मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
२o८२ भदौ २ सोमबार १३:५६:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

पाथीभरामा करोडौँ भेटी संकलन, समाजसेवीहरूलाई सम्मान तथा पुस्तक विमोचन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १३:५६:oo

ताप्लेजुङ जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा अहिलेसम्म ११ करोड ६४ लाख ९० हजार ७४ रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत दिएको जानकारीअनुसार यो भेटी संकलन मन्दिरमा भक्तजनको निरन्तर उपस्थितिले बढ्दै गएको हो ।

यस भेटीमध्ये ०७९/८० सम्ममा आठ करोड नाै लाख ६ हजार ३६३ रुपैयाँ भेटी संकलन भइसकेको थियो ।  पछिल्लो आर्थिक वर्ष ०८१/८२ मा थप तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ संकलन छ । यस्तै, दाताहरूबाट प्राप्त दान सहयोगको रकम २७ लाख ७७ हजार ४४३ रुपैयाँ रहेको छ भने बैंकको ब्याजबाट १६ लाख ४१ हजार ५९१ रुपैयाँ आम्दानी भएकाे विकास समितिका निर्देशक प्रजिन हाम्बाङले बताए । 

पाथीभरा मन्दिरको भेटी, दान र ब्याजसमेत जोडेर जम्मा ११ करोडभन्दा बढीको रकम संकलन भएको बताइएको छ । तीर्थस्थलको विकास, संरक्षण र प्रवर्द्धनका लागि यति ठुलो मात्रामा आर्थिक स्रोत उपलब्ध हुनु सकारात्मक पक्ष हो । संकलित रकममध्ये आठ करोड २० लाख ७७ हजार ३०० रुपैयाँ खर्च भइसकेको छ ।

समितिका अनुसार यो खर्च पाथीभरा क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार, धार्मिक व्यवस्थापन र अन्य संरचनागत सुधारका काममा खर्च गरिएको निर्देशक हाम्बाङले बताए ।  बाँकी तीन करोड ३५ लाख १२ हजार ७७३ रुपैयाँ समितिको खातामा मौज्दात रहेको जनाइएको छ ।

पाथीभरा मन्दिरमा नेपाली रुपैयाँ मात्र नभई विदेशी मुद्राको रूपमा समेत भेटी संकलन हुँदै आएको छ । अहिलेसम्म ४६ देशका पर्यटकहरूले दिएको भेटीबाट जम्मा १० लाख ३९ हजार २३ बराबरको विदेशी मुद्रा प्राप्त भएको छ । यसका साथै, भक्तजनहरूले १७८ तोला ८२ लाल १ नम्बरको सुन, पाँच हजार २९८ तोला असली चाँदी, ६ हजार ५३९.७७५ किलोग्राम तामा र १६ हजार ३६८.१०० किलोग्राम घन्टी (पित्तल, काँसालगायत) समेत भेटीका रूपमा चढाएर संकलन भएको छ । 

यी सम्पूर्ण विवरणहरू फुङ्लिङमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रमको मुख्य अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई थिए । कार्यक्रममा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समितिको हालसम्मको कार्ययोजना, उपलब्धि र खर्च विवरण सार्वजनिक गरे । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख, सुरक्षाकर्मी, सरोकारवाला, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले पाथीभरा क्षेत्रमा देखिएका चुनौती, पारदर्शिता, भविष्यको योजना र व्यवस्थापनमा सुधारसम्बन्धी सवालहरू उठाए, जसको जवाफ समितिका पदाधिकारीहरूले दिएका थिए । 

पाथीभरा क्षेत्र विकास सामितिबाट विभिन्न व्यक्तित्व सम्मानित

पाथीभरा क्षेत्रको प्रवर्द्धन र प्रचारप्रसारमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको छ ।

सम्मानित हुनेहरूमा पूर्वमन्त्री मणि लामा, पूर्वजिविस सभापति दीपेन्द्रकुमार सेन्दाङ, अग्रज व्यक्तित्व तारावीर थापा, लेखक राजेश्वर थापा, गीतकार तथा संगीतकार अनिल खड्का, फोटोग्राफर हर्कराज गुरुङ, पत्रकारद्वय खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेको हाम्बाङले बताए । 

समितिका अनुसार, पत्रकार खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बोलाई पाथीभरा क्षेत्रको प्रचारमा पुर्‍याएको योगदानको कदर गर्दै नगद ११–११ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिएको हो । खगेन्द्र अधिकारी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन् । कृष्ण फुरुम्बो महासंघ ताप्लेजुङ शाखाका सचिव हुन् ।

पाथीभरा फोटो पुस्तक सार्वजनिक

पाथीभरा क्षेत्रको फोटो पुस्तक ‘पाथीभरा’ सार्वजनिक गरिएको छ । समितिको आयोजनामा सार्वजनिक गरिएको उक्त पुस्तकमा एक सयभन्दा बढी फोटो र विवरणहरू समावेश गरिएको छ ।

उक्त पुस्तकको लेखक, फोटोग्राफर तथा सम्पादक हर्कराज गुरुङ रहेका छन् ।  उनले पुस्तकको अवधारणादेखि लेखन, फोटो संकलन र प्रकाशनको सम्पूर्ण जिम्मेवारी आफैँले सम्हालेका छन् । पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि योगेशकुमार भट्टराईसहित अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा विमोचन गरेका थिए ।

पूर्वमन्त्री भट्टराईले पुस्तकले पाथीभरा क्षेत्रको प्रचारमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  उनले धार्मिक पर्यटकहरूलाई आकर्षित गर्न पुस्तकजस्तै अन्य प्रभावकारी माध्यममार्फत प्रचार गर्न आवश्यक रहेको बताए । 

समग्रमा, पाथीभरा मन्दिरमा संकलन भएको आर्थिक स्रोतको व्यवस्थापन, पारदर्शिता, धार्मिक पर्यटन प्रवर्द्धन, संरचना विकास तथा सामाजिक सहभागिता उत्साहजनक देखिएको छ । साथै, समितिको प्रयास र नागरिकको निगरानीबाट यो धार्मिक स्थल थप व्यवस्थित, सुरक्षित र समृद्ध बन्ने अपेक्षा गरिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए ।