
नेपाल साफ यू–१७ महिला च्याम्पियनसिप उपाधि होडबाट बाहिरिएको छ । भुटानको थिम्पुमा नेपाल बुधबार दुईपटकको विजेता बंगलादेशसँग ४–१ ले पराजित भयो । हारपछि नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । डबल राउन्ड रोबिन लिगअनुसार चलिरहेको यू–१७ साफ च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल लगातार दुई खेलमा पराजित भएको हो । यसअघि पहिलो चरणमा बंगलादेशले ३–० को जित निकालेको थियो ।
नेपालले उपाधि होडको आशा जीवितै राख्न दोस्रो चरणमा बंगलादेशलाई हराउनुपर्ने थियो । तर, नेपाली खेलाडीले महत्वपूर्ण खेलमा खराब प्रदर्शन गर्यो । चाङ्लिमिथाङ रंगशालामा नेपाललाई शीर्ष स्थानमा पुग्न जितको विकल्प थिएन । प्रतिस्पर्धामा बंगलादेशले सुरुवातदेखि नेपालमाथि दबाब बनायो ।
खेलको ३८औँ मिनेटमा एकल प्रयासमा मार्माले बंगलादेशलाई १–० को अग्रता दिलाइन् । बंगलादेशले पहिलो हाफको अन्त्यमा २–० को अग्रता बनायो । यसपटक मानोमी चक्माको क्रसमा डिबक्सभित्रबाट सौरवी अकान्डा प्रीतिले गोल गरिन् । नेपालले पहिलो हाफको इन्जुरी समयमा गोल फर्कायो । बंगलादेशकी डिफेन्डरले डिबक्सभित्र बल क्लियर गर्न नसक्दा कप्तान भूमिका बुढाथोकीले गोल गरिन् । मध्यान्तरअघि बंगलादेश २–१ ले अघि रह्यो ।
बंगलादेशले दोस्रो हाफमा नेपाललाई कुनै मौका दिएन । बंगलादेशले नेपालको कमजोर डिफेन्स र मिडफिल्डको फाइदामा थप दुई गोल गर्यो । खेलको ७१औँ मिनेटमा बंगलादेशले तेस्रो गोल गरेको थियो । मामोनी चक्माको क्रसमा सौरवीले व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । खेलको ८६औँ मिनेटमा पूर्णिमा मार्माको पासमा सौरवीले नै ह्याट्रिक गर्दा बंगलादेश ४–१ ले विजयी भयो ।
चार खेलमा नेपालको ३ अंक
पहिलो राउन्डमा नेपाल पहिलो खेलमै भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली भुटानलाई २–१ ले हरायो । तेस्रो खेलमा बंगलादेशसँग ३–० ले हार्यो । नेपालले चार खेलमा ३ अंक बनाएको छ । बंगलादेशले यसअघि भुटानलाई ३–१ ले हराएको थियो । भारतसँग बंगलादेश २–० ले पराजित भएको थियो । बंगलादेशले ४ खेलमा ९ अंक जोडेको छ ।
प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले सहभागिता जनाएका छन् । डबल राउन्ड रोबिन लिग प्रणालीमा चलिरहेको प्रतियोगितामा प्रत्येक टोलीले एक–अर्कासँग दुई खेल खेल्नेछन् । अंकतालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ ।