मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
शिवप्रसाद जैसी
२o८२ भदौ २ सोमबार o८:१४:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मस्तिष्क नियन्त्रणको चपेटामा तेस्रो विश्व

उच्च ओहदामा रहेका राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीको मनोवृत्तिमाथि प्रभाव पारेर नीति–निर्माण तहमा उनीहरूको मस्तिष्कमाथि नियन्त्रण गरिँदै छ

Read Time : > 4 मिनेट
शिवप्रसाद जैसी
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार o८:१४:oo

तेस्रो विश्वयद्धको समाप्तिसँगै दुनियाँभरका विभिन्न देशले उपनिवेशबाट मुक्ति पाउन थाले । स्वतन्त्र नयाँ देशहरूको जन्म भयो । नवोदित, स्वतन्त्र तर गरिब, विपन्न र अविकसित मुलुकको विकासका लागि विकसित राष्ट्रहरूको योगदान अनिवार्य भएको प्रस्ताव सन् १९४९ मा तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले ‘न्यु डिल’मार्फत गरे । अविकसित राष्ट्रहरूको विकासमा धनी राष्ट्रहरूले सहयोग नगरेमा ती राष्ट्रको विपन्नताबाट उत्पन्न चुनौतीको सामना गर्नुपर्ने सो प्रस्तावको आशय थियो ।

राजनीतिक विचारका आधारमा विश्व दुई ध्रुवमा विभाजित भयो । प्रथम विश्व, जसको नेतृत्व अमेरिकाले पश्चिम युरोप, जापान र अस्ट्रेलियाको सहयोग र सहभागितामा गर्‍यो । दोस्रो विश्वको नेतृत्व तत्कालीन सोभियत संघले पूर्वी युरोपका समाजवादी मुलुकहरूको सहयोगमा गर्‍यो । शीतयुद्धकालीन समयमा पुँजीवादी राष्ट्रहरूको समूह नेटो र समाजवादीहरूको समूह वार्सा नामका विश्वमा ध्रुवीकृत संगठन देखापरे । दुवैले विश्वमा आफ्नो वर्चस्व कायम गर्न आ–आफ्नो विचारधाराको विस्तारमा सम्बन्धित राष्ट्रहरूमा आर्थिक, भौतिक र सैन्य सहयोगसमेतमा जोडबल राम्रैसँग गरे । विचारधाराको स्थापना र प्रभुत्व जमाउन सफल पनि भए । प्रथम र दोस्रो विश्वको शीतयुद्धले संसारलाई त्राहिमामको स्थितिमा बाँच्न बाध्य बनायो ।

प्रथम र दोस्रो विश्वमा समावेश नभएका विपन्न र गरिब राष्ट्रहरूको समूहका लागि सन् १९५२ मा फ्रान्सेली जनसांख्यिकीविद् अल्फ्रेड साबीले आफ्नो लेख ‘थ्री वल्र्डस्, वन प्लानेटमा ‘थर्ड वल्र्ड’ शब्दावली प्रयोग गरे  । तत्पश्चात् ‘तेस्रो विश्वका’ रूपमा एसिया, आफ्रिका र ल्याटिन अमेरिकी देशहरू चित्रित हुनथाले । तेस्रो विश्वको नामकरण गरिएपाश्चात् यी मुलुकको विकासको दाताका रूपमा पश्चिमाहरूले आफूलाई स्थापित गर्न विभिन्न रणनीति अवलम्बन गर्न थाले । 

नीति–निर्माण र विकास योजना आफ्नो देशको आवश्यकता र भौगोलिक सन्तुलनका आधारमा भन्दा दाताका सर्त र इच्छाबमोजिम हुनु तेस्रो विश्वको मस्तिष्कमाथि दाताको नियन्त्रण हुनु हो 
 

सन् १९९० मा सोभियत संघको विघटनपछि दोस्रो विश्व अस्तित्वमा रहेन । सोभियत संघको विघटनसँगै वार्सा पनि विघटन भयो । आर्थिक र सामरिक रूपमा प्रभावशाली रहेको अमेरिका र उसका सहयोगी समूहले तेस्रो विश्वका गरिब र विपन्न राष्ट्रहरूको नीति–निर्माणमा भूमिका खेल्ने रणनीति तय गरे ।

रणनीतिमा भूमिका खेल्ने औजारका रूपमा स्थापना भएका विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोषलगायतका संस्थाहरू सक्रिय रहे । यिनै संस्थामार्फत तेस्रो विश्व आजको भाषामा विकासशील देशहरूमा नीति–निर्माण र विकासका मापदण्ड तय गर्न थाले । नीति–निर्माण र विकासका योजना आफ्नो देशको आवश्यकता र भौगोलिक सन्तुलनका आधारमा हुनुपर्नेमा त्यसो हुन सकेन । दाताहरूका सर्त र इच्छाबमोजिमका नीति–निर्माण गर्नुपर्ने भयो । पूर्वाधार र विकासका योजना तदनुरूप अगाडि बढाउनुपर्ने बाध्यकारी स्थितिको सामना पश्चिमाहरूको मस्तिष्क नियन्त्रणको चपेटामा परेर गर्नुप¥यो तेस्रो विश्वले ।

