
अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबिच कार्यगत एकता भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष राई र राष्ट्रिय मुक्तिका अध्यक्ष महतोले कार्यगत एकताको घोषणा गरे । घोषणामा दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् ।
घोषणासभामा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताका साथै आचारसंहिता पनि जारी गरिएको छ । केन्द्रीय तहमा संयोजन समिति रहनेछ । जसमा दुवै पार्टीका अध्यक्षसहित सात–सातजना सदस्य रहनेछन् । समितिमा कम्तीमा दुईजना महिला अनिवार्य हुने सहमति छ ।
केन्द्रका साथै प्रदेश र स्थानीय तहमा पनि संयोजक समिति रहनेछ । प्रदेशमा पाँच–पाँच सदस्यीय र स्थानीय तहमा तीन–तीन सदस्यीय संयोजन समिति गठन हुनेछ । बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति छ ।
नेताहरूले पार्टी एकताको पूर्वतयारीका रूपमा अथ्र्याएका छन् । महतोले देशमा एकल नश्लीय प्रवृत्तिका कारण अहिलेको व्यवस्था सबै नागरिकको बन्न नसकेको दाबी गरे ।