
घरको आँगनमा राखिएको पिङ खेल्ने क्रममा लडेका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।
शनिबार दिउँसो सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका– ३, बोहोरेटार घर भई रामेछापको खाँडादेवी गाउँपालिका– ८ धुलेबेँसीमा आमा कल्पना श्रेष्ठसँग मामाघर आएका ६ वर्षका उज्ज्वल श्रेष्ठ मामाघरको आँगनमा पिङ खेल्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए।
घाइते श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका लागि तत्काल काभ्रेस्थित धुलिखेल अस्पताल लगिएको थियो। धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना गरिएका बालकको टाउकोमा गम्भीर चोट लागेर रगत जमेको भनेपछि थप उपचारका लागि काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा रिफर गरिएको थियो।
धुलिखेल अस्पतालका चिकित्सकले बाँसबारी रिफर गरेसँगै बालकका अभिभावकले तत्काल न्युरो अस्पताल पुर्याएर उपचार गराउँदागराउँदै आइतबार राति बालकको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए।