मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
२o८२ भदौ १ आइतबार १७:१२:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

मानसिक स्वास्थ्य समस्या बढ्दो

९० प्रतिशत बढी समस्या निको हुन्छ उपचारपछि

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार १७:१२:oo

केस १
१७ वर्षका एक युवक साथीहरूको लहैलहैमा लागेर लागुपदार्थ सेवन गर्न थाले। परिवारले थाहा पाएपछि त्यो लतबाट छुटाउन चिकित्सक र सुधार केन्द्रमा लैजानेसमेत गरे। जाने–बुझेसम्मका सबै काम गरे पनि उनलाई त्यो लतबाट छुटाउन सकेनन्। जता लगे पनि केही परिवर्तन नभएपछि अन्तिममा उनलाई घरमै थुनेर राख्ने काम भयो। त्यसको तीन–चार महिनपछि उनमा अर्को समस्या पैदा भयो– कराई राख्ने, लगाएको कपडासहित भेटेको कुरा च्यात्ने, फाल्ने। विगत पाँच वर्षदेखि उनको हालत यस्तै छ।

केस २
प्रेम विवाह गरेको तीन वर्षपछि छोरा जन्मिएपछि वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश गए। विदेश गएको चार–पाँच महिनापछि कमाएको रकम उनले सिधै श्रीमतीलाई पठाउन सुरु गरे। श्रीमान् विदेश गएको करिब ढेड वर्षपछि श्रीमती भने घरनजिकै भाडामा बस्ने अर्को युवकसँग नजिकिन थालिन्। विस्तारै यो कुरा विदेश भएका श्रीमानले थाहा पाएपछि नेपाल आए। घरमा आउँदा श्रीमती छोरा छाडेर त्यही युवकसँग भागिन्। ३३ महिनापछि घर फर्केका उनीसँग न श्रीमती रहिन्, न दुःखले कमाएको पैसा रह्यो। विस्तारै उनी बिरामी भए, बर्बराउने, काँप्ने र आफूले के गरेँ भन्ने होस हराउनेजस्ता समस्या देखिन थाल्योे। विगत तीन वर्षदेखि उनको अवस्था यस्तै छ।

यी माथिका केही उदाहरण मात्र हुन्। हाल समाजमा विभिन्न कारणले मानसिक समस्या देखिनेहरूको संख्या दिन प्रतिदिन बढ्ने क्रममा छ। समस्या भएकाहरू केही बाहिर देखिने गरेका छन् भने केहीलाई परिवारका सदस्यले लुकाउने प्रयास गर्ने गरेका छन्। मानसिक समस्या देखिएपछि त्यसलाई लुकाउनभन्दा चिकित्सकसँग परामर्श र औषधि सेवन गरे ठिक हुने विज्ञहरू बताउँछन्। लुकाउन खेजे समस्या झन् बढ्दै जाने र अवस्था गम्भीर हुने बताउँछन् मानसिक रोग विशेषज्ञ डा. राजन शर्मा। 

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा विगत १८ वर्षदेखि काम गर्दै आएका डा. शर्मा मानसिक स्वास्थ्यको अवस्था नेपालको सन्दर्भमा भयावह रहेको बताउँछन्। मानसिक स्वास्थ्यको अवस्था नेपालमा निकै पिछडिएको अवस्थामा छ, राज्यको तर्फबाट पनि पिछडिएको, स्वास्थ्यको सन्दर्भमा पनि पिछडिएको अवस्थामा रहेको आफ्नो विगत १८ वर्षको अनुभवले बताएको उनले सुनाए।

यस्ता हुन्छन् मानसिक रोगका लक्षण र कारण
डा. शर्माका अनुसार व्यक्तिमा आफ्नो विगतको दैनिकीको भन्दा चालचलन, बानी व्यवहारमा फरकपन आउनु, बिर्सने बानी, कुराकानी गर्दा के भन्यो भन्ने थाहा नपाउनेजस्ता लक्षण देखिन्छ। यसैगरी, उदासीपना देखिनु, नकारात्मक सोच र विचार आउनु, मर्न मन लाग्नु, केही कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, निद्रामा गडबडी आउने, डर-त्रास लाग्ने, छटपटी हुने, आत्तिनेलगायतका मानसिक रोगका लक्षणहरू हुन्।

मानिसमा मानसिक समस्या धेरै कारणले हुनसक्ने डा. शर्मा बताउँछन्। घरायसी समस्या तथा समस्या, आर्थिक समस्या, व्यक्तिगत सम्बन्ध तथा घटनाक्रमहरुसँगै मानसिक समस्या वंशाणुगत पनि हुनसक्ने चिकित्सकहरु बताउँछन्। बाजेबजै तथा बाबुआमालाई मानसिक रोक छ भने सन्तानमा पनि जान सक्छ। मस्तिस्कमा हुने रासायनिक तत्वहरु अर्थात न्यूरो ट्रान्समिटर घटबढ भएको अवस्थामा पनि यो समस्या देखापर्ने गर्दछ।

