मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
Invalid date format १७:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीपीडित दम्पतीका लागि घर निर्माण गर्न सात लाख ७५ हजार सहयोग संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलाका आगलागीपीडित वृद्धावस्थाका तामाङ दम्पतीका लागि घर निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराइएको छ । यही साउन–१८ गते बेलुका अगेनाबाट सल्किएको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएर बिचल्लीमा परेका ७० वर्षीय जितबहादुर र ७१ वर्षीया सुकुमाया स्याङ्तान तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न रु सात लाख ७५ हजार  ५७७ आर्थिक सहयोग उपलब्ध गराइएको हो।

वर्षातको पानीले भिजेको डोको अगेनामा सुकाउने क्रममा डोकोबाट सल्किएको आगोले तामाङ दम्पतीको फुसको छाना भएको दुईतले घर तथा घरमा भएका सामग्री पूर्णरूपमा जलेर नष्ट हुँदा रु. १३ लाख ५० हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ। घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि बिचल्लीमा परेका तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न साउन–१९ गते बसेको स्थानीयवासीको भेलाले नुनथलाका निर्वाचित वडासदस्य तारादेवी तामाङको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो। 

आर्थिक सहयोग संकलन समितिको संयोजनमा स्थानीयवासीबाट संकलन भएको रु. दुई लाख २८ हजार ८३५, नुनथलाका स्थानीयवासी एवं सामाजिक अभियान्ता सुन्दर तामाङको बैंक खातामा जम्मा भएको रु. पाँच लाख ४१ हजार ७४२ तथा पत्रकार सूर्य तामाङले प्रदान गरेको रु. पाँच हजार सहयोग रकम आज (बुधबार) आगलागीपीडित तामाङ दम्पतीलाई हस्तान्तरण गरिएको छ । अभियानमा संकलित रकम नुनथलाका वडाध्यक्ष भगेश्वर राई र सामाजिक अभियन्ता तामाङले आगलागीपीडित तामाङ दम्पतीको घरैमा लगेर संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।   

आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा आर्थिक संकलन अभियानमा सहभागी दाताहरूको नामावलीसमेत सार्वजनिक गरिएको थियो । आर्थिक संकलन अभियानमा नुनथलामा जन्मिएर रोजगारी तथा अध्ययनको सिलसिलामा विभिन्न देशमा रहेकाहरूले सबैभन्दा बढी सहयोग उपलब्ध गराएको जनाइएको छ ।  

आगलागीपीडित तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न अझै पनि सहयोग रकम जम्मा हुनेक्रम जारी रहेको सामाजिक अभियन्ता तामाङले बताएका छन् । 'साउन–२७ गते दिउँसोसम्म जम्मा भएको रकम झिकेर हस्तान्तरण गरेका छौँ । बेलुका पनि रु. १८ हजार ८०० जम्मा भएको छ । त्यो कसले पठाउनुभएको हो खुलेको छैन,' उनले भने, 'देश-विदेशमा रहनुभएका शुभेच्छुक तथा आफन्तले स्वतःस्फूर्त सहयोग रकम उपलब्ध गराउनेक्रम जारी छ । उहाँहरूले देखाउनुभएको सदाशयताले वृद्धावस्थाका आगलागीपीति तामाङ दम्पतीको नयाँ घर निर्माण हुने निश्चित भएको छ।'

आगालागीपीडित तामाङ दम्पतीका लागि घर निर्माण गर्न सुरु गरिएको आर्थिक सहयोग संकलन अभियान जारी राख्ने वडास्तरीय आर्थिक सहयोग संकलन समितिको संयोजक एवं वडासदस्य तामाङले जानकारी दिएकी छिन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिवोल आचार्यले समेत रु. पाँच हजार रकम प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।  

आगलागीपीडित तामाङ दम्पतीका लागि नुनथलास्थित किरात राई रिङालुङ्छा र राखमीहँछा परिवारले समेत छुट्टाछुट्टै सहयोग रकम संकलन गरेर उपलब्ध गराएको स्थानीयवासी एवं जालपा माध्यमिक विद्यालय नुनथलाका शिक्षक धनकुमार तामाङले जानकारी दिए। संकलित रकम तामाङ दम्पतीको नाममा खाता खोलेर जम्मा गरी हिउँद लाग्नासाथ नयाँ घर निर्माणको काम सुरु गरिने स्थानीयले बताएका छन् ।

आगलागीपीडित तामाङ दम्पतीका लागि वडा कार्यालय नुनथलाको तर्फबाट तत्कालका लागि खान र बस्ने व्यवस्थापन मिलाउन राहत सामग्री उपलब्ध गराइएको वडाध्यक्ष राईले जानकारी दिएका छन् । एक छोरा र चार छोरीको बुबाआमा जितबहादुर र सुकुमाया आफूहरू बस्दै आएको मूलघर आगलागीमा परेर पूर्ण रूपमा ध्वस्त भएपछि छोराबुहारीको घरमा आश्रय लिएर बस्दै आएका छन्।