
उदयपुरमा किसानको मागअनुसार रासायनिक मलमा युरिया, डिएपी र पोटास नआउँदा अभाव हुनेको गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेट शाखा उदयपुरको तथ्यांकअनुसार मागअनुसारको रासायनिक मल नआउँदा बर्सेनि अभाव हुने गरेको हो । कार्यालयका प्रमुख नरेशकुमार महतोले जिल्लाको मागअनुसार मल नआउँदा अभाव हुने गरेको बताए। उनले भने, ‘उदयपुरमा वार्षिक रूपमा युरिया, डिएपी, पोटास झन्डै पाँच हजार मेट्रिकटन आवश्यक पर्छ । तर, त्यसको ठिक आधा मात्र आउँछ । अनि किसानमा हाहाकार हुन्छ।’
चालू आर्थिक वर्ष ०८२/८३ का लागि युरिया तीन हजार मेट्रिक टन, डिएपी एक हजार पाँच सय मेट्रिक टन, पोटास ५० मेट्रिक टन र कृषि चुन २१ टन गरी चार हजार ७१ मेट्रिक टन माग गरिएको छ । तर, हालसम्म एक सय मेट्रिक टन डिएपी मात्र आइपुगेको छ । उनले भने, ‘किसानलाई आवश्यकताअनुसार सिजनमा उपलब्ध गराउन सकिरहेका छैनौँ । अघिल्लो वर्ष समय सकिएपछि आएको केही मल अहिले पालिकाहरूलाई धेरै–थोरै दिइरहेका छौँ, युरिया छैन।’
उनले अघिल्लो आर्थिक वर्षकै मौज्दात रहेको मल कार्यालयले बिक्री गरिरहेको बताए। उनले भने, ‘आउनुपर्ने स्थानबाट समयमै आउने हो भने पाँच हजार मेट्रिक टन उदयपुरमा बिक्री हुन्छ ।’ हाल कार्यालयसँग पोटास ४.५५ मेट्रिक टन, डिएपी १०.२५ मेट्रिक टन मात्र छ।’
कृषि सामग्री कम्पनी लिमिटेड शाखा उदयपुरको तथ्यंकअनुसार गएको आर्थिक वर्ष ०८१/८२ मा तीनै प्रकारका युरिया, डिएपी पोटास गरी चार हजार ५५० मेट्रिक टन मल माग गरिएकोमा तीन हजार ८५२ मेट्रिक टन मात्र अएको थियो। महतोले भने, ‘जसमा तीन हजार मेट्रिक टन युरिया माग गरिएको थियो । त्यसमा दुई हजार २७३ मेट्रिक टन मात्र आयो । डिएपी एक हजार ६ सय मेट्रक टन र पोटास ८४ मेट्रिक टन आयो। अनि बेमौसममा आएकाले मौज्दात बसेको थियो । धेर–थोर अहिले त्यही बिक्री गरेका थियौँ । त्यसमा अहिले युरिया अभाव छ।’
आर्थिक वर्ष ०८०/८१ मा तीनै प्रकारका मल चार हजार पाँच सय मेट्रिक टन माग गरिए पनि दुई हजार ३११ मेट्रिक टन मात्र प्राप्त भएको प्रमुख महतोको भनाइ छ । उनी थप्छन्, ‘अहिले पनि किसान युरियाको खोजीमा हुनुहुन्छ । आएको छैन ।’
उदयपुरमा कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कर्यालय विराटनगरबाट आउने गरेको छ। त्यो पनि कोशी प्रदेश सरकारको उद्योग तथा कृषि सहकारी मन्त्रालयबाटै पालिकाको भागबन्डाका लागि सूची आउने र त्यहीअनुसार सहकारीबाट बिक्री–वितरण हुने गरेको कार्यालय प्रमुख महतोको भनाइ छ। उनी भन्छन, ‘हामीलाई जुन पालिकालाई जति दिनु भनेको छ। त्यहीअनुसार दिने गरेका छौँ ।’ जसको कारण मलको अभाव भएका पालिकाका किसानले नपाउने र अभाव नभएका पालिकामा जाने गरेको बताइन्छ।
रासायनिक मल विक्री–वितरणका लागि जिल्लाका आठ स्थानीय तहका ६८ वटा कृषि सहकारीमार्फत किसानको हातमा रासायनिक मल पुग्ने गरेको छ । जिल्लामा कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार २६ हजार २४१ हेक्टर क्षेत्रमा खेती हुने गरेको छ। अहिले युरियाको अभाव भइरहेको आठवटै पालिकाका किसानहरूको भनाइ छ ।