मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २७ मंगलबार १८:५६:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १८:५६:oo

क्यानडाको टोरन्टोमा १७औँ हिमालयन मेला भव्य र उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ। कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साथै, प्रिमियर डग फोर्ड, टोरन्टोकी मेयर ओलिभिया चौ र सांसद सोनिया सिधुले बधाई सन्देशमार्फत नेपाली समुदायप्रति शुभकामना व्यक्त गरे। यस अवसरमा नेपालिज क्यानडियन कम्युनिटी सर्भिसेस (एनसिसिएस)ले आफ्नो २५ औँ वार्षिकोत्सव पनि मनाएको थियो।

मेलामा एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटा, ग्लोबल एनआरएनका सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, ओन्टारियो प्रान्तीय सांसद डोली बेगम, टोरन्टो सिटी काउन्सिलर पार्थी कन्देवललगायतका सम्माननीय अतिथिहरूको उपस्थिति थियो।

कार्यक्रमको औपचारिक उद्घाटन एनसिसिएसकी अध्यक्ष बिना बर्माले स्वागत मन्तव्यसहित गरिन्। विशेष अतिथि कलाकारहरू हरि कर्माचार्य, अञ्जना गुरुङ र कनैयासिंह परियारले आफ्नो मनमोहक सांगीतिक प्रस्तुतिमार्फत माहोललाई झन् रंगीन बनाएका थिए।

कार्यक्रममा १७ वटा सांस्कृतिक प्रस्तुतिहरू र ३ वटा ब्यान्डहरूको बेजोड प्रस्तुति रहेको थियो। साथै, १५ भन्दा बढी संघ–संस्थाहरूले सांस्कृतिक पोसाकमा सहभागी भई सामुदायिक परेडमा भाग लिँदै विविधतापूर्ण सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए।

एनसिसिएसका महासचिव सुदर्शन सापकोटाले समुदायमा देखाएको समर्पण, नेतृत्व र प्रेरणादायी योगदानको सम्मानस्वरूप प्रतिष्ठित पहिलो ‘प्रेसिडेन्ट अवार्ड’ प्राप्त गरे। हिमालयन मेलालाई केवल सांस्कृतिक उत्सवको रूपमा मात्र नभई, क्यानडाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको साझा पहिचानलाई मजबुत बनाउने महत्त्वपूर्ण अवसरको रूपमा पनि लिइएको छ। 

मेलाको सफलता निरन्तरता कायम राख्न एनसिसिएसले आगामी वर्षहरूमा अझ प्रभावकारी योजना, सहयोगी समन्वय र व्यापक समुदाय सहभागितामा जोड दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको औपचारिक सञ्चालन महासचिव सुदर्शन सापकोटा र स्वीकृति घिमिरेले गरेका थिए भने सांस्कृतिक प्रस्तुतिको सञ्चालन विधान कार्की, सृष्टि श्रेष्ठ अमात्य, यारिका कार्की र देवेन्द्र अधिकारीले एमसीका रूपमा गरेका थिए।