
जापान सरकारले हालै सार्वजनिक गरेको वार्षिक रक्षा श्वेतपत्र ‘जापानको रक्षा २०२५’ देशलाई सैन्यीकरण गर्न जापानले प्रयोग गरिरहेको चलाखीपूर्ण चाल हुन सक्छ । तर, अभूतपूर्व र विशेषगरी चिन्ताजनकचाहिँ प्राथमिक विद्यालयका विद्यार्थीका लागि २०२४ को रक्षा श्वेतपत्रमा आधारित पुस्तिका सार्वजनिक गरेको विषय हो । लगभग ६१ सय प्रति यस्ता पुस्तिका जापानभरका लगभग २४ सय प्राथमिक विद्यालयमा पठाइएको छ ।
उच्च प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित यो प्रकाशनले सैन्य नीति र भूराजनीतिक गतिशीलतालाई अति सरल र भावनात्मक रूपमा प्रस्तुत गरेको छ । यसले राष्ट्रको रक्षालाई अस्तित्वगत जरुरी विषय र सैन्य शक्तिलाई जापानका लागि अन्तिम सुरक्षाको रूपमा वर्गीकृत गर्छ । देशको संविधानमा शान्तिवाद निहित भएकाले यो विशेषगरी स्तब्ध पार्ने विषय हो ।
त्यसो त रंगीन चित्रण र मस्कट मिसाएर बनाइएको यो पुस्तिका एक हिसाबले हानिरहित नै देखिन्छ । तर, यसको सन्देश धेरै हदसम्म सौम्य छैन । छिमेकी देश– चीन, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र रुसलाई खतराका रूपमा उद्धृत गरेर तथा जापानलाई शत्रुतापूर्ण क्षेत्रमा एक्लो ‘गार्ड’का रूपमा चित्रण गरेर पुस्तिकाले युवा पाठकलाई खतरनाक सन्देश पठाउँछ– आफ्ना छिमेकीलाई त्रसित बनाऊ र सेनामाथि विश्वास गर ।
बालबालिकालाई राष्ट्रिय रक्षाको महत्व सिकाउनु एउटा कुरा हो, उनीहरूमा चिन्ता र शत्रुताले आकार दिएको विश्वदृष्टिकोण निर्माण गर्नु अर्को पक्ष हो । शिक्षाशास्त्रको आवरणमा राजनीतिबाट प्रभावित जापानको यस नयाँ दृष्टिकोणले शिक्षाबाट हुने प्रोपोगान्डामा एक समस्याग्रस्त परिवर्तनलाई प्रतिनिधित्व गर्छ । पुस्तिकाले रुस–युक्रेन द्वन्द्वलाई व्याख्या गर्ने ढाँचा पनि उत्तिकै चिन्ताजनक छ । द्वन्द्वको जटिल राजनीतिक र ऐतिहासिक जराहरूको अन्वेषण गर्नुको सट्टा यसले एकल सन्देश पठाउँछ– युक्रेनसँग मजबुत सैन्य बलको अभाव छ र उसले अहिले मूल्य चुकाइरहेको छ ।
सैन्यवादी विश्वदृष्टिकोणले दोहोरो सोचलाई प्रश्रय दिन्छ, हामीविरुद्ध तिनीहरू, अनि बलियोविरुद्ध कमजोर । यसले विद्यार्थी पुस्तामाझ अन्तर्राष्ट्रिय सम्बन्धलाई पारस्परिक समझदारी निर्माण गर्ने तरिकाका रूपमा नभई बलको प्रतिस्पर्धाका रूपमा हेर्न सिकाउँछ । तसर्थ, यसले एक राष्ट्रवादी कथालाई पक्षपोषण गर्छ, जसले ‘पूर्ण रूपमा रक्षात्मक कवच’को लामो समयदेखिको सिद्धान्तबाट जापानको प्रस्थानलाई वैध बनाउँछ ।
पुस्तिकाले जापानको ‘प्रत्याक्रमण क्षमता’लाई प्रवद्र्धन गर्छ, जुन देशको युद्धपछिको शान्तिवादी मान्यताबाट एक महत्वपूर्ण ‘ब्रेक’ हो । जापानको संविधानले युद्ध त्यागे पनि उक्त प्रकाशनले आक्रामक नीतिलाई बिग्रँदो सुरक्षा वातावरणका लागि आवश्यक प्रतिक्रियाका रूपमा प्रस्तुत गरेको देखिन्छ । यसको लक्ष्य स्पष्ट छ, बालबालिकालाई जापानको ‘बलियो सेना निर्माण गर्ने आवश्यकता’सँग परिचित गराउनु र यसको पक्षमा जनमतलाई आकार दिनु । पुस्तिकाको कथात्मक संरचना कथित खतराको स्थिर वृद्धिमा आधारित छ । यसले जापान एक खतरनाक छिमेकीको हिस्सा भएको दाबी गर्छ, जुन आणविक हतियारधारी देशले घेरिएको छ र उसले प्रतिरोधलाई एक मात्र तर्कसंगत विकल्पका रूपमा राख्छ ।
विभिन्न देशबिचको शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय सहयोग वा ऐतिहासिक सन्दर्भमा भएका कुनै पनि छलफल पुस्तिकामा उल्लेख छैन । पूर्वी एसियाको सुरक्षा परिदृश्यलाई आकार दिने जापानको आफ्नै सैन्यवादी विगत वा यसको जिम्मेवारीको कुनै उल्लेख छैन, जसको अर्थ यसले इतिहासलाई पूर्ण रूपमा बेवास्ता गर्छ ।
आलोचनात्मक सोच अझै विकसित भइरहेका बालबालिकामा लक्षित यस प्रकारको सन्देशका दीर्घकालीन असर छन् । यसले युवा दिमागमा पीडा र शंकाको भावना जगाउने जोखिम राख्छ, जब कि उनीहरूलाई बाहिरी संसारबारे आफ्नै विचारले हेर्न र दृष्टिकोण बनाउनबाट निरुत्साहित गर्छ । विनाअवरोध छोडियो भने यसले सैन्यवादलाई स्वागत गर्ने र बाह्य देशलाई अविश्वासको नजरले हेर्ने पुस्ता निर्माण गर्न सक्छ । राजनीतिक समयलाई बेवास्ता गर्न गाह्रो छ । यो वर्ष जापानी आक्रामकताविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध (१९३१–४५) र विश्व तानाशाहविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सव हो, जुन गम्भीर चिन्तनका लागि एक अवसर हुनुपर्छ । बरु, जापान सरकारले १९३० को दशकमा देशलाई विनाशकारी बाटोमा डोर्याएको विचारधारालाई पुनर्जीवित गरिरहेको देखिन्छ ।
जापानले हालैका वर्षमा आफ्नो ऐतिहासिक घटनाक्रमलाई परिमार्जन गर्दै तथा पाठ्यपुस्तकमा युद्धकालीन आक्रमण र अत्याचारको विवरणलाई नरम पार्दै र युद्धकालीन विगतको अस्पष्ट आधिकारिक विवरण प्रस्तुत गर्दै आएको छ ।
विद्यालय खुला विचार, सहानुभूति र आलोचनात्मक तर्कका लागि ज्ञानको केन्द्र हुनुपर्छ, वैचारिक अभियानका लागि युद्धभूमि होइन । जब सरकारले खतराको कथालाई विस्तार गर्न शिक्षा प्रयोग गर्छन्, त्यसले मूल्य र मान्यतालाई कमजोर बनाउँछ ।
यसबाहेक, यो पुस्तिका ढाकछोप गरिएको एक सैन्य भर्ती रणनीति पनि हो । जापानको आत्मरक्षा बलहरू (एसडिएफ) ले भर्ती लक्ष्य पूरा गर्न संघर्ष गरिरहेको वेला, यो पुस्तिका बालबालिकालाई ठुला भएपछि एसडिएफमा सामेल हुन प्रेरित गर्न डिजाइन गरिएको देखिन्छ । दैनिक जीवनमा सेनाको उपस्थितिलाई सामान्य बनाउन पुस्तिकामा सैनिकलाई महान्, सैन्य जीवनलाई सम्मानजनक र रोमाञ्चक रूपमा चित्रण गरिएको छ ।
(योंग चाइनिज एकेडेमी अफ सोसल साइन्सेसको इन्स्टिच्युट अफ जापानिज स्टडिजका रिसर्च फेलो हुन्)
चाइना डेलीबाट