मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 27 August, 2025
प्रेम गौतम काठमाडाैं
Invalid date format o६:५६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५६:oo

विद्याको पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा फरक प्रतिवेदन पेस गर्ने तयारी

विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले १३ भदौका लागि तय गरेको केन्द्रीय कमिटी बैठक अचानक अनिश्चितकालका लागि स्थगित गरेको छ । एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा हुँदै छ र यही वेला पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण र उनको सक्रियतालाई लिएर पार्टीभित्र हलचल छ ।

केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकमा विद्याको सदस्यता नवीकरण र सक्रियतालाई लिएर नेताहरू विभाजित देखिएका थिए । यही सन्दर्भमा अचानक अनिश्चितकालका लागि केन्द्रीय कमिटी बैठक स्थगन गर्नुलाई एमालेभित्र अन्तरकलहको उपजका रूपमासमेत हेरिएको छ । विद्याको सक्रियता र ‘गुट’ निर्माण बढ्दै जाँदा अध्यक्ष ओलीमाथि दबाब बढ्दो छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र चाँडै बैठकको अर्को मिति तय हुने बताए । ‘तयारी नपुगेका कारण बैठक स्थगित भएको हो, आवश्यक तयारीपछि अर्को मिति तोकिन्छ,’ उनले भने । खास गरेर विधान संशोधन प्रस्तावमा सुझाव आउने क्रम जारी रहेकाले बैठक स्थगित गर्नुपरेको गौतमको दाबी छ । 

बैठकमा अध्यक्ष ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्तावको मस्यौदा प्रस्तुत गर्ने तयारी छ । सुझावलाई समेटेर केन्द्रीय कमिटीमा प्रतिवेदन पेस गर्ने र केन्द्रीय कमिटीबाट पारित गरेर विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । 

यसअघि गत ५ र ६ साउनमा बसेको केन्द्रीय कमिटी बैठकले सुझावका लागि विधान संशोधन प्रस्ताव तल्ला कमिटीमा पठाउने निर्णय गरेको थियो । ७० वर्ष उमेर हद र कार्यकालको सीमा बढाएर तेस्रोपटक ओलीलाई अध्यक्ष बन्न सहज हुने गरी विधान संशोधन प्रस्ताव तयार भएको छ ।

पूर्वराष्ट्रपति विद्याको सदस्यता नवीकरण गर्ने कि नगर्ने भन्ने विषयमा एमालेमा विवाद छ । गत केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । एजेन्डाविना नै मौखिक प्रस्तावको रूपमा निर्णय भएको भन्दै उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी समिति सदस्य कर्ण थापाले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । तर, तल्ला तहमा विधान संशोधन प्रस्ताव सुझावका लागि पठाउँदा आफ्नो ‘नोट अफ डिसेन्ट’ नपठाइएको भन्दै पाण्डे र ज्ञवालीले पार्टी कार्यालयमा निवेदन नै दिएका थिए ।

उनीहरूले पूर्वराष्ट्रपति विद्या एमालेको पूर्वउपाध्यक्ष भइरहेको उल्लेख गर्दै पार्टीले नै निर्णय गरेर राष्ट्रपति भएकाले कार्यकाल सकिएपछि राजनीतिमा फर्किन पाउने दाबी गरेका छन् ।  संविधान र पार्टी विधानले नरोकेको विषयमा पार्टीले रोक्नु उचित नहुने उनीहरूको दाबी छ ।

विद्याको पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा फरक प्रतिवेदन पेस गर्ने तयारी गरेको एक नेताले बताए । एमालेले सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि भण्डारी थापागाउँमा सम्पर्क कार्यालय स्थापना गरेर राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छिन् । 

विद्याबारे ओलीका दुई बोली

६ असोज ०८० मा एक टेलिभिजन अन्तर्वार्तामा : राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउन पाइन्छ

सामाजिक क्रियाकलापमा सक्रिय हुनुस् या पोलिटिकल कार्यमा सक्रिय हुनुस् । हुनुहुँदैन भन्ने बेकारको कुरा हो । पोल्टिक्समा आउनुहुँदैन भन्ने पनि बेकारको कुरा हो । पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ । अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । अर्को पार्टी कसको, के गर्छ, कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ । समाजसेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो । उसको च्वाइसको कुरा भयो । उहाँ एमाले पार्टी अध्यक्ष पनि बन्न सक्नुहुन्छ, प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ । फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो । म अधिकारको कुरा गर्दै छु । राष्ट्रपति भएका वेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनुहुँदैन, निष्पक्ष हुनुपर्छ भन्ने मात्र हो । राष्ट्रपति नभएका वेला, राष्ट्रपति हुनुभन्दा पहिला पनि राजनीतिमा हुन सक्छ । राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउन सक्छ । विभिन्न देशमा कार्यकारी प्रमुख पनि भएका छन्, राष्ट्रपति पनि भएका छन् ।

गत ७ भदौ ०८२ मा पार्टी केन्द्रीय कार्यालयमा : छाडेको सदस्यता नवीकरण हुँदैन
उहाँ (विद्या)लाई दुईपटक पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पना गरिएको थिएन । उहाँ आएर पार्टीमा सहयोग गरेर एकतामा बल पुर्‍याउनुपर्ने हो । तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीका पक्षमा कहिल्यै नबोल्ने र पार्टी–जनसंगठनमा चुनाव–सुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ । राष्ट्रपति हुने वेला उहाँले सदस्यता परित्याग गर्नुभएको हो । सदस्यता छोडेर नै राष्ट्रपति हुन जानुभएको हो । फर्किएर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर उहाँले रसिद लिनुभयो । राष्ट्रपति भएको मान्छे होला भनेर कर्मचारीले त काटिदिन्छ । तपाईंहरू सबैलाई थाहा छ– छाडेको सदस्यता नवीकरण हुँदैन । भइरहेको सदस्यता मात्र नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?