
एक डाक्टर र महिलाको रूपमा मात्र नभएर आफूलाई मेरो देशको चमार समुदायको पहिलो डाक्टरको रूपमा पाउँदा अत्यन्त गर्वको महसुस गरिरहेकी छु । म ०५६ सालमा बुबा शान्ताराम र आमा राजमतिको कोखबाट कपिलवस्तु जिल्लाको कृष्णनगर बहादुरगन्ज गाउँको दलित बस्तीमा चमार समुदायमा जन्मिएकी हुँ । मेरो जन्म त्यस्तो परिवेशमा भएको हो जहाँ जातीय विभेद, गरिबी र लैंगिक असमानता हरेक दिनको वास्तविकता थियो । छोरी भएर पढेर के हुन्छ ? बरु बिहे गरे हुन्छ भन्ने वाक्य मेरासामु अनगिन्तीपटक ठोक्किन आए । तर, मसँग एउटा ठुलो सपना थियो– डाक्टर बन्ने ।
मेरो बुबाले इँटाभट्टाको तातो धुँवा र धुलोबिच पसिना बगाउँदै जातीय अपमान र चरम गरिबीका बाबजुद पनि ०३९ सालको एसएलसीमा श्रीराम गोर्खा मावि बहादुरगन्ज सेन्टर टप गर्नुभएको थियो । मजदुरी गरेर भारत पुगी आइएस्सी पास गर्नुभयो । असइमा नाम निकाल्नुभएको बुबालाई १६ महिनापछि भ्रष्टाचारको आरोप लगाएर जागिरबाट निकालियो । एउटा दलित मधेशी एवं चमार केटालाई अगाडि बढेको सह्य भएन । आफ्नो गरिबी र जातका कारण उहाँले बोल्न सक्नुभएन । त्यसपछि निजी विद्यालयको अध्यापलाई पेसा बनाउनुभयो ।
म मेरो बुबाले पढेकै सरकारी विद्यालयमा पढेँ । बाल्यकालदेखि नै पढाइमा रुचि बढ्यो । हरेक विषयमा प्रथम हुन थालेँ । सबै गुरु र गुरुआमाले असाध्यै माया गर्नुहुन्थ्यो । ड्रइङ, पेन्टिङ, कवितालेखन र क्विज कन्टेस्टमा पनि उत्तिकै रुचि राख्थेँ । बुबा सधँै भन्नुहुन्थ्यो, ‘शिक्षा नै शक्तिको सबैभन्दा ठुलो हतियार हो । त्यसैले मिहिनेत गरेर पढ्नुपर्छ । तिमीले देखेको सपना अवश्य पूरा हुन्छ ।’ मेरो बुबाले भोगेको अपमान मैले राम्रोसँग देखेको र बुझेको हुनाले राम्रोसँग पढेँ ।
बिहान उठ्नेबित्तिकै बुबाले हामी तीन दिदीभाइलाई आफ्नोअगाडि बसाएर पढाउनुहुन्थ्यो । सामान्य ज्ञान र अंग्रेजी ग्रामरको पुस्तक ल्याइदिनुहुन्थ्यो । आमाले छोरी भए तापनि खेतबारी र भान्साको काममा कहिल्यै लगाउनुभएन । बरु आफैँले सकिनसकी दु:ख गर्नुभयो । यसरी घरमै पढाइको वातावरण बनाइदिनुभयो । तर, छिमेकीहरूले आमाबुबालाई बारम्बार भन्थे,‘छोरीलाई यति छुट दिनुहुँदैन । यति धेरै पढाउनु पनि हुँदैन । बरु घरको कामकाज सिकायौ भने राम्रो घरमा बिहे गराउन सजिलो हुन्छ ।’ तर, मेरा आमाबुबाले अरूको कुरा नसुनी हामीलाई पढाउनुभयो ।
सरकारी विद्यालयबाटै ०७२ सालमा मैले ए प्लस अंक ल्याएर एसइई उत्तीर्ण गरेँ । मेरो सपनाअनुरूप बुबाले साइन्स पढ्नका लागि काठमाडौं पठाउनुभयो । काठमाडौं आउन सजिलो थिएन, मेरा लागि त काठमाडौं नयाँ देशजस्तै थियो । एचएसइबीको परीक्षा दिएपछि पेन्टागन इन्टरनेस्नल कलेजमा पूर्ण छात्रवृत्तिमा बायोलोजीको अध्ययन सकेँ ।
प्लस टु पढ्दापढ्दै मैले एमबिबिएसको बारेमा पनि बुझ्न थालेँ । एमबिबिएस पढ्न इन्ट्रान्स पास गर्नुपर्दो रहेछ । त्यसका लागि पुतलीसडकको नेम कलेजमा तयारी कक्षा लिन थालेँ । बुबा भन्नुहुन्थ्यो,‘एमबिबिएस पढाउने मेरो क्षमता छैन । तिमीलाई डाक्टर बन्नु छ भने धेरै मिहिनेत गर्नुपर्छ । स्कलरसिपमा नाम निकाल्यो भने मात्र सम्भव छ ।’ एमबिबिएसको महँगो शुल्कका कारण बुबा र मेरो सपना पूरा हुनेमा संशय थियो । त्यसैले म झन् बढी मिहिनेत गरेर पढ्न थालेँ । केयू, टियू, बिपिकेटिएच सबैको इन्ट्रान्स दिएँ र सबैमा पास पनि भएँ । यसैबिचमा विश्वविद्यालय अनुदान आयोगले चमार, डोम, बादी र मुसहर जातिलाई एमबिबिएसका लागि छात्रवृत्तिको आवेदन खुलेको थाहा पाएँ । हतारहतार फर्म भरेँ । भाग्यले पाँचजनामध्ये मेरो पनि छात्रवृत्तिमा नाम निस्कियो । त्यतिवेला मेरो परिवारमा खुसीको कुनै सीमा थिएन । जुन सपना मैले र मेरो परिवारले देखेका थियो, त्यो सपना छात्रवृत्तिले पूरा गरिदियो ।
