
बिपी राजमार्गमा भदौ १५ सम्म राति सवारी सञ्चालनमा रोक लगाइएको छ । साउन महिनाभर रातको समयमा सवारी सञ्चालन रोक लगाइएकामा भदौ १ गतेदेखि १५ गतेसम्म समय थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले शुक्रबार सार्वजनिक गरेको सूचनामा राजमार्गमा भदौ १५ गतेसम्म रातिको समयमा राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । जिल्ला सुरक्षा समिति शुक्रबारको जिल्ला सुरक्षा बैठकले भदौ १ गतेदेखि १५ सम्म साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको बताइएको छ । यसअघि असार ६ मा बसेको बैठकले ७ गतेदेखि राजमार्गमा राति सवारी सञ्चालन गर्न नपाउने निर्णय गरेको थियो ।