मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १३:५५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कास्कीका नन्दप्रसादको जीवनयात्रा समेटिएको स्मृतिग्रन्थ विमोचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १३:५५:oo

कास्कीका शैक्षिक अगुवा नन्दप्रसाद अधिकारीको प्रथम स्मृति दिवसको अवसर पारेर स्मृतिग्रन्थ विमोचन गरिएको छ । आइतबार पोखरामा अधिकारीको परिवारले प्रकाशन गरेको ग्रन्थ एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी, प्रदेश सभा सदस्य भीमबहादुर कार्कीलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

स्मृतिग्रन्थमा स्व. अधिकारीको परिवारका सदस्य, उनका विद्यार्थी, उनीसँगै विभिन्न शैक्षिक, धार्मिक संस्थामा सहकार्य गरेका ३१ वटा लेख–रचना समावेश छन् । बुबाले मृत्युअघि लेखेको लेख पनि ग्रन्थमा समावेश गरिएको साइला छोरा सुपक अधिकारीले जानकारी दिए ।

स्व. अधिकारीको लेखमा शिक्षण अनुभव, प्रविधिको विकासले ल्याएको परिवर्तनबारे चर्चा गरिएको छ । अधिकारीको मृत्युअघि लेखिएको लेखले बेरोजगारी, भ्रष्टाचार, अस्थिर राजनीति नेपालको विकासमा प्रमुख समस्या भएको औँल्याएको छ ।

भावी पुस्ताका लागि शिक्षा र सिप विकास, नैतिकता र इमानदारी, पर्यावरण संरक्षण, रोजगारी सिर्जना, सांस्कृतिक धरोहरको संरक्षण, स्थिर सरकारजस्ता विषयमा ध्यान दिनुपर्ने उनको लेखमा उल्लेख छ ।

विमोचनपछि बोल्दै एमाले नेता अधिकारीले स्व. नन्दप्रसाद आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको सुनाए । केही अप्ठ्यारो पर्दा उनको सल्लाह–सुझाव लिने गरेको नेता अधिकारीले स्मरण गरे ।

अधिकारीका जेठा छोरा दीपक अधिकारीले समाज सुधारको अभियानमा बुबाको योगदानलाई जीवन्त राख्न पुस्तक प्रकाशन गरिएको बताए । बुबाले पढाएका सबै विद्यालयमा पुस्तक वितरण गर्ने उनले सुनाए ।

‘बुबालाई हामी थोरैले चिनेका थियौँ । पुस्तक नै प्रकाशन गरेपछि उहाँ अब एउटा अभिलेखमा सुरक्षित हुनुभएको छ,’ उनले थपे, ‘उहाँले पढाएका विद्यालयमा पठाउने योजना छ । त्यो भएपछि विद्यार्थीले विद्यालयको विकासमा उहाँले गरेको योगदानबारे थाहा पाउनुहुन्छ ।’

अधिकारी ०३० को दशकको शिक्षक आन्दोलनमा सक्रियमध्ये एक थिए । उनले कास्कीको कन्या मावि, चन्द्रप्रभा मावि, त्रिभुवन शान्ति मावि, ब्रह्मरूपा माविमा अध्यापन गराएका थिए । उनले पोखरामा संस्कृतको प्रारम्भिक अध्ययन गरी बनारसबाट शास्त्रीसम्म अध्ययन गरेका थिए । उनी शिक्षण पेसामै रहँदा ०२६ देखि ०३६ सालसम्म कास्कीमा भूमिगत ढंगले कम्युनिस्ट पार्टीको संगठन निर्माणमा संलग्न थिए ।

०५४ सालमा शिक्षण पेसाबाट निवृत्त भएपछि अधिकारी एमालेको राजनीतिमा सक्रिय थिए । उनी एमालेको गण्डकी प्रदेश कमिटी सल्लाहकार थिए । १९९४ साल माघ १३ मा साबिकको बेगनास गाविसको डाँडाथर (हालको पोखरा– ३१)मा जन्मिएका अधिकारीको ८७ वर्षको उमेरमा निधन भएको थियो । अधिकारीका चार छोरा र दुई छोरी छन् ।