जानकी मेडिकल कलेज जनकपुर धनुषामा एमबिबिएस पढ्ने भएँ । युजिसीको छात्रवृत्तिले मलाई कलेज शुल्कका साथै पाँच हजार रुपैयाँ खाजा खर्च र स्टेसनरीमा पनि सहयोग गर्यो । तर, होस्टेल फी र सेक्युरिटी डिपोजिट गर्न पनि हाम्रो परिवारलाई सकस थियो । सुरुमै बुबाले ऋणधन गरेर त्यसबापतको दुई लाख रुपैयाँ कलेजमा बुझाउनुभयो । पहिलो वर्षको किताबलाई नै ३० हजार रुपैयाँ पर्यो । त्यो पनि बुबाले नै जुटाउनुभयो । दोस्रो वर्ष र अन्तिम वर्षमा अझ आर्थिक विषयले गाह्रो भयो । यसरी मैले आज एनएमसी लाइसेन्स परीक्षा पनि पार गरी डाक्टर बन्न सफल भएँ । अरूको बुबाले कमाएर जग्गा–जमिन सुनचाँदी किन्ने गर्छन् । मेरो बुबाले आफ्नो सबै कमाइ हामी तीन सन्तानमाथि खर्च गर्नुभयो । आफ्नी छोरीलाई पढाउनुभयो ।
आज जब म सेतो कोट लगाउँछु, मलाई जब डाक्टर भनेर बोलाउँछन्, यो मेरा लागि केवल उपाधि होइन, चमार समाजको एउटा सपना पूरा भएको संकेत हो । एमबिबिएसको फिल्ड भिजिटको क्रममा मैले एउटा बच्चालाई बिस्कुट दिएको थिएँ । तर, म चमार समुदायको भएकै कारण अर्कोले बच्चाको हातबाट खोसेर फ्याँकिदियो । त्यो घटना मलाई अझै याद छ । डाक्टर भएपछि सामाजिक सञ्जाल र विभिन्न संघसंस्थाले मलाई बधाई दिनुभयो, सम्मान गर्नुभयो । तर, म आफू जन्मेकै वडा, नगरपालिका वा विद्यालयबाट मैले कुनै स्याबासी पाइनँ । यसले हाम्रो समाजमा जातपातको भेदभाव अझै पनि जरा गाडेको छ भन्ने वुझिन्छ । म डाक्टर त बनेँ, तर समाजको तिरस्कार अझै हटेन ।
म समाजलाई भन्न चाहन्छु कि समावेशिता दया होइन, न्याय हो । जब एउटा तथाकथित निम्न समुदायकी छोरी डाक्टर बन्छे भने त्यसले केवल उसको परिवारलाई मात्र नभएर पूरै राष्ट्रको आत्मालाई चलाउँछे । मेरो यो उपलब्धिलाई एउटा सुरुवातको रूपमा लिन्छु । म मेरो ज्ञान र सीपलाई केवल आफ्ना लागि होइन, मेरो समुदायको सेवा, शिक्षाको प्रवाह र आशाको उज्यालो फैलाउने काममा लगाउन चाहन्छु ।
तपाईं पनि सपना देख्नुहोस्, संघर्ष गर्नुहोस र हार नमान्नुहोस् । आज कलम उठाउनुभयो भने भोलि तपाईंले देशको नेतृत्व गर्न सक्नुहुन्छ । म चमार समुदायकी एक सामान्य गरिबकी छोरी डाक्टर बन्न सकँे । मलाई विश्वास गर्ने, साथ दिने र हौसला दिने सबैलाई धन्यवाद । जो अझै हामीमाथि शंका गर्छन् उनीहरूलाई भन्न चाहन्छु– हामीलाई हेरिरहनुहोस् । हामी उठ्दै छौँ ।
अन्त्यमा मेरो जीवन यात्रा उनीहरूमा समर्पण गर्छु कि जसले हरेक छोरीलाई आँट गरेर सपना देखाउँछन्, जुन परिवारले सन्तानका लागि सबै त्याग गर्छन् । र, त्यो समुदायलाई समर्पण गर्छु जुन समुदाय अझै पनि पहिलो डाक्टरको प्रतीक्षा गरिरहेको छ । मेरो सफलता तिनीहरूको प्रेरणा हो । मेरो आवाज तिनीहरूको आशा हो ।
(डा. हरिजनले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सद्वारा आयोजित कार्यक्रममा दिएको कि–नोट स्पिचको सम्पादित अंश ।)