
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्रीको आफ्नै मानकले पनि उनमा नैतिकता जगाउन नसकेको टिप्पणी गरेकी छिन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएको प्रसंग उल्लेख गर्दै भनिन्, ‘नैतिकता जागेर रामहरि खतिवडाले राजीनामा दिनुभयो। तर, माननीय गृहमन्त्रीज्यूको नैतिकता जगाउन उहाँकै आफ्नै मानकले पनि सकेन।’
मानव तस्करीमा मात्र नभई न्यायालयमा समेत गृहमन्त्रीको हस्तक्षेप रहेको पूर्वन्यायाधीश सुशीला कार्कीको अभिव्यक्तिबाट पुष्टि हुने उनको जिकिर छ। रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको जिकिर गर्दै उनले भनिन्, ‘उजुरीको कपी उहाँकै सचिवालयबाट जुन दिन पेसी चढेको छ, उही दिन न्यायपरिषदमा यसरी योजनाबद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ सभामुख महोदय ? कानुन जान्ने व्यक्तिले यसरी कदम चाल्दा समाजमा के सन्देश जान्छ ?’
साथै डा. कार्कीले प्रधानमन्त्री केपी ओलीको बुधबारको भाषण सुनेर जनता दिग्भ्रमित भएको आरोप लगाएकी छिन्। प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर व्यक्तिगत तहमा उत्रिएर कुण्ठाको पोको खोलेको उल्लेख गर्दै उनले भनिन्, ‘हिजो प्रधानमन्त्रीज्यूको भाषण सुनेर जनता दिग्भ्रमित छन्। उहाँले नै भन्नुभएको हो– हामीले अदालतमा आफ्नै पार्टीका न्यायाधीश बनाउँछौँ र निर्णय वफादारीमा हुन्छ। आज त्यही प्रधानमन्त्रीले अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नुहुन्छ।’