
बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको भागमा बाँकी रहेका पाँच मन्त्री नियुक्त गर्न सक्ने सम्भावना बढेको छ ।
हाल बागमती सरकारमा मुख्यमन्त्री बानियाँसहित कांग्रेसका तीन र एमालेका ६ जना मन्त्री रहेका छन् । कांग्रेस–एमालेबिचको राजनीतिक सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित आठ र एमालेले ६ मन्त्रालयको नेतृत्व गर्ने भागबन्डा तय भएको थियो । एमालेको तर्फबाट ६ जना मन्त्री बनिसकेको भए पनि कांग्रेसको भागमा रहेको पाँच मन्त्रालय अझै रिक्त छन् ।
स्रोतका अनुसार बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । यी सबैलाई आज शुक्रबार नै हेटौँडा बोलाइएको बताइएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार मन्त्रिपरिषद् विस्तारबारे औपचारिक नाम भने अझै प्राप्त नभए पनि आजै नियुक्ति र शपथग्रहण समारोह हुने सम्भावना रहेको छ ।