
खानेपानीको मुहान पहिरोले पुरिएपछि संखुवासभाको सदरमुकाम खाँदबारीमा पानी आपूर्ति बन्द भएको छ।
जिल्लाको खाँदबारी नगरपालिका–४ महभिरस्थित खानेपानी मुहानमा गत साउन २५ गतेदेखि सामान्य रूपमा पहिरो खस्दै आएको र भदौ ५ गते ठुलो पहिरोले मुहानको इन्टेक पुरेपछि समस्या भएको खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले बताए। उनका अनुसार पहिरोका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी वितरण ठप्प भएको छ।
भदौ ५ गते पुरिएको इन्टेक तत्कालै सफा गरिए पनि पहिरोले ठुलो मात्रामा ल्याएको हिलो र फोहोर अझै हटाउन नसकिएको कारण वितरण सुरु गर्न नसकिएको अध्यक्ष बरालको भनाइ छ।
खाँदबारी बजारमा करिब एक हजार बढी खानेपानी प्रयोगकर्ता छन्। दैनिक करिब १० लाख लिटर पानी आवश्यक पर्नेमा आपूर्ति ठप्प भएपछि स्थानीयवासी पुराना कुवा र धारामा निर्भर हुन बाध्य भएका छन्।
लगातारको वर्षा र पहिरोका कारण नियमित मर्मतसम्भारमा पनि कठिनाइ भएको बताउँदै अध्यक्ष बरालले तत्काल मर्मत गरी पुनः खानेपानी सहज बनाइने बताए। उपभोक्ता संस्थाका कोषाध्यक्ष इन्द्र गिरीले मुहान पहिरोले पुरिएपछि वैकल्पिक रूपमा अर्को मुहानबाट खानेपानी खुवाउने योजनामा रहेको बताए।
यता खाँदबारीवासीले खानेपानी नियमित नहुँदा समस्या झेल्नुपरेको बताएका छन्। नियमित खानेपानी नहुँदा दैनिक जीवन अस्तव्यस्त बनेको उनीहरूको गुनासो छ। बिहान बेलुकी पुराना कुवामा भिड लाग्न थालेको छ। विद्यालय र होटेल व्यवसायसमेत प्रभावित भएका छन्।