मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
रमेशप्रसाद गौतम
२o८२ भदौ ११ बुधबार o८:४७:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

शिक्षामा स्वरोजगारमूलक सोचको अभाव

Read Time : > 4 मिनेट
रमेशप्रसाद गौतम
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार o८:४७:oo
  • स्वरोजगारमूलक शिक्षाको अभावले गर्दा हाम्रा विद्यार्थीले आफ्नो भविष्य निर्माणका लागि स्वदेशलाई भन्दा विदेशलाई नै रोज्न थालेका छन्

समाजका अब्बल वा सबैभन्दा दिमागदार व्यक्ति शिक्षक वा प्राध्यापक छनोट हुने प्रणाली नअपनाएसम्म शिक्षाको स्तर माथि उठ्न सक्दैन । हामीकहाँ अब्बल व्यक्तिले शिक्षक छनोटमा अवसर पाइरहेकै छैनन् या त्यस्ता व्यक्तिले शिक्षा क्षेत्रमा आउन चाहिरहेकै छैनन् । अन्त कतै नबिकेको जनशक्तिले केही समय अल्झिने ‘पार्ट टाइम’ काम बनेको छ, हाम्रो शिक्षा । यसले गर्दा शिक्षकमाथिको मर्यादा र जनविश्वासमा पनि ह्रास हुँदै आएको छ । गुरुकुल शिक्षामा ज्ञान दिनेलाई गुरु भनिन्थ्यो । अंग्रेजी शिक्षाको आरम्भपछि मास्टर भन्न थालियो । यसरी समयको गतिशीलतासँगै शब्दको अर्थमा अन्तर देखिँदै आयो । हुँदाहुँदा अहिले त त्यही ‘मास्टर’ शब्द शिक्षकलाई होच्याउन प्रयोग गर्न थालिएको छ । अहिले आदरपूर्वक बोल्दा शिक्षालयका अध्यापकलाई शिक्षक भन्ने गरिन्छ । विद्यार्थीले शिक्षकलाई सम्बोधन गर्दा ‘सर’ भन्ने चलन सामान्य भएको छ ।

हुनत केही दशकअघिसम्म शिक्षकलाई नेपाली समाजका सबैभन्दा आदरणीय र बौद्धिक जनशक्तिका रूपमा हेर्ने चलन थियो । शिक्षकबाटै हाम्रा ग्रामीण समाजमा चेतना बढाउने काम पनि भए । ग्रामीण समाजमा एउटा शिक्षकलाई विद्यालयमा तलबका लागि पढाउने कामदार मात्र नठानी उसलाई सबै प्रकारका ज्ञान भएको सर्वज्ञानीका रूपमा समेत हेरिन्थ्यो । अहिले समय बदलियो । अब शिक्षकलाई पहिलेको दृष्टिले हेरिँदैन । पहिले शिक्षण पेसा सेवाभावबाट प्रेरित थियो । त्यसका  कारण शिक्षक आयआर्जनमा भन्दा समाज सेवामा लागिपर्थे र विश्वास पनि त्यही क्रमले बढ्दै गएको थियो । तर, आज शिक्षण पेसा व्यावसायिक पेसामा बदलिएको छ ।

अहिले शिक्षकको सक्रियतामा स्थापित पुस्तकालय र ‘रिडिङ’ केन्द्र कतै देखिँदैनन् । सेवा भावनाबाट खोलिएका पुस्तकालय, अध्ययन केन्द्र पनि सम्हाल्ने मानिसको अभावमा घाँडो साबित हुँदै छन् । नयाँ पुस्ता डिजिटल प्रविधितर्फ आकर्षित हुन थालेपछि, पुस्तकालय वा पुस्तकतर्फको आकर्षण घट्दै जान थालेको छ । यससँगै शिक्षकमा पनि पठन संस्कृति कमजोर हुँदै गएको छ । अझै पनि पुरानै शैलीमा पाठ्यपुस्तकमै मात्र सीमित रही लेखाउने घोकाउने शिक्षण विधि अपनाइँदै छ । विद्यार्थीलाई कक्षाकोठामा पढाउँदा प्रवचन विधि नै बढी अनुसरण गरिएको पाइन्छ । अझ गाउँघरका शिक्षकका लागि त न गतिलो पुस्तकालय छ, न गतिलो पुस्तक पसल नै पाइन्छ । त्यहाँ साइबर प्रविधिको त कुरै छाडौँ ।

यसरी हाम्रा विद्यालयमा जीवन जगत्बारे स्पष्टसँग बुझ्ने र बुझाउने उपायको अभाव खड्किरहेको हुन्छ । हाम्रो शिक्षामा स्वरोजगारमूलक सोचको बिल्कुलै अभाव छ । जसले गर्दा आफ्नो भविष्य निर्माणका लागि हाम्रा विद्यार्थीले स्वदेशलाई भन्दा विदेशलाई नै रोज्न थालेका छन् । विदेश अध्ययनका लागि हालसालै दुई महिनाभित्रैमा निकै ठुलो धनराशी बाहिरिएको खबर सुन्नमा आएको छ । यत्रो धनराशी खर्चिएर विदेश पढ्न गएकाहरू स्वदेश फर्कने कमै मात्र छन् । अमेरिका, क्यानडा अस्ट्रेलिया, जापान, बेलायतजस्ता देशमा नेपालबाट पढ्न गएका युवायुवतीको संख्या अत्यधिक छ । तिनलाई स्वदेश फर्काउने, तिनका लागि उपयुक्त सीपअनुसार रोजगार दिनेतर्फ सरकार कत्ति पनि गम्भीर देखिँदैन । उल्टो सरकार नै श्रम सम्झौता गरेर बचेखुचेका युवालाई समेत रोजगारीका लागि विदेश पठाउन उद्यत् छ । भोलि देशमा आफैँलाई आवश्यक जनशक्ति अभाव हुने जोखिमतर्फ कत्ति पनि ध्यान दिएको देखिँदैन ।

यसरी युवापिँढी विदेशप्रति किन आकर्षित भए, स्वदेशमै बस्न किन चाहेनन् भन्ने विषयमा गम्भीरतापूर्वक सोच्न सरकारका लागि ढिलो भइसकेको छ । देशमा स्थापित महाविद्यालय र विश्वविद्यालय क्रमश: रित्तिँदै गएका छन् । गाउँघर पनि रित्तिँदै जान थालेका छन् । कृषियोग्य जमिन बन्जर बन्दै छन् । जन्मदर पनि घट्दो अवस्थामा छ । स्वदेशमा उत्पादन हुन नसक्दा खाद्य सामग्री विदेशबाट आयात गर्नुपर्ने अवस्था सिर्जना हुँदै छ । एक दिन मात्र भारतबाट सामान नआउँदा यहाँ हाहाकार हुने अवस्था छ । पढेलेखेका युवा निराश बन्दै रोजगारीको खोजीमा बिदेसिने क्रम थपिँदो छ ।

राज्य स्वदेशमै युवा रोजगारीका लागि सचेत देखिँदैन । बरु विप्रेषण भित्रिने र आर्थिक लाभ हुने संकीर्ण सोचमा हाम्रो राज्य अलमलिएको भान हुन्छ । यथार्थमा हाम्रो राजनीति दूरदर्शी बन्न सकेन । यसबारे मिडिया, नागरिक समाज र सर्वसाधारणसमेतको ध्यान केन्द्रित हुन सकेको छैन । आममानिसको भनाइमा राजनीतिक स्थिरता भएन, शिक्षा व्यवस्थित बन्न सकेन । सर्वसुलभ र नि:शुल्क शिक्षा केवल नारामा सीमित रह्यो । सरकारी कार्यालयमा विनाघुस काम हुँदैन । सामान्य काम लिएर जाँदा पनि ठुलाबडाको भनसुनविना यहाँ केही हुँदैन । विश्वविद्यालयमा समेत शैक्षिक प्रमाणपत्र लिन जाँदा होस् वा सामान्य त्रुटिवश सच्याउनुपर्ने कामका लागि पनि लामो अवधिसम्म अलमल्याइन्छ । अन्य सरकारी कार्यालयको त कुरै छाडौँ ।

‘ब्रेन ड्रेन’को समस्या त झनै बढ्दै छ । प्राज्ञिक क्षेत्र र सरकारी सेवामा समेत उत्कृष्ट प्रतिस्पर्धी भेटिन मुस्किल पर्न थालेको छ । यस किसिमको विस्थापनले राजनीतिमा समेत सबल नेतृत्वको खडेरी देखा परिरहेको छ । बचेखुचेका बाँकी युवाजन शक्ति, जो स्वयं विभिन्न आस र त्रासले दलीय राजनीतिको पिछलग्गु बन्दै हिँडेका देखिन्छन् ।

ती युवापिँढी पढी, लेखी योग्य र सक्षम बन्नुभन्दा पनि पार्टीको झन्डा बोकी राजनीतिक नेतृत्वले अराएपराएको काम गर्ने र आफ्नो विवेक बुुद्धि प्रयोग नगर्ने अवस्थामा पुगेको देखिन्छ । मुलुकमा महँगी, भ्रष्टाचार, अराजकता र विद्यमान स्वार्थका लेनदेनको सशक्त विरोध गर्न सक्दैनन् । आफ्ना नेताले गरेको जतिसुकै खराब कामको पनि बचाउ गर्ने र अर्को दलको नेताले गरेकोचाहिँ राम्रै भए पनि विरोध गर्ने मानसिकताबाट युवापिँढी दीक्षित हुँदै गएको छ । 

शिक्षाको माध्यमबाट नै सचेतना ल्याउने हो । सचेत जमातको मौनताले देशको राजनीतिक नेतृत्वमा छाडापन बढ्ने सम्भावना बढी हुन्छ । असल शिक्षाविना नागरिकमा चेतना बढाउन सकिँदैन, तर हाम्रो शिक्षा प्रणाली झन्–झन् डामाडोल अवस्थामा पुगिरहेको छ । शिक्षाको जग कमजोर भएका कारणले गर्दा नै विदेशीले अनुदान प्रदान गरे पनि सार्थक परिणाम आउन सकेको छैन । सार्वजनिक शिक्षा अन्योलपूर्ण अवस्थामा छ भने निजी शिक्षा व्यापारिक भएको छ । बहुसंख्यक जनता गरिब छन् । तिनको पहुँच निजी शिक्षामा त परै जाओस्, सरकारी विद्यालयमा समेत पुगेको छैन ।

