
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस–एमाले गठबन्धन सरकार आफूप्रति अनुदार बनेको गुनासो गरेका छन् । बुधबार साँझ आफूलाई भेट्न नक्खु कारागार पुगेका प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रविले उस्तै प्रकृतिका छानबिनमा सरकारले दोहोरो मापदण्ड अपनाएको बताएका हुन् ।
प्रचण्डका अनुसार रविले बिगो बुझाएर बाहिरबाटै मुद्दा लड्नसमेत नदिइएको तथा आफूभन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिएर आफूलाई मात्रै खेद्ने काम भएको बताएका थिए । ‘मेरैजस्तो केसमा अरूले उन्मुक्ति पाएका छन्, मेरोभन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिइएको छ । मलाई मात्रै लखेटियो । अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेर मुद्दा लड्छु भन्दा पनि सुविधा पाइनँ,’ रविको भनाइ उद्धृत गर्दै प्रचण्डले भने ।
प्रचण्डले भैरहवा नै गएर भेट्न चाहे पनि समय नमिलेको र अहिले भेट्न आएको बताए । रवि आफू प्रधानमन्त्री हुँदा दुईपटक गृहमन्त्री भएको भन्दै अभिभावकको हिसाबले भेटेकोसमेत बताए । रवि पहिलाको भन्दा दुब्लाएको पाएको प्रचण्डको भनाइ छ । उनी बिरामी भएको खबर सुनेपछि भेट्न आएको पनि प्रचण्डले बताए ।
भैरहवा कारागारको भन्दा नक्खुमा बसाइ राम्रो रहेको रविले बताएका थिए । ‘म अहिले ठिक छु, रुपन्देहीमा बस्दा कोठाबाहिर बस्न दिइएन । कालकोठरीमा बसेजस्तो भयो । त्यसक्रममा अस्वस्थ भएको रहेछु,’ प्रचण्डले रविको भनाइ उद्धृत गर्दै भने । ‘भैरहवामा हुँदा अवस्था नाजुक हुन खोजेको रहेछ । यहाँ आएपछि सुधार हुँदै छ । तर, उहाँ दुब्लाउनुभएको छ । उहाँको अनुहारमै कमजोर भएको देखिन्छ,’ प्रचण्डले थपे । प्रचण्डका अनुसार कांग्रेस–एमालेले आफूलाई थुन्दा पार्टीलाई भने फाइदा पुगिरहेको रविको बुझाइ छ । ‘उहाँमाथिको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने हो । कांग्रेस–एमालेले आफूलाई गरेको व्यवहारले पार्टीलाई राम्रो फाइदा भएको बुझ्नुभएको रहेछ,’ प्रचण्डले भने ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार भेटमा प्रचण्डले रविलाई सरकारले प्रतिशोध साधेको र सत्तारूढ दलको नियत ठिक नभएको बताएका छन् । ‘सरकारले तपाईंप्रति प्रतिशोध साध्यो, सरकार गलत काममा धेरै लागेको छ र नियत पनि ठिक छैन,’ प्रचण्डले लामिछानेलाई भनेको भनाइ उद्धृत गर्दै झाले भने । प्रचण्ड नक्खु पुग्दा रास्वपाका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । ‘मलगायत तीनचार सयको संख्यामा नेता तथा कार्यकर्ताले नक्खुमै उपस्थित भएर उहाँ (प्रचण्ड)को भिजिटप्रति आभार प्रकट गर्यौँ,’ रास्वपा प्रवक्ता झाले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेताले अर्को प्रतिपक्ष दलको नेताको हिसाबले भेट्नुभएको हो । उहाँहरूबिच समसामयिक र स्वास्थ्य अवस्थाबारे कुराकानी भयो ।’
रविले प्रतिपक्षको नेतृत्व गरेर सबैलाई साथमा लिएर गएकोमा प्रचण्डप्रति आभार प्रकट गरेका छन् । ‘प्रचण्डले प्रतिपक्षको नेतृत्व गरेर सबैलाई साथमा लिएर जानुभएको छ । त्यसप्रति सभापतिले आभार व्यक्त गर्नुभएको छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘यिनीहरू (कांग्रेस–एमाले) ले जे गरे ठिक गरेनन् । कालो रंगमा जुनसुकै रंग दले पनि कालै रहन्छ । सरकार नै धब्बा भइसक्यो ।’
लामिछानेले उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस–एमालेले गरेको हस्ताक्षर अभियानबारे पनि प्रचण्डसँग जिज्ञासा राखेका थिए । उपसभामुखलाई देखाएर संवैधानिक निकाय कब्जा गर्न कांग्रेस र एमाले लागेको भन्दै रविले अन्याय हुन नदिन प्रचण्डको ध्यानाकर्षण गराएका छन् । उपसभामुखमाथिको मात्रै नभई सिस्टममाथिकै प्रहारको रूपमा आफूले लिएको लामिछानेले बताएका छन् ।
‘गठबन्धन सरकारले उपसभामुखलाई झम्टिने काम गरेको छ । जे भइरहेको छ, गलत भइरहेको छ, अन्याय भएको छ । गठबन्धन निरंकुशतातिर गएको छ,’ रविलाई भेटेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘कांग्रेस–एमाले सिस्टममाथि प्रहार गरेर संवैधानिक निकाय कब्जा गर्न लागेका छन् । त्यसैले, यो प्रहार इन्दिरामाथि होइन, सिस्टममाथि हो । इन्दिरालाई देखाएर संवैधानिक निकाय कब्जा गर्ने नियत छ ।’