलो बाढी भने आएको होइन ।’
खुम्बु पासाङल्हामु गाउँपालिकाले भने सोमबार विज्ञप्ति जारी गर्दै पाँचवटा घर बगाएको र ६ घरमा आंशिक क्षति भएको जनाएको छ । त्यस क्षेत्रमा विद्युत् प्रसारण र सञ्चार सेवाअवरुद्ध भएको प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गत वर्ष थामेखोलामा भीषण बाढी आएको थियो ।