
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको २०२५/२६ को सिजनमा तीन नयाँ क्लबले इन्ट्री पाएका छन् । च्याम्पियन्स लिगमा कजाखस्तानको कैराट, नर्वेको बोडो ग्लिमिट तथा साइप्रसको पाफोस क्लब छनोट भएका हुन् ।
प्ले अफमा सेल्टिक, स्टुम ग्राज तथा क्रेभन पराजित भए । यी क्लब पराजित हुँदा नयाँ क्लबले डेब्यु गर्ने अवसर पाएका हुन् । पाफोस क्लब स्थापना भएको धेरै भएको छैन । मंगलबार राति भएको प्ले अफमा पाफोसले रेड स्टार वेलग्राडेलाई १–१ को बराबरीमा रोक्यो ।
समग्रमा पाफोस ३–२ ले विजयी हुँदै च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा छनोट भएको हो । यसैगरी, बोडो ग्लिमिटले स्टुम ग्राजलाई समग्रमा ६–२ ले हरायो । दोस्रो लेगमा स्टुम ग्राज २–१ ले विजयी भए पनि च्याम्पियन्स लिगमा छनोट भएन । कजाखस्तानको कैराट अल्माटीले युरोपकै अनुभवी क्लब सेल्टिकमाथि सनसनी जित निकाल्यो । पेनाल्टी सुटआउटमा सेल्टिक पराजित भयो । सेल्टिक र कैराटबिच दुवै लेग गोलरहित बराबरीमा सकिएको थियो । सेल्टिकका तीन खेलाडीले पेनाल्टी सुटआउट मिस गरे । सन् २०१५ मा कैराट क्लब स्थापना भएको हो । च्याम्पियन्स लिगमा छनोट हुने कैराट दोस्रो कजाखस्तानी क्लब हो ।
स्थापनाको १५ वर्षमै ठुलो सफलता
साइप्रसको क्लबलाई अहिले चेल्सीका पूर्वखेलाडी डेभिड लुइसले हेरिरहेका छन् । प्रशिक्षक लुइसले साइप्रसको क्लबले च्याम्पियन्स लिगमा इतिहास रचेको बताएका छन् । ‘छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्यौँ । पहिलोपटक च्याम्पियन्स लिगमा स्थान बनाएका छौँ,’ लुइसले भने, ‘यो सफलताले साइप्रसमा पक्कै पनि फुटबल गतिविधि अगाडि बढ्नेछ ।’
यसैगरी, पाफोसले पनि अनुभवी प्रशिक्षकका कारण क्लब च्याम्पियन्स लिगमा पुगेको जनाएको छ । ‘अहिले हाम्रो क्लबलाई युरोपकै एक अनुभवी खेलाडीबाट प्रशिक्षण प्राप्त भएको छ । क्लब स्थापनाको १५ वर्षभित्रै च्याम्पियन्स लिग खेल्न अवसर पाइएको छ,’ पाफोसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लगातार १५ वर्षदेखि आधुनिक फुटबल शैली पछ्याइरहेका छौँ । यसकारण पाफोसले च्याम्पियन्स लिग खेल्न लागेको हो ।’ युरोपियन च्याम्पियन्स लिगको पहिलो चरणका खेल आगामी १६ र १८ सेप्टेम्बरमा हुनेछ ।
‘ड्र’को पोर्ट १ मा पूर्वविजेता
च्याम्पियन्स लिगको प्रारम्भिक ‘ड्र’ सार्वजनिक गरिएको छ । पोर्ट १ मा साबिक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी), रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, लिभरपुल, इन्टरमिलान, चेल्सी, बोरुसिया डर्टमन्ड र बार्सिलोना रहेका छन् ।
यस पोर्टमा रहेका पिएसजीबाहेक अन्य सबै क्लब च्याम्पियन्स लिगका पूर्वविजेता हुन् । यसैगरी, पोर्ट २ मा आर्सनल, बार्यर लेभरकुसन, एट्लेटिको म्याड्रिड, बेनिफिका, एटलान्टा, भिल्लारियल, युभेन्टस, फ्यांकफर्ट तथा क्लब ब्रुगे रहेका छन् । पोट ३ मा पिएसभी, अज्याक्स, नेपोली, स्पोर्टिङ लिस्बन, ओलम्पिकस, स्लाभिया, बोडोग्लिमिट तथा मार्सेली रहेका छन् । पोर्ट ४ मा कोपेनहेगन, मोनाको, गालातासारी, एट्लेटिको, पाफोस, कैराट तथा न्युकास्टल छन् ।