मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 24 August, 2025
Invalid date format १६:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानका प्राविधिक शिक्षालय बन्द हुने अवस्थामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

विगतमा विद्यार्थीदेखि अभिभावकसम्मको चासो र छनाेटको विषय हुने गर्थ्याे प्राविधिक शिक्षा। तर, पछिल्लो समय प्राविधिक शिक्षा पढेर पनि बेरोजगार बन्नुपर्ने, प्लस टु पास गर्नेबित्तिकै विदेश पलायन हुनेजस्ता कारण प्राविधिक धारका विद्यालयले विद्यार्थी पाउन मुस्किल हुन थालेको छ।

जिल्लामै प्राविधिक शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा आएका सल्यानका प्राविधिक धारका कक्षाहरू बन्द हुने अवस्थामा पुगेका छन्। जिल्लामा सिटिइभिटी, आंगिक तथा विभागीय मान्यताप्राप्त  र एक निजीसहित १६ वटा प्राविधिक धारका कक्षा–शिक्षालय सञ्चालनमा छन्। तर, विद्यार्थी अभावका कारण केही धारहरू बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन्। सिटिइभिटीबाट मान्यता पाएका पाँच विद्यालयमा त विद्यार्थी भर्ना नै नभएर पठनपाठन रोकिएको छ।

विद्यार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यले ०७५ सालमा  स्थापना भएको नेत्रलाल बहुप्राविधिक शिक्षालयले विद्यार्थी पाउन सकिरहेको छैन। सिटिइभिटीको आंगिक शिक्षालयका रूपमा स्थापना भएको यस संस्थामा सुरुका वर्षहरूमा बाहिरी जिल्लाबाट पनि विद्यार्थी अध्ययन गर्न आउने गरेको भए पनि  पछिल्ला दुई वर्षमा विद्यार्थी संख्या घटेको नेत्रलाल बहुप्राविधिक शिक्षालयका प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए।

सिभिल इन्जिनियरिङ र भेटेरेनरीमा ४८–४८ जनाको कोटा रहे पनि यस वर्ष सिभिल इन्जिनियरिङमा १९ जना र भेटेरेनरीमा १६ जनाले मात्र आवेदन दिएका छन्। भर्ना अभियान चलाइए पनि विद्यार्थी पाउन नसकेको उनको भनाइ छ। उनले भने, ‘पछिल्लो समय प्लटु अध्ययनपछि विदेश जाने ट्रेन्ड बढेकाले पनि विद्यार्थी पाउन मुस्किल भइरहेको छ।’

०६९ सालदेखि सिटिइभिटीबाट सम्बन्धन लिई तीनवर्षे डिप्लोमाअन्तर्गत आइएस्सी एजी, वन विज्ञान, कृषि जेटिए र भेटेरेनरी जेटिए कार्यक्रम सञ्चालन गरिरहेको शारदा नगरपालिका– १ शिवजन मावि शीतलपाटीको अवस्था पनि उस्तै छ।  विद्यार्थी नपाएकाले दुई वर्षयता तीनवर्षे कार्यक्रम बन्द गरिएको शिवजन माविकी प्रधानाध्यापक जीवनकुमारी रावतको भनाइ छ। विद्यार्थीलाई काउन्सिलिङ र अभिभावकहरूलाई भिजिट गराउँदासमेत कोटाअनुसारको विद्यार्थी पाउन नसकिएको उनले बताइन्।

यस वर्ष १८ महिने कृषि जेटिएमा १९ र भेटेरेनरी जेटिएमा ११ जनाले मात्र आवेदन दिएका छन्। सिटिइभिटीअन्तर्गत बालीविज्ञान र पशुविज्ञान कार्यक्रम चलाएको शारदा मावि शंखमूलले पनि दुई वर्षदेखि भर्ना लिन सकेको छैन। रोल्पा, रुकुम, जाजरकोटलगायतका जिल्लामा पुग्दासमेत विद्यार्थी पाउन नसकेको प्रधानाध्यापक जितबहादुर भण्डारीले बताए।

सल्यानमा सञ्चालनमा रहेका १६ प्राविधिक धारमध्ये आठवटा कक्षा नाैदेखि १२ सम्मका छन्। जसलाई शिक्षा विभागले मान्यता दिएको छ। बाँकी ६ विद्यालय सिटिइभिटीको सम्बन्धन प्राप्त हुन्।

यीमध्ये पाँच विद्यालयमा विद्यार्थी अभावका कारण पठनपाठन बन्द छ। यस्तै, सिटिइभिटीअन्तर्गतको एक निजी र एक आंगिक शिक्षालयमा पनि विद्यार्थी पाउन मुस्किल छ। शिक्षा विभागअन्तर्गतका कक्षा ११–१२ का धारहरूसमेत विद्यार्थी संख्या घट्दो क्रममा छ।