
बागमती प्रदेशमा बागमती प्रज्ञा प्रतिष्ठान र बागमती चलचित्र विकास बोर्ड गठन गर्नुपर्ने मागसहित सांस्कृतिककर्मीहरूको एक समूहले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मागपत्र बुझाएका छन् । सांस्कृतिक महासंघका सभापति तीर्थबहादुर थापा नेतृत्वको टोलीले मंगलबार मुख्यमन्त्री बानियाँलाई भेटी मागपत्र बुझाएको हो ।
मागपत्रमा गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशमा जस्तै बागमती प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्ने उल्लेख छ । नेपाल सांस्कृतिक महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले बागमती प्रदेशमा यहाँको भाषा–साहित्य, ललितकला, संगीत तथा नाट्य विधा समेट्ने गरी ‘बागमती प्रज्ञा प्रतिष्ठान’ गठन गर्न आवश्यक रहेको विषय मुख्यमन्त्रीसमक्ष राखेको बताए।
उनका अनुसार गण्डकीमा गण्डकी प्रज्ञा प्रतिष्ठान, मधेशमा मधेश प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान गठन भैसकेको छ। मुख्यमन्त्री बानियाँले मागपत्र बुझ्दै सांस्कृतिककर्मीहरूले उठाएको विषयमा सकारात्मक रहेको र यस विषयलाई विशेष ध्यान दिने आश्वासन दिएका थिए।