विकासशील देशहरूको विकासमा सहयोग गर्न ससर्त बाध्यकारी नीति तर्जुमा गर्ने रणनीति तय गरिए । यस्तो रणनीति कार्यान्वयन गर्न ती देशहरूको नीति–नियम परिवर्तन गर्न जरुरी थियो, र छ । नीति–निर्माण गर्न ती देशका नीति–निर्माण तहमा पुगेका र पुग्न सक्ने सम्भावित मानिसको सहयोगको आवश्यकता थियो ।

दाताले मस्तिष्कमा नियन्त्रण जमाएकाले तेस्रो विश्वले चाहेर पनि आफ्नो विवेकअनुसार न नीति–निर्माण गर्न सक्छ, न त देशको आवश्यकताअनुसार साधन र स्रोत परिचालन गरी विकासमा फड्को मार्न नै सक्छ

उक्त आवश्यकता पूरा गर्न विकास साझेदार संस्थाहरूमार्फत तेस्रो विश्वका नीति–निर्माताको मस्तिष्कमाथि नियन्त्रण गर्नेजस्तो अचुक औजार प्रयोग गर्न सुरु गरियो । विकास साझेदारका नाममा विपन्न देशको गरिबी पछौटेपनको उत्थानका लागि विभिन्न संघ–संस्थामार्फत तत्तत् देशका मूल्य र मान्यता बुझी सोहीबमोजिमका योजना र संगठन निर्माण गरी सहयोग गर्ने बाटो अवलम्बन गरियो । देशको भौगोलिक बनोट, जनसंख्याको स्थिति, जातजातिका समूह, धर्म, संस्कार र संस्कृतिअनुसारका कार्यक्रम तय गरी कार्यान्वयनका लागि नीति तर्जुमा गर्नमा भूमिका खेल्न थाले ।

उच्च ओहदामा रहेका राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीको मनोवृत्तिलाई प्रभाव पारेर नीति–निर्माण तहमा उनीहरूको मस्तिष्कमाथि नियन्त्रण गर्ने कार्यको थालनी गरियो । मस्तिष्क नियन्त्रणका लागि नजानिँदो पारामा विभिन्न प्याकेज, विभिन्न किस्ता र विभिन्न रूपमा स्नायुप्रणाली परिवर्तन गरिएको पत्तो पाएनन् ।

उच्च तहका अधिकांश पदाधिकारी यो सामाजिक बिचलनमा आफ्नो व्यक्तिगत स्वार्थका आधारमा जानजान सहभागी भएर राष्ट्रिय आवश्यकताविपरीत परिचालित भए भने केहीले चाहिँ “... सके दैलो देखे”को स्थितिमा भएर पश्चात्तापको भुमरीमा फसेको महसुस गरे । जे होस् काम फत्ते पारिसकेकाहरूले रणनीतिक रूपमा एकपछि अर्को योजनाको तानावाना पृथक् ढंगले बुनिरहे । कार्यान्वयन गरिरहे ।

आर्थिक लाभका लागि राजनीतिक नेतृत्व र उच्च तहमा कार्यरत मानिसले आफ्ना र आफ्ना नजिकका मानिसको सहभागितामा तीव्र रूपमा गैरसरकारी संस्था स्थापना गरे । गैरसरकारी संस्थामार्फत बाह्य स्रोतलाई परिचालन एवं तथ्यांक संकलन गरी दातालाई प्रदान गर्ने संयन्त्र बने ।

तथ्य र तथ्यांकका आधारमा सामाजिक वास्तविकता पत्ता लागेपछि कुन देश वा समाजका लागि कस्तो रणनीति अपनाउने भन्ने कुराको टुंगो लाग्नु स्वाभाविक थियो र छ । रणनीति निर्माणमा स्वदेशका सभा सम्मेलन र विदेशमा भाग लिन पाउने कुराले संलग्न मानिसहरू लोभिए–लोभ्याइए । तिनीहरूमार्फत नै कुन देश, कुन समाज र कुन परिवेशका लागि कस्तो योजना तय गर्ने भन्ने कुराको निक्र्योल निकाल्न सजिलो भयो र त्यसैअनुसारका औजार तय गरिए, तत्तत् देशका स्रोतहरूको दोहन गर्न ।

