
पर्साको ठोरी गाउँपालिका– २ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा ठोरी गाउँपालिका– २ ढेँडुखोलाका आठ वर्षीय अंश कठायत र भार वर्षीय आयांश कठायत रहेका छन्।
मंगलबार बिहान १० बजेको आसपासमा खोलामा नुहाउने क्रममा अचानक डुबेर उनीहरूको मृत्यु भएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। उनका अनुसार ढेँडुखोलामा नुहाउने क्रममा दुई बालक अचानक डुबेर पानीमाथि तैरिरहेको अवस्थामा स्थानीयले उद्धार गरेर स्वास्थ्यचौकी लगेका थिए।
तर, स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दा दुवै बालकको मृत्यु भएको जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक लम्सालले बताए। मृतकहरूको शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको उनले बताए।