मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
२o८२ भदौ ५ बिहीबार १o:२३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्थानीयको विरोधपछि गेटाको आकस्मिक कक्ष उद्घाटन रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १o:२३:oo

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कैलालीको गेटा अस्पतालको आकस्मिक कक्ष उद्घाटन गर्ने कार्यक्रम स्थानीयले विरोध गरेपछि रोकिएको छ । मन्त्री पौडेलले बुधबार दिउँसो १ बजे अस्पतालको आकस्मिक कक्ष उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

तर, मन्त्री काठमाडौंबाट धनगढी आइनपुग्दै स्थानीयले गेटा पुगेर विरोध सुरु गरेका थिए । गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठन भएको संघर्ष समितिले गेटा अस्पतालबाहिर गेटमा प्रदर्शन र कोणसभा गरेको हो ।

६ सय शय्याको अस्पताल सञ्चालन गर्न निर्माण गरिएका संरचनामा सरकारले ५० शय्यामा सीमित गरेको र त्यसमा पनि जनशक्ति अभाव रहेको अवस्थामा १० शय्याको आकस्मिक कक्ष उद्घाटन गर्न लागिएको भन्दै समितिले विरोध गरेको हो । स्थानीय विरोधमा उत्रिएपछि मन्त्री पौडेल गेटामा गएनन्, आकस्मिक कक्ष उद्घाटन कार्यक्रम स्थगित गरियो । 

६ सय शय्याको अस्पताल सञ्चालन गर्ने भनेर संरचना निर्माण भएका ठाउँमा १० शय्याको आकस्मिक कक्ष उद्घाटन गर्न मन्त्री आउनु लाजमर्दो भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले बताए ।

विश्वविद्यालयको ऐन आए पनि सरकारले विश्वविद्यालय सञ्चालनको कुनै तयारी नगरेका कारण विरोध गर्नुपरेको उनले बताए । गेटा अस्पतालका निर्देशक डा. प्रदीपकुमार यादवले स्थानीयले कालोझन्डा देखाउने र विरोध प्रदर्शन गर्ने भनेपछि उद्घाटन कार्यक्रम रद्द गरिएको बताए ।

मन्त्री पौडेल डडेल्धुरामा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आकस्मिक कक्षको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको अस्पताल प्रशासनले तयारी गरेको थियो ।

‘मन्त्रीज्यूलाई आकस्मिक कक्षको उद्घाटनसँगै अस्पतालको निरीक्षण गराउन खोजेका थियौँ, हामीले केही सेवा थप गरेका छौँ,’ यादवले भने, ‘अस्पतालमा बजेटको कमी छ, दरबन्दीअनुसार जनशक्ति छैन । मन्त्रीलाई यी विषयमा पनि जानकारी गराउने कुरा थियो ।