विपन्नताको चपेटामा पिल्सिएका तेस्रो विश्वका अधिकांश देश प्राकृतिक स्रोत र साधनमा सम्पन्न भएकाले ती देशका स्रोतमाथिको गिद्देदृष्टिलाई औपचारिक रूपमै दोहन गर्न आर्थिक, बौद्धिक, र प्राविधिक सहयोग उपलब्ध गराउन तयार मात्र होइन, आतुर भए विकसित र सम्पन्न देशहरू । विज्ञताका नाममा गरिएको आर्थिक सहयोगको लगभग ५० प्रतिशत रकम उनीहरूले आफ्ना विज्ञहरूमार्फत आप्mनै देशमा फिर्ता लगे । अझ भनौँ, आर्थिक सहयोग गरेर आफ्नै लागि रोजगारी सिर्जना गरे । प्राविधिक सहयोगका आधारमा साधन र स्रोत पहिचान गरी उनीहरूको आफ्नो पक्षमा उपयोग गर्न सम्बन्धित देशका नीति–नियम निर्माणमा वकालत गरे माथिल्लो तहमा । तल्लो तहमा सामान्य रोजगारीको सिर्जना र तारे होटेलमा गरिएका सेमिनार र वर्कसप छलफल बहसमै आफ्नो बुद्धि विवेक धरौटी राखिएको अत्तोपत्तोसमेत पाएनन् सम्बन्धित देशका सम्बद्ध व्यक्ति एवं संस्थाहरूले ।

राजनीतिक रूपमा प्रशिक्षित कार्यकर्ता र जनप्रतिनिधिमार्फत समाजका अन्तर–कुन्तरमा भिज्न सकिने कुरालाई राम्ररी बुझेका दाताहरूले यिनीहरूकै माध्यमबाट सामाजिक अभियानका नाममा विभिन्न कार्यक्रम सञ्चालन गरे । एकातिर राजनीतिक कार्यकर्ताहरू सामाजिकीकरण भएर विकासे संस्थाका कारिन्दा र प्रवक्ताको भूमिकामा देखापरे भने अर्कातिर राजनीतिक सचेतनाबाट विमुख भएर आर्थिक जोहोको सिद्धान्तमा परिचालित भए ।

सबै तहमा यो वा त्यो रूपमा संलग्न मानिसको मस्तिष्क नियन्त्रणमा महत्वपूर्ण भूमिका रह्यो । नियन्त्रित मस्तिष्कबाट उत्पादनमुखी समाज विमुख भएर परनिर्भरतामा परिणत बन्नपुगे । काम गर्नभन्दा भत्तातिर अभिमुख हुनपुगे । अल्छीले गाँज्यो । उत्पादकबाट उभोक्तामा परिणत भए । उत्पादनविनाको उपभोग भनेको परनिर्भरता हो । नियन्त्रित मस्तिष्कले स्वविवेकले काम गर्न सकेन । दिनानुदिन परनिर्भरताले दाताहरू गुहारिरहनुपर्ने आवश्यकता आइलाग्यो । दाताहरूले आवश्यकताअनुसार रूप फेरिरहे । 

भौतिक रूपमा प्रत्यक्ष रूपले कुनै देश वा कुनै देशको भूभाग कब्जा गरेमा सजिलै थाहा पाउन सकिन्छ । जुन कुरा आजको जमानामा सामान्यतया सम्भव नभएकाले उनीहरूले मस्तिष्क नियन्त्रणका माध्यमबाट विपन्न देशहरूको साधन र स्रोत कब्जा गर्ने नीति अवलम्बन गरे । उपल्लो तहमा मस्तिष्क नियन्त्रणका माध्यमबाट नीति–निर्माणमा भूमिका खेल्ने रणनीति अवलम्बन गरे ।

तल्लो तह, अर्थात् समाजका जरामा समाजको बनोटअनुसारका कार्यक्रम राज्यव्यवस्थाको संलग्नतामा वा राज्यलाई जानकारी नै नदिई अनौपचारिक रूपमा सशक्तीकरणका नाममा हस्तक्षेपकारी भूमिकामार्फत कार्यान्वयनमा लैजाने सिद्धान्त अवलम्बन गरे । जुन सिद्धान्त व्यवहारतः तेस्रो विश्वमा पूर्णतया लागू हुनपुग्यो । तेस्रो विश्वका शासक र शासकका सहयोगी भूमिकामा रहेका मानिसहरू चाहेर पनि आफ्नो विवेकअनुसार न त नीति–निर्माण गर्न सक्छन् न त देशको आवश्यकताअनुसार साधन र स्रोतको परिचालन गरी विकासमा फड्को मार्न सक्छन् ।

उनीहरू केवल अन्तर्राष्ट्रिय विकासे संस्थाहरूद्वारा मस्तिष्क नियन्त्रण गरिएका प्रतिनिधि पात्र मात्र हुन पुगेका छन् । यसो भन्न सकिन्छ, प्रत्यक्ष रूपमा उपनिवेशवाद मरेको भए पनि अप्रत्यक्ष रूपमा मस्तिष्क नियन्त्रणका माध्यमबाट सशक्त र जिउँदै छ । फराकिलो र विस्तारित रूपमा तेस्रो विश्वमा पन्जा फिँजाएर बसेको छ । लगाम हातमा लिएर जमेको छ ।
(जैसी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका क्याम्पस प्रमुख हुन्)