मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्यायो ‘गुनासो व्यवस्थापन केन्द्र’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ। 

मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्ने इकाइको रूपमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो। 

सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको जानकारी दिइन् । 

उनले भनिन्, ‘नागरिकका गुनासा सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइयो । यसबाट नागरिकको भरोसा बढ्नेछ ।’

गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरू व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाइको रूपमा कार्य गर्नेछ। गुनासो व्यवस्थापन गर्न उपसचिवको नेतृत्वमा कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ। 

केन्द्रले गुनासाहरूको संकलन, वर्गीकरण र सम्बोधन गर्नेछ। केन्द्रमा रहने कर्मचारीहरूले सेवाग्राहीबाट प्राप्त गुनासा अध्ययन र वर्गीकरण गर्नेछन् । 

कुनै निर्धारित विधि र प्रक्रिया पूरा गर्नुनपर्ने सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए गुनासो सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । 

केन्द्रमा रहने कर्मचारीहरूले तत्कालै सम्बोधन गर्न नसक्ने प्रकारको गुनासा भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव हुने गुनासा शाखा प्रमुखबाट तत्कालै सम्बोधन हुनेछ। 

शाखा प्रमुखले तत्काल सम्बोधन गर्न नसक्ने गुनासा सम्बन्धित महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने र सम्बन्धित महाशाखा प्रमुखबाट सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा महाशाखा प्रमुखले आवश्यकताअनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका सचिवसँग समन्वय गरी सात दिनभित्र सम्बोधन हुनेछ । 

नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासाहरू सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा छलफल गरी निर्णय भएबमोजिम मन्त्रीस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था मिलाइएको छ।

गुनासो व्यवस्थापन केन्द्रमा गुनासो सहजकर्ताहरू उपसचिव भूपेन्द्र सापकोटाको संयोजकत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुली रहेको मन्त्रालयले जानकारी दिएको छ।