
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ ‘सेमिनार अन कोशी लिडरसिप : इन्स्पाएरिङ पर्फर्मेन्स एन्ड अचिभिङ एक्सिलेन्स’ कार्यक्रम आयोजना गरेको छ ।
सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो ।
सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेशबिच सहकार्य सुदृढ गर्ने विषयमा अन्तर्क्रिया गरिएको छ ।
हालै मधेश र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरतास्वरूप कोशी प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको छ र अन्य प्रदेशहरूमा पनि यसै गरी क्रमशः आयोजना गरिने बताइएको छ ।
कोशीकेन्द्रित भएको यो कार्यक्रमजस्तै अन्य प्रदेशमा पनि प्रदेशस्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानीजस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
समीक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यसअघि ०८०/८१ को असार मसान्तमा यो रकम एक खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो ।
निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल दुई खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ ।
यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद ब्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख ३० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।