
काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७९औँ स्वतन्त्रता दिवस मनाएको छ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा शुक्रबार काठमाडौंस्थित राजदूतावास परिसरमा भारतीय स्वतन्त्रता दिवस मनाइएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झन्डा झन्डाेत्तोलन गरेका थए । त्यसपछि कार्यक्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरिएको थियो । आफ्नो सम्बोधनमा राष्ट्रपति मुर्मूले विगत ७८ वर्षमा भारतले गरेको प्रगतिबारे चर्चा गरेकी छिन् ।
भारतीय राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलमा कार्यरत रहेर ज्यान गुमाएका नेपालीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गरेका थिए । उनीहरूका लागि ६ करोड ४० लाख रुपैयाँको एजिआइएफ आर्मी ग्रुप इन्स्योरेन्स फन्ड चेक पनि राजदूत श्रीवास्तवले हस्तान्तरण गरे ।
दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको घोषणा गरेको छ । कार्यक्रममा नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरूका साथै दूतावासका अधिकारीहरू र उनीहरूका परिवारहरू सहभागी थिए । दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीले सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरेका थिए ।