
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मन्त्रालयका सचिवहरूबिच कार्यसम्पादन सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबिच छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता भएको हो ।
अर्थ मन्त्रालयमा शुक्रबार नै सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ । हालै मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट सरुवा गरी अर्थ मन्त्रालय पुगेका सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारीमा ल्याइएको छ । त्यस्तै, उनीसँगै सरुवा भएर अर्थ आएका सहसचिव टंकप्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
सहसचिव श्यामप्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशक र महेश भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । सहसचिव टंकनाथ लम्साललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख बनाइएको छ । भरतमणि पाण्डेलाई भन्सार विभागमा उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।