Skip This
चिहान उत्खनन गरी प्रहरीले ल्याएकाे दिदीभाइको शव परिवार सम्पर्कमा नआउँदा परीक्षण हुन सकेन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
२o८२ श्रावण २६ सोमबार २२:२१:oo
Read Time : > 1 मिनेट
समाचार

चिहान उत्खनन गरी प्रहरीले ल्याएकाे दिदीभाइको शव परिवार सम्पर्कमा नआउँदा परीक्षण हुन सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार २२:२१:oo

परिवारका सदस्य सम्पर्कमा नआउँदा चिहान (समाधिस्थल) उत्खनन गरे प्रहरीले जिल्ला अस्पताल खोटाङ ल्याएको दुई दिदीभाइको शब परीक्षण हुन सकेको छैन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ खोरम्बुस्थित सापातेलका दिदीभाइको शव अस्पतालमा थन्किएको हो । 

सापातेलका गोविन्द बस्नेतको ११ वर्षीया छोरी मेनिषा बस्नेत र ६ वर्षीय छोरा मेगराज बस्नेतको शव प्रहरीले चिहान उत्खनन् गरेर परीक्षणका लागि आइतबार राति जिल्ला अस्पताल खोटाङ ल्याएको थियो । 

गत बिहीबार राति करिब आठ बजेतिर बालबालिका बुबा गोविन्द बस्नेतले जंगलमा मृत फेला पारेका बालबालिकाको भोलिपल्ट शुक्रबार छोरम्बुस्थित सापातेल लगेर दाह संस्कार गरेका थिए । लडेर बालबालिकाको मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरी दाहसंस्कार गरिएको गाउँलेले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएका बालबालिकाको शव परिवारका सदस्यसहित दाजुभाइ तथा गाउँले मिलेर अन्त्येष्टि गरेको भोलिपल्ट प्रहरीले घटनाका बारेमा स्थानीयबाटै जानकारी पाएको थियो । 

घटनाको बारे जानकारी पाएलगत्तै शनिबार राति सापातेल पुगेका प्रहरी टोलीले आइतबार दिउँसो चिहान उत्खनन् गरेर शव नियन्त्रणमा लिएको थियो । हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको चिहान उत्खनन् गर्न जनप्रतिनिधि तथा स्थानीयले सहमति नदिएपछि प्रहरी आफैले उत्खनन् गरेर नियन्त्रणमा लिएको हो । 

कानुनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गरिएको शव चिहानबाट उत्खनन् गरेर परीक्षण गर्न ल्याइए पनि परिवारका सदस्य सम्पर्कमा नआउँदा समस्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताएका छन् । ‘दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव अनिवार्य परीक्षण गरी कानूनी प्रक्रिया पूरा गरेर मात्रै दाहसंस्कार गर्नुपर्ने प्रावधान छ । सापातेलमा भएको घटनामा गाउँले मिलेर शव अन्त्येष्टि गरिसकेका रहेछन्,’ उनले भने, ‘प्रहरीमा जानकारी आएपछि चिहान उत्खनन् गरेर परीक्षणका लागि अस्पताल ल्याएका छौँ । घटनाको विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा परिवारका सदस्यको असहयोग भयो । जनप्रतिनिधि र परिवारका सदस्यको असहयोगपछि प्रहरी आफंैले चिहान उत्खनन गरेर शव परीक्षणका लागि अस्पताल ल्याएका हौँ ।’

कानूनी प्रक्रिया पूरा नगरी अन्त्येष्टि गर्ने तथा पूरा गर्न असहयोग गर्ने व्यक्तिहरुविरुद्ध मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाउने प्रहरीले जनाएको छ । मुद्दाको प्रकृति र क–कसलाई प्रतिवादी बनाएर चलाउने भन्नेमा भने प्रहरीले खुलाएको छैन । 

सापातेलका गोविन्द बस्नेत श्रीमतीले अर्कैसँग विवाह गरेर हिँडेपछि दुई छोरी र एक छोरासहित बस्दै आएका थिए । 

चिहान उत्खनन् गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ लगिएको बालबालिकाको शव बुझ्न तथा कानूनी प्रक्रिया पूरा गर्न भोलि मंगलबार मृतकका आफन्त पठाउने तयारी गरिएको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । पूर्ववडाध्यक्ष बस्नेतका अनुसार मृतक बालबालिकाको बुबा गोविन्द किरियापुत्रीको रुपमा बसेकाले आफन्त पठाउने तयारी गरिएको हो ।