पढेर पनि निमुखा र गरिब युवाले रोजगारी पाउँदैनन् । उच्च शिक्षासम्म मुस्किलले पुगे पनि भेदभाव र असमानताले तिनलाई पछाडि नै धकेल्छ । उता सरकारले भने आफ्नो लगानी प्राविधिक शिक्षामा भन्दा साधारण शिक्षामा बढी लगाउने गरेको छ । प्राविधिक शिक्षाविना रोजगार सम्भव छैन । सीपयुक्त व्यावसायिक शिक्षाले स्वरोजगारी सिर्जना गर्छ । यस्तो जनशक्ति नै स्वदेश तथा विदेशका बजारमा खपत हुन सक्छन् । प्राविधिक शिक्षाको जगमा स्वरोजगारी वृद्धि हुन सकेमा एकातिर देशमा उत्पादन वृद्धि हुन्छ, यसबाट निर्यात बढ्छ भने आयात घट्छ अनि अर्कातिर विदेशी रोजगारीबाट आकर्षित भई विदेश पलायन हुने क्रममा पनि कमी आई देशलाई आवश्यक जनशक्ति स्वदेशमै रोकिने वातावरण बन्न सक्छ ।

नेपाल जलस्रोतमा दोस्रो धनी देश त हो नै,  कृषिप्रधान देश पनि हो । हाम्रो देश प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यस्तो अवस्थाको देशले निर्यात गर्नुपर्ने ऊर्जा र कृषि उत्पादन नै हो । तर, हाम्रो देशले आफूसँग भएका वस्तुको उपयोग गर्न नसक्दा उल्टै अभाव झेलिरहेको छ । सरकारले प्राविधिक र प्रयोगात्मक शिक्षामा जोड नदिँदाको परिणाम यस्तो भएको हो ।

नेपाल उद्यमशीलतातर्फ उन्मुख हुन सकेन । हाम्रा विश्वविद्यालयका उत्पादनमा विदेश जाने प्रवृत्ति मौलाउन थाल्यो । हाम्रो शिक्षा प्रणालीले दीक्षित गरेका विद्यार्थीले सिकेका ज्ञानलाई सीपमा र सीपलाई उद्यममा परिणत गर्ने खालको शिक्षा नीति र वातावरण निर्माण हुनै सकेन । परिणामत: उद्यमशील संस्कृतिको विकास भएन । उद्यमशील मानसिकताबाटै व्यक्तिको आत्मविश्वास बढ्ने हो । अनि मात्र उसमा नवीनताको सोच र क्षमता अभिवृद्धि हुने गर्छ । उद्यमशील शिक्षा प्रणाली आज अमेरिका क्यानडा, बेलायतलगायत हरविकसित मुलुकमा प्राथमिकतामा छ । विद्यालय र विश्वविद्यालय तहका विद्यार्थीलाई असल अभ्यास र सिकाइ सक्षम शिक्षक र दक्ष प्राध्यापकविना सम्भव हुँदैन । तदनुरूप पाठ्यक्रम तर्जुमा गरी विद्यालयदेखि विश्वविद्यालयसम्म उद्यमशील शिक्षा लागू गर्न सक्नुपर्छ । देशको औद्योगिकीकरणका लागि चाहिने प्रविधि अन्वेषण गर्नुका साथै उचित प्राविधिक जनशक्ति निर्माण गरिनुपर्छ । हाम्राजस्ता मुलुकले गरिखाने शिक्षामा जोड दिनुपर्छ । अहिलेको साधारण शिक्षाको लगानी घटाएर प्राविधिक शिक्षातर्फको लगानी बढाउनुपर्छ । यसका लागि अहिलेकोजस्तो अन्धाधुन्ध शिक्षण संस्था खोल्न त्यसै अनुमति दिने होइन । 

मुलुकभित्र कुन प्रयोजनमा कति दीक्षित र शिक्षित जनशक्ति चाहिन्छ, त्यहीअनुरूपको योजना तय गरिनुपर्छ । राज्यले प्राविधिक शिक्षामा मध्यम, निम्नमध्यम र मजदुर वर्गको पहुँच बढाउन विशेष कार्यक्रम तर्जुमा गर्नुपर्छ । प्रमाणपत्र बोकेर भौँतारिएर हिँड्ने जनशक्तिको साटो कर्मशील उत्पादनमूलक जनशक्ति नै आजको खाँचो हो । सरकारले तदनुसार शिक्षा ऐन–नियम निर्माण गरी शिक्षालाई बेरोजगारीको पहाड नबनाई स्वरोजगारमूलक सोचउन्मुख बनाओस् ।

(गौतम शिक्षाविद् हुन्)