मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
Invalid date format १६:५१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रचारप्रसारको अभावमा ओझेलमा सिद्धिडाँडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

हिमाली जिल्ला ताप्लेजुङ पर्यटकीय दृष्टिकोणले भरिपूर्ण छ । यहाँ दर्जनौँ रमणीय स्थलहरू छन् । तर, उचित प्रचारप्रसारको अभावमा धेरै गन्तव्यहरू ओझेलमा परिरहेका छन् । यस्तैमध्येको एक आकर्षक स्थल हो– सिद्धिडाँडा ।
जिल्ला सदरमुकाम फुङलिङबाट मात्र डेढ किलोमिटर दूरीमा रहेको सिद्धिडाँडा प्रकृतिको काखमा अवस्थित एक अनुपम पर्यटकीय स्थल हो । तर, यसको पर्यटन प्रवर्द्धन अझै हुन सकेको छैन ।

सिद्धिडाँडाको केन्द्रमा रहेको पोखरीबाट निरन्तर बगिरहने पाँचवटा धारा, नजिकैको शिव मन्दिर, महाबौद्ध ठिसुङ गुम्बा, अनि वरिपरिको अलैँची बगान यहाँका प्रमुख आकर्षण हुन् । बजारनजिकैको गाउँले परिवेश, स्वच्छ हावापानी र धार्मिक सहिष्णुताको संगमले यो स्थानलाई विशिष्ट बनाएको छ ।

स्थानीय बासिन्दा छत्र गुरुङ भन्छन्, ‘महाबौद्ध गुम्बा र चण्डेश्वर महादेवधाम एउटै स्थानमा हुनु धार्मिक सहिष्णुताको प्रतीक हो । यहाँ पुग्दा प्राकृतिक शान्ति र आध्यात्मिक ऊर्जा दुवैको अनुभव हुन्छ । सिद्धिडाँडा प्रवेश गरेलगत्तै दायाँबायाँ पोखरीहरू देखिन्छन् र तीमध्ये एउटाको बिचमा हिमालजस्तो देखिने ठुलो ढुंगा छ, जसको टुप्पोबाट पानी निस्किरहन्छ ।’ स्थानीय शिव गिरी भन्छन्, ‘यो कृत्रिम भए पनि अत्यन्त प्राकृतिक लाग्ने दृश्य हो । सपरिवारसँग छोटो घुमफिरको लागि उपयुक्त गन्तव्य हो।’ 

सिद्धिडाँडाको माथिल्लो भागमा पुग्न करिब ५० मिटर उकालो हिँड्नुपर्छ, जहाँ मन्दिर र गुम्बा छन् । यहाँ थप तीनवटा स–साना पोखरी पनि छन् । बस्न र विश्राम गर्नका लागि फलामको चौतारासमेत निर्माण गरिएको छ । यो रमणीय स्थल फुङलिङ नगरपालिका– ९ मा पर्छ, जहाँ गुरुङ समुदायको बाक्लो बसोबास छ ।

फुङलिङ बजारबाट गाडीमा १५ मिनेट र पैदल करिब आधा घण्टा लाग्ने यो स्थानसम्म कच्ची सडक पुगेको छ, तर नियमित सवारी सुविधा छैन । यही कारणले पर्यटकीय सम्भावना हुँदाहुँदै पनि सिद्धिडाँडा ओझेलमा परेको स्थानीयको गुनासो छ ।

विकासतर्फ चासो, पूर्वाधार विस्तार हुँदै

हालैका वर्षहरूमा विभिन्न सरोकारवाला निकायले सिद्धिडाँडाको पर्यटन विकासमा चासो देखाउन थालेका छन् । गत चालू आर्थिक वर्षमा वडाको बजेटबाट विभिन्न निर्माणका काम गरिएको छ । साथै, नेपाल पर्यटन बोर्ड र जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन एकाइ विराटनगरबाट पोखरी संरक्षण र भौतिक पूर्वाधार निर्माणका लागि सहयोग भएको छ । 

वडाध्यक्ष लक्षुमन गुरुङ भन्छन्, ‘हामीले मन्दिर परिसरमा पूर्वाधार निर्माणलाई निरन्तरता दिएका छौँ । तर, सबैभन्दा ठुलो समस्या भनेकै बाटो भए पनि अहिले बाटोसमेत पिच हुन थालेपछि यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुने आशामा हामीहरू रहेका छौँ ।’  उनका अनुसार यदि सडक कालोपत्रे भए सँगै पाथीभरा र कञ्चनजंघाजस्ता प्रमुख गन्तव्य घुम्न आउने पर्यटकहरू पनि सिद्धिडाँडा पुग्न सक्नेछन् ।

वडाध्यक्ष गुरुङ भन्छन्, ‘हामी यो क्षेत्रलाई विभिन्न तरिकाबाट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग निरन्तर पहल गरिरहेका छौँ ।’