
एन्फा राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगिता शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा लुम्बिनीले लम्की फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले हराएको छ । लुम्बिनीको जितमा करुणा परियारले एक मात्र गोल गरेकी थिइन् । सात टोली रहेको समूह ‘बी’मा लुम्बिनीले तीन अंक बटुल्यो ।
खेलको ६३औँ मिनेटमा करुणाले लम्कीका डिफेन्डरको गल्तीमा निर्णायक गोल गरेकी हुन् । करुणाले डिबक्सको आठ यार्डबाट हेडिङ गोल गरेकी हुन् । खेलमा थप गोल हुन नसक्दा करुणाकै गोलको सहयोगमा लुम्बिनीले आफ्नो पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो । यसअघि समूह ‘बी’मा संकटाले पहिलो खेलमा रौतहटको नेपाल खेलकुद क्लबमाथि १–० को जित निकालेको थियो । समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले सीधै महिला लिगमा स्थान बनाउनेछन् । यसैगरी, तेस्रो हुने टोलीले प्लेअफमार्फत राष्ट्रिय लिगमा स्थान बनाउन सक्छ ।
समूह ‘बी’मा लुम्बिनी, न्युरोड टिम (एनआरटी), एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की र नेपाल खेलकुद क्लब छन् । अर्को समूह ‘ए’को खेलमा आरएस रिसोर्ट एन्ड बिचले राप्ती एफसीमाथि १–० को साँघुरो जित निकाल्यो । आरएस रिसोर्टको जितमा ईशा चौधरीले एक मात्र गोल गरेकी थिइन् । यसै समूहमा छहारी युवा क्लबले तीन अंक बटुलेको छ ।
१० खेलाडीमा राप्ती
समूह ‘ए’मा चर्च ब्वाइज युनाइटेड, छहारी, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच र एफसी रिएले छन् । आरएस रिसोर्ट एन्डविरुद्ध राप्ती खेलको ३८औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । समीक्षा पौडेलले दोहोरो पहेँलो कार्ड व्यहोरेपछि राप्तीले १० खेलाडीमा रही बाँकी समय प्रतिस्पर्धा गर्यो ।
यद्यपि, आरएस रिसोर्टले फाइदा लिन सकेन । राप्तीले आरएस रिसोर्टलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्यो । खेलको ५१औँ मिनेटमा ईशा चौधरीले आरएस रिसोर्टलाई १–० को अग्रता दिलाइन् । उनले उषा शाहीको पासमा गोल गरेकी हुन् ।