
वीरगन्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या घट्न थालेको छ । आइतबार २९ र सोमबार २२ जनामा हैजा देखिए पनि मंगलबार २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । तथ्यांकअनुसार विभिन्न अस्पतालमा झाडापखालाका नयाँ बिरामीको संख्या केही मात्रामा बढे पनि हैजा संक्रमण पुष्टि हुनेको संख्या घटेको छ ।
वीरगन्जमा ४२२ जना झाडापखालाबाट संक्रमित भएकोमा तीमध्ये अस्पतालमा उपचारपछि निको भएर २२३ जना घर फर्किसकेको उनले बताए । मंगलबार मात्रै ५२ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए । हाल विभिन्न अस्पतालमा गरी १९९ जना उपचाररत रहेको भन्दै उनले आइसियूमा उपचाररत बिरामीको संख्या ३१ मात्रै रहेको जानकारी दिए ।
गत शुक्रबारदेखि मंगलबार साँझ ६ बजेसम्म वीरगन्जमा ११४ जनामा हैजाको संक्रमण पुष्टि भएको ठाकुरको भनाइ छ । उनका अनुसार हालसम्म नारायणी अस्पतालमा सबैभन्दा बढी ४३, तराई हस्पिटलमा ३८, नेसनल मेकिडल कलेजमा १५ तथा भवानी अस्पताल, वीरगन्ज हेल्थकेयर हस्पिटल र मंगलम् प्याथोलोजीमा तीन–तीनजनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, अलिअर्थो अस्पताल र एडभान्स मेडिकेयर हस्पिटलमा दुई–दुईजना तथा नारायणी सेन्ट्रल हस्पिटल, नेपाल इन्डो हपस्टिल, नीलकण्ठ हस्पिटल, सर्वोत्तम अस्पताल र नेपाल मेडिसिटी बयोधा अस्पतालमा एक–एकजनामा हैजाको संक्रमण पुष्टि भएको छ । ठाकुरका अनुसार मंगलबार अस्पतालमा झाडापखालाका ९३ जना नयाँ बिरामी उपचारका लागि भर्ना भएका थिए । सोमबार ६२ जना नयाँ बिरामी भर्ना भएका थिए ।
वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत झाडापखालाका बिरामीको दिसाको कल्चर टेस्ट (परीक्षण)मा पनि हैजा नै पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका ३२ नमुना परीक्षणमध्ये २५ वटामा हैजा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए । उनका अनुसार ३२ वटा नमुना ‘कल्चर’ परीक्षणका लागि देशका विभिन्न प्रयोगशालामा पठाइएको थियो । तीमध्येबाट २५ वटामा हैजा पजिटिभ आएको छ । सातवटाको रिपोर्ट आउन बाँकी छ ।
मधेश प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयको टोलीले वीरगन्जका दुई नारायणी अस्पताल र तराई हस्पिटलबाट कुल ३२ जना बिरामीको दिसाको नमुना संकलन गरेको थियो । तीमध्ये २२ वटा नमुना जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा र १० वटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा पठाइएको थियो । टेकु प्रयोगशालाका चिकित्सा प्राविधिकका अनुसार परीक्षणमा आएका १० मध्ये आठवटा नमुनामा हैजा पजिटिभ देखिएको छ ।