मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
Invalid date format २२:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईमा उत्कृष्ट अंक ल्याउने ८६ विद्यार्थीलाई ललितपुर महानगरको सम्मानसहित पुरस्कार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:oo:oo

ललितपुर महानगरले ०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको छ । 
महानगरले २२ वटा संस्थागतका ७८ जना र ६ वटा सामुदायिक विद्यालय आठजना गरी ८६ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

सामुदायिक विद्यालयतर्फ ३.९५ भन्दा माथि ल्याउने र संस्थागततर्फ ४ जिपिए ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरेको हो । महानगरले शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी सामुदायिक र संस्थागत विद्यार्थीका विद्यार्थीलाई जनही दुई लाख हस्तान्तरण गरेको हो । यसैगरी, सामुदायिक विद्यालय प्रत्येकलाई चार लाख दिएको छ ।

संस्थागततर्फ धापाखेलको जेम्स स्कुलका १६ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । सामुदायिकतर्फ बुङमतीको आदर्श सौल युवक माध्यमिक विद्यालयका तीनजना विद्यार्थीमध्ये एकजनाले ४ जिपिए र दुईजनाले ९.९६ जिपिए ल्याएका छन् । ललितपुर महानगरपालिकामा शैक्षिक सत्र ०८१ को एसइई परीक्षामा ९१.५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ भने ८१.०५ प्रतिशत र संस्थागततर्फ ९४.९० प्रतिशत उत्तीर्ण भएका छन् । 

महानगर प्रमुख चिरिबाबु महर्जनले एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र संस्थाका कारण महानगर शिक्षाको हब भएको पुष्टि गरेको बताए । उनले भने, ‘यो विद्यार्थी र विद्यालयलाई प्रेरणा र हौसला हो।’ कोरोनाका कारण विद्यालयको खस्किएको शैक्षिक गुणस्तर उकास्न गरेको निर्णय विद्यार्थी र विद्यालयका लागि हौसला बनेको प्रस्ट पारे । महर्जनले महानगरले गरेका असल अभ्यासमध्ये यो पुरस्कार र सम्मान एक भएको बताउँदै मोफसलका पालिकाहरूले पनि यो अभ्यासलाई अनुशरण गरेको बताए । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पुरस्कृत विद्यालय र विद्यार्थीलाई बधाई दिँदै जीवनका अझै ठुल्ठुला परीक्षा पास गर्न तयार रहन सुझाव दिइन् । प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले विद्यार्थी, विद्यालय र अभिभावकको मिहिनेतका कारण सफलता प्राप्त भएकाे बताइन् । सफल विद्यार्थीलाई शुभकामना दिँदै जीवनमा आइपर्न सक्ने सबै खालका चुनौतीसँग लड्न सक्ने क्षमता विकास गर्नु अहिलेको आवश्यकता भएको बताइन् । 

महानगरका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जनले शैक्षिक गुणस्तर सुधारका लागि कोरोनालगत्तै महानगरले  सुरु गरेको सम्मान र पुरस्कारले विद्यार्थी र विद्यालयलाई प्रेरित गरेको बताए । उक्त सम्मान र प्रेरणालाई पुष्टि गर्ने आधारमध्ये एक विद्यार्थीले एसइईमा प्राप्त गरेको जिपिए भएको प्रस्ट पारे । 

जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुयाँलले महानगरले संस्कृति संरक्षण, हरियाली प्रवर्द्धनसँगसँगै शिक्षा क्षेत्रमा गरेको यो असल अभ्यास भएको बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विद्यार्थीलाई थप उपलब्धिका लागि शुभकामना दिँदै सकारात्मक सोचसहित जिम्मेवार र इमानदार बन्न अनुरोध गरे । कार्यक्रममा पुरस्कृत विद्यार्थी र अभिभावकले मन्तव्य राखेका थिए ।