मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Wednesday, 13 August, 2025
२o८२ श्रावण २७ मंगलबार १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार

नुहाउने क्रममा बलान नदीमा बेपत्ता बालक मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १८:४९:oo

सिराहा र सप्तरीको सीमा बलान नदीमा नुहाउने क्रममा सोमबार बिहान करिब ९ बजेदेखि बेपत्ता भएका १४ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। 

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–३, परिहारपुरका शिवकुमार यादवका छोरा घनश्याम यादव मंगलबार बिहान करिब साढे ११ बजेतिर बाढीको पानीमा तैरिरहेको अवस्थामा भेटिएका हुन्।

बलान पुलको दक्षिणपट्टि भेटिएका यादवको शव तत्काल भगवानपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएर पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान ल्याइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शवको पोस्टमार्टम गरी दाहसंस्कारका लागि सम्बन्धित परिवारलाई बुझाइएको छ। 

फुपुकी छोरा संजीवसँग गाउँनजिकै पर्ने बलान नदीमा नुहाउन गएका यादव खोलामा डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ हेडक्वार्टर सिराहा, इलाका प्रहरी कार्यालय लहान, प्रहरी चौकी भगवानपुरबाट खटिएका सुरक्षाकर्मीले दिनभर खोजी गर्दासमेत फेला परेका थिएनन्।

पुलको दक्षिणपट्टि करिब १५ फिट जति गहिरो खाल्डोमा बाढीको भुमरीसमेत रहेकाले त्यहीं डुबेको आशंका गरी बालकको खोजीका लागि मंगलबार बिहान महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २  छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली आएको थियो। टोलीले खोजीको तयारी गर्दागर्दै दक्षिणतर्फ डुबेका बालक मृत भेटिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।