मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
Invalid date format o८:२o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नयाँ सिजनको इंग्लिस प्रिमियर लिग सुरु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२o:oo

साबिक विजेता लिभरपुल र बर्नमाउथबिचको खेलसँगै विश्व फुटबलकै रोमाञ्चक र कठिन मानिने इंग्लिस प्रिमियर लिग (इपिएल)को नयाँ सिजन २०२५/२६ को सुरु भएको छ । इपिएलको विशेषता भनेकै अन्तिम चरणसम्म पनि शीर्ष स्थानमा रहने क्लब आनन्दले बस्न सक्दैन । कुनै पनि समयमा नाटकीय मोड लिन सक्छ । आर्सनल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीले कतिपय सिजनमा अन्तिम खेलमा प्रिमियर लिगको उपाधि जितेको थियो । इपिएलमा स्पष्ट अग्रता लिँदा पनि अन्तिम समयमा गुमाउने गरेका धेरै उदाहरण छन् । 

प्रिमियर लिगको एउटा रोमाञ्चक पक्ष भनेको कुनै पनि समयमा बलियो क्लब कमजोरसँग पराजित हुन्छ । कमजोर टोलीले नसोचेको प्रदर्शन गर्दै समर्थकलाई स्तब्ध बनाउँछ । प्रिमियर लिगको सबैभन्दा अर्को मज्जाको पक्ष नै यहाँ प्रत्येक सिजनमा निस्किने अपत्यारिलो र अप्रत्याशित नतिजाले चर्चा पाउने गर्छ । समर्थकले पनि यसपटक प्रिमियर लिगमा यस्तै अनुभव गर्ने अनुमान लगाएका छन् ।

लामो समयदेखि उपाधि जित्न नसकेको आर्सनल तथा म्यानचेस्टर युनाइटेडले नयाँ सिजनका लागि खेलाडी अनुबन्ध गर्न राम्रो रकम खर्चिए । गत सिजनमा अन्तिम समयमा चुक्दा आर्सनल उपाधिविहीन भएको थियो । एक दशकभन्दा लामो समयदेखि प्रिमियर लिगको उपाधि जित्न नसकेको युनाइटेडले पनि राम्रो तयारी गरेको छ ।

लगातार चारपटक उपाधि जितेको म्यानचेस्टर सिटी भने गत वर्ष खराब प्रदर्शनको सिकार भयो । लिगको मध्यतिर एकाएक खराब फर्मबाट गुज्रिएको सिटीले नौ खेलमा स्पष्ट तीन अंक बटुल्न सकेन । जसका कारण सिटीले उपाधि रक्षा गर्न सकेन । प्रशिक्षक पेप ग्वार्डिओलाले पनि नयाँ सिजनमा फरक रूपमा प्रस्तुत हुने बताएका छन् । ‘हामीले गत सिजनमा उत्कृष्ट खेल्न सकेनौँ, तर यसपटक समर्थकलाई निराश नबनाउने योजनाका साथ हामी आउँदै छौँ,’ पेपले भने, ‘केही युवा खेलाडी आएका छन् । सिनियर खेलाडीलाई उनीहरूले साथ दिने विश्वास छ ।’ 

सिजनमा ३८० खेल
इंग्लिस प्रिमियर लिग संसारकै पुरानोमध्ये एक हो । इंग्ल्यान्डको घरेलु लिगको इतिहास एक सय २७ वर्ष पुरानो हो । तर, इंग्लिस प्रिमियर लिगको संस्करण ३४औँ हो । सन् १९९२ देखि घरेलु लिगलाई ‘इंग्लिस प्रिमियर लिग’ नाम दिइएको हो । नयाँ सिजनमा अर्को वर्ष सन् २०२६ को २४ मेसम्म चल्नेछ । ३३ सातासम्म चल्ने प्रिमियर लिगमा कुल तीन सय ८० खेल हुनेछ । २० मध्ये तीन टोली बढुवा भएका हुन् । गत सिजनमा लिड्स युनाइटेड, बर्नली र सन्डरल्यान्ड ‘बी’ डिभिजनबाट बढुवा भएका थिए । यसैगरी, खराब प्रदर्शन गरेका लेस्टर सिटी, इप्सविच टाउन र साउथएम्पटन रेलिगेसनमा परेका थिए । एक दशकअगाडि लेस्टर सिटी अपराजित रहँदै ऐतिहासिक रूपमा पहिलोपटक प्रिमियर लिग च्याम्पियन बनेको थियो । प्रिमियर लिगको इतिहासमा पहिलोपटक ‘बी’ डिभिजनबाट एकैपटक तीनवटा क्लब शीर्ष डिभिजनमा उक्लेका हुन् । साथसाथै इतिहासमै तेस्रोपटक शीर्ष डिभिजनका तीनवटा क्लब ‘बी’ डिभिजनमा झरे ।

क्यामरासहित रेफ्री मैदानमा
दर्शकले इंग्लिस प्रिमियर लिगमा यसपटक केही प्रयोग भएको देख्न पाउनेछन् । लिगमा पहिलोपटक रेफ्रीहरूले क्यामराको सहयोग पाउनेछन् । उनीहरू क्यामरासहित मैदानमा उत्रनेछन् । लिगमा पहिलोपटक पूरै अवधि सेमिअटोमेटेड अफसाइड प्रविधि प्रयोग हुनेछ । गत वर्ष यो प्रविधि सिजनको अन्त्यतिर भएको थियो । साथसाथै लिग खेलाउने आधिकारिक म्याच बलमा पनि परिवर्तन गरिएको छ । यसपटक प्रिमियर लिगमा पुमा कम्पनीको बल हुनेछ । गत सिजनमा नाइकको बल प्रयोग भएको थियो । लिग आयोजकले नाइकसँगको २५ वर्ष लामो साझेदारी तोडेको हो ।

एभर्टनको नयाँ रंगशाला
सन् २०२५/२६ को सिजनमा एभर्टनले नयाँ रंगशाला प्रयोग गर्नेछ । एभर्टन पहिलोपटक आफ्नो नयाँ रंगशालामा प्रतिस्पर्धा गर्न लागेको हो । उसको नयाँ रंगशालाको क्षमता ५३ हजार दर्शक अट्ने रहेको छ । म्यानचेस्टर युनाइटेडको ओल्ड ट्राफोर्ड धेरै दर्शक अट्ने रंगशाला हो । यहाँ ७४ हजार एक सय ९७ दर्शकले एकैपटक खेल हेर्न सक्छन् । टोटह्यामको रंंगशालाको क्षमता ६२ हजार आठ सय ५० दर्शकको रहेको छ । वेस्टहाम युनाइटेडको रंगशालामा ६२ हजार पाँच सय दर्शकले खेल हेर्न सक्छन् । प्रिमियर लिगमा सबैभन्दा कम दर्शक क्षमताको रंगशाला बर्नमाउथको हो । बर्नमाउथस्थित डिनकोर्ट स्टेडियम ११ हजार तीन सय सात दर्शक क्षमताको रहेको छ ।