खुल्दैनन् नेपाली
नेपालमा मानसिक स्वास्थ्यका समस्याहरु लुकेर बसेको अवस्थामा छ। मानिसहरु खुलेर भन्न र व्यक्त गर्न नसक्ने अवस्था छ। यसको प्रमुख कारण समाजले के भन्ला, कस्तो व्यवहार गर्ला भन्ने चिन्ता हो भन्छन् डा शर्मा। ‘हामी सबैमा आफ्नो पिर चिन्ता, रिस, डाहासँगै अन्य सबै प्रकारको कुरा लुकाएर राख्ने बानी छ, जसले गर्दा प्रत्येक मानिसको मानसिक स्वास्थ्यमा त्यसले असर गर्ने गर्दछ,’ उनले भने, ‘आफू र परिवारका सदस्यमा त्यस्तो केही समस्याहरु भए कसैले पनि खुलेर भन्न सक्दैनन्, खुलेर डाक्टरकोमा जान पनि सक्दैननर।’ यो समस्या एक प्रकारको हिट लिस्टमा रहेको डा. शर्माको अनुभव छ।

मानसिक समस्या देखिएका व्यक्तिलाई भेदभाव र तिरस्कारको दृष्टिले हेर्ने समाजको कारणले पनि बढ्दै गएको उनी बताउँछन्। ‘घर र समाजमासमेत मानसिक रोग भन्ने वित्तिकै पागलपनलाई मात्र बुझ्नै गर्छौँ। नांगै भएर हिँड्ने, कराउँदै हिँड्ने, लगाएको कपडा च्यात्ने लगायतलाई मात्र मानसिक रोगी बुझ्ने गरिएको छ,’ उनले भने। उदासीपना देखिनु, नकारात्मक सोच र विचार आउनु, केही कुरामा ध्यान केन्द्रित गर्न नसक्नु, निद्रामा गडबडी आउनु, डर, त्रास लाग्नु, छट्पटी हुनुलगायतका समस्या कसैमा देखिन्छ भने त्यो पनि मानसिक रोगको संकेत हो।
पछिल्लो समय अस्पताल आउने मानसिक रोगमा विशेष गरी सबैभन्दा धेरै डिप्रेसनका हुने गरेका उनको अनुभव छ। त्यसपछि आत्तिने अर्थात एन्जाइटी, बाइपोलार एथ्लेटिक डिसअर्डर (एक प्रकारको पागलपन र चिन्ता रोगको मिश्रण) र लागुपदार्थ दुव्र्यसनी मुख्य समस्याका रुपमा देखिएका डा शर्माको भनाइ छ।

‘पोखरामा दैनिक करिब तीन सय विरामी समस्या लिएर आउँछन्’
हाल पोखराका तीन ठुला अस्पतालसँगै अन्य अस्पताल र क्लिनिकहरुमा गरेर दैनिक सरदर तीन सयको हाराहारीमा मानसिक समस्या लिएर विरामीहरु आउने डा. शर्मा बताउँछन्। ‘प्रायः कुनै पनि रोग कहिले पनि घट्दैन, बढ्ने क्रममा हुन्छ। १५–१६ वर्षअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दैनिक चारदेखि पाँचजना विरामी आउने गरेकोमा हाल त्यो संख्या बढेर दैनिक ५० देखि ७० पुगेको छ,’ उनले भने, ‘१५ शैया रहेको वार्ड समेत सधैँ प्याक हुने गरेको छ।’

हाल मानिसमा चेतना बढेको, रोगका पहिचान गर्न सक्ने क्षमता बढेको, समाज समेत चेतनशिल भएकाले चिकित्सकको सम्पर्कमा आउनेहरुको संख्या बढेको उनको भनाइ छ। समस्या देखिएपछि जति चाँडो उपचारका लागि आयो त्यती चाँडो निको हुने सम्भावना रहकोले परिवारमा समस्या देखिएपछि चिकित्सककोमा जान ढिलाई नगर्न उनको आग्रह छ। 

मानसिक समस्यामध्ये झण्डै ९० प्रतिशत उपचार र औषधीको प्रयोगपछि निको हुने भएकाले समस्या देखिने बित्तिकै औषधी सेवन गर्न उनले आग्रह गरे। यस्ता समस्याहरु निको भएपछि दोहोरिने सम्भावना निकै कम हुने उनले बताए। ‘समस्या देखिएको ८÷१० महिनापछि औषधी सुरु गरेकाहरुले बिचमा औषधि छोडे बल्झने सम्भावना रहन्छ। तर एकपटक समस्या देखिएर ठीक भएकाहरुमा बल्झिने सम्भावना निकै कम हुन्छ’ उनले भने।