
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउनुपर्ने बताए ।
युगीन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम रहेको भन्दै उनले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गरे ।
राष्ट्रपति पौडेलले भने, ‘अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा छ । युगीन जिम्मेवारी पूरा गर्न तपाईंहरूको सक्षम हुनुहुन्छ । उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो ।’
उनले विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्र विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको बताए ।
युवाको विदेश पलायन रोकेर उनीहरूलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशीलता विस्तार एवं प्रवर्द्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको उनले बताए ।
राष्ट्रपति पौडेलले प्रविधिबाट अभ्यस्त नेपाल युवालाई स्वदेशमै अवसर दिन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण र नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताए ।