
श्री भगवती क्लबले एन्फा यू–१६ युथ लिगमा बुधबार सातदोबाटो युथ क्लबमाथि ६–२ को सानदार जित दर्ता गरेको छ । जितसँगै १५ खेलमा १७ अंक जोडेको श्री भगवती नवौँ स्थानमा उक्लिएको छ । १५ वटै खेलमा पराजित सातदोबाटो अंकविहीन छ । श्री भगवतीलाई जित दिलाउन निशान्त थनेटले दुई गोल गरेका थिए ।
आर्यन भण्डारी, सरुण महतो, सरिन थिङ र दीपेश शाहीले समान एक गोल गरे । सातदोबाटोका लागि सर्जकध्वज थापा र अश्विन पौडेलले गोल फर्काए । खेलको ८७औँ मिनेटमा मुक्सन राईले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि सातदोबाटो १० खेलाडीमा समेटिएको थियो । अर्को खेलमा फ्रेन्ड्सले पुलिसलाई २–१ ले पराजित गर